बिर्तामोड, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ प्रदान गरिने भएको छ ।
महासंघको ६४ औं स्थापना दिवसको अवसरमा उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको हो । चैत १६ गते आफ्नो स्थापना दिवसको अवसर पारेर संस्थापक महासचिव भण्डारी सहित २० जनालाई ‘प्रेस स्वतन्त्रता सेनानी’ प्रदान गर्न लागेको नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । भण्डारी मेची अञ्चलकै पहिलो विद्युतीय सञ्चार माध्यम (एफएम रेडियो) कञ्चनजंघा एफएमका प्रवन्ध निर्दिेशक हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ आगामी चैत १६ गतेस्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसलाई महासंघले विविध कार्यक्रमसहित चैत्र १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने भएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघले महासंघका पूर्व पदाधिकारीहरुलाई सम्मान गर्ने भएको हो । जसअन्तर्गत यस पटक नेपाल पत्रकार महासंघ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही महासंघमा विशिष्ट योगदान पु¥याउनु हुने पूर्वपदाधिकारीहरुलाई सम्मान गरिदैछ ।
गत वर्ष स्थापना दिवस कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने पूर्वपदाधिकारीहरुमा संस्थापक महासचिव भण्डारी सहित राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), कर्णदेव भट्ट उपसभापति, इश्वरचन्द्र गौतम उपसभापति, हेमन्त कर्माचार्य उपसभापति, तेजबहादुर भण्डारी उपसभापति, यज्ञ शर्मा उपसभापति, गोपाल बढाथोकी उपसभापति, उमिद बागचन्द उपसभापति, सञ्जय सन्तोषी राई उपसभापति, कृष्णप्रसाद बस्याल राकेश उपसभापति, डीआर पन्त उपसभापति, गंगाधर पराजुली उपसभापति, पोषण केसी महासचिव, यशोदा तिम्सिना उपाध्यक्ष, ओम शर्मा महासचिव, खिलबहादुर भण्डारी उपाध्यक्ष, अनिता बिन्दू उपाध्यक्ष र उजिर मगर महासचिव हुनुहुन्छ ।
सम्मानित सबैलाई यही चैत्र १६ गते मध्यान्ह १२ः०० बजे नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सम्मान गरिने सचिव दाहालले बताउनुभयो ।
महासंघले स्थापना दिवसको अवसरमा चैत्र १३ र १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा १५ गते मध्यान्ह १२ः०० बजे जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया