खुदुनावारी, झापाको अर्जुनधारामा लगाइएको नदीजन्य सामग्रीको ठेक्का संकलन प्रक्रियालाई अगाडि बढाउन कुनै अवरोध कतैबाट नगर्ने र मापदण्ड बमोजिम तोकिएको स्थानबाट उत्खनन गर्ने सहमति भएको छ ।
अर्जुनधारा नगरपालिका वडा–१ स्थित हलुवागढ सामुदायिक वनको सभाकक्षमा आइतबार बसेको सर्वपक्षीय छलफलपछि नगरपालिकाले आगामी दिनमा डिपिआर गर्ने र त्यस स्थानमा चेक ड्याम बाँध्ने कार्य प्रारम्भ गर्ने सहमति गरेको नगर प्रमुख हरि कुमार रानाले बताउनुभयो । । अर्जुनधारा नगरपालिकाले गरेको कामलाई गाउँपालिकाले समेत सहयोग गर्ने बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुुजेलले जानकारी दिनुभयो ।
असोजमै विरिङमा लगाएको अर्जुनधारा नगरपालिकाले नदीको अति संम्वेदनशील र जोखिम स्थानको पहिचान गरी प्लमवाल(जनताका तटबन्धन स्तरीय) बाँध निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको प्रमुख रानाले जानकारी दिनुभयो ।
सहमतिमा नदी क्षेत्रमा खानेपानीको मुहान तथा सिंचाईको मुहानहरुको संरक्षण तथा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खोला किनारका आश्रित मजदुरहरुले उत्खनन गर्नेका लागि सूचिकरण यथार्तपरक हुनेगरी पहिचान सहित त्यसका लागि नगरपालिकाले मापदण्ड बनाउने सहमति भएको छ । त्यस्तै, खोलामा आश्रित मजदुरुहरुले यथास्थानमा कार्य गर्न अवरोध नगर्ने सर्वपक्षीय छलफलको निर्णय रहेको छ ।
विरिङ नदीबाट नदीजन्य सामाग्री संकलन गर्न तोकिएको स्थानहरुबाट ठेक्का बन्दोबस्त भएको स्थानमा स्थानीयबाट निरन्तर अवरोध भएको र स्थानीयले माग ज्ञापन पत्र सम्बोधन गर्ने गरी नगरपालिकाले प्रक्रिया अगाडि बढाइरहेको भएपनि अवरोध कायमै रहको थियो । तोकिएको स्थानमा स्थानीयहरु र सरोकारवालासँग नदीजन्य सामाग्री संकलन गर्ने र बन्द गर्ने विषयमा निष्कर्षमा पुग्न सुझाव आइतबार लिएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताउनुभयो ।
अर्जुनधाराको विरिङ, टाङटिङ सहित अन्य नदीमा २ करोड ६१ लाख रुपैयाँमा ठेक्का लागेको थियो । नदीजन्य सामग्री उठाउन नपाएपछि ठेकेदार समूहले ठेक्का रकम फिर्ता गरिदिन पटक पटक आग्रह गर्दै आएको थिए ।
छलफलमा नगरपालिका उप–प्रमुख कमला खतिवडा, नेपाली काग्रेसका नगर सभापति हेमराज खरेल, अर्जुनधारा ३ का अध्यक्ष जीवन कुमार भण्डारी, नयन अधिकारी, राम बहादुर निरौला, नेकपा वडा सचिव विजेन्द्र एक्तेन, सन्त तामाङ, खेम चापागाई, नेपाली कांग्रेसका वडा प्रतिनिधि उपेन्द्र बस्नेत, मिलन श्रेष्ठ, विष्णु नेपाल, धरणी सुवेदी, ठेकेदारका तर्फबाट विजय सेन्दाङ, पवन खनाल लगायतले बोल्नुभएको थियो ।

















