झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पुनः राजेन्द्रप्रसाद लिङ्देन मनोनित हुनुभएको छ । उहाँ पार्टी भित्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुनुहुन्छ । विर्तामोड निवासी लिङ्देनले झापा क्षेत्रनम्वर – ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजीत गर्दै सांसद बन्नुभएको हो ।
त्यस्तै पार्टीको सह–महामन्त्रीमा भक्तिप्रसाद सिटौलालाई मनोनयन गरिएको छ । बिर्तामोड निवासी सिटौला नेपाली कांग्रेस परित्याग गर्दै राप्रपामा जानुभएको थियो ।
राप्रपाको आज बसेको वैठकले पार्टीको विधान अनुसार उहाँहरुलाई जिम्वेवारी दिएको हो । यो संगै अध्यक्ष कमल थापाले बुद्धिमान तामाङ र राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गर्नुभएको छ । पार्टीको विधान अनुसार पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा मनोनित अध्यक्ष थापाले गर्नुभएको हो ।
उपाध्यक्षमा थापाले प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गर्नुभएको छ ।
त्यस्तै महामन्त्रीमा झापाका लिङ्देन र धवलशम्शेर जबरा थप लाई मनोनयन गर्नुभएको छ । जवरा नेपालगञ्जका मेयर हुनुहुन्छ ।
प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले थप मनोनित हुनुभएको छ । सह–महामन्त्रीमा झापाका सिटौला सहित चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, अर्जुन राई र भरत रायमाझी मनोनयनमा पर्नुभएको छ । त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरी केन्द्रीय सदस्यमा मनोनयन गर्नुभयो ।
सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की मनोनित हुनुभएको छ । सहायक प्रवक्तामा रमानन्द न्यौपाने मनोनित भएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया