बिर्तामोड, आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा के हुन सक्ला ? यस्तै विपत्तिको सामना गर्दै छिन बिर्तामोड– २ निवासी ५५ वर्षीया धामो रावजंशी ।
दुई दशक अघि श्रीमान खगेन्द्र राजवंशीले पनि साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको तालु सुम्सुम्याएर चित्त वुझाउँदै आएकी थिइन् धामोले । सहारा दिने बेलामा छोरीलाई पनि चार वर्षअघि कालले निलेपछि अहिले उनको यो संसारमा छर छिमेक वाहेक कोही छैन । जन्मिएको दुई दिनमै ठूलो छोरा खस्नु, अस्पतालमा जन्मिएको कान्छो छोरालाई पनि घर ल्याउन नपाई अस्पताल मै गुमाउनु धामोका लागि एकै पटक ठूलो वज्रपात पर्यो जीवनमा । 
तीन सन्तानकी आमा बनेकी धामो श्रीमान र छोरीको साथमा रहेकी थिइन् । तर, ‘हुने हार दैव नटार’ भनेझैं सगै मर्ने सगै बाच्ने कसम खाएका श्रीमानले पनि साथ छाडेपछि छोरीको भरमा मुस्किलले गुजारा चलेकै थियो । तर, छोरीलाई पनि गुमाएपछि अहिले धामो सानो झुपडीमा एक्लै छिन् ।
श्रीमान र दुई छोराको वियोगसंगै रोएरै आफ्ना आँखाको नानी गुमाएको भन्दै धामोले भक्कानिदै भनिन्– ‘रुँदा–रुँदा अहिले त आँशुपनि सकियो,रुँदा पनि अहिले आँशु आउँदैन ।’
राम्ररी मुख देख्न नपाउँदै दुबै छोरा गुमाउनु, छोरी डेढ वर्षकी हुँदा श्रीमान गुमाउनु र श्रीमानसंगै धामोले आँखाको ज्योति पनि गुमाउनु यस्तो विपत्ति उनले कसरी व्यहोरी रहेकी छिन् जान्ने सुन्ने सबै चकित छन् । छोरी थिइन् दुई जीउकी भएर खसिन् छिमेकी लक्ष्मी ढकाल भन्छिन्–‘ साइडमा काम गरेर भएपनि दृष्टि विहीन आमाको रेखदेख गर्दै थिइन् तर, चार वर्षअघि नै उनको मृत्यु भयो ।’
छोरीको मृत्यु पछि अहिले धामोलाई हामीले नै रेखदेख गर्दै आएका छौं ढकालले थपिन्–‘यस्तो अवस्थामा आँखा देख्नेलाई त अन्धकार हुन्छ तर,आमैको जीवनमा कस्तो भएको होला कल्पनासम्म गर्न सकिँदैन ।’
भारतीय नागरिकसंग धामोको छोरी सुमित्राले प्रेम विवाह गरेकी थिइन् । ज्वाई पनि यही बस्थे धामोले भनिन् –‘मोरो छट्टु परेछ, कलकलाउँदी छोरीलाई कान्छी बनाएकाले यही बसेको रहेछ । छोरी दुई जीउकी हुनासाथ विदेश जाने भन्दै भाग्यो ।’
चार वर्षअघि सुमित्राले समयमै उपचार नपाएर सुत्केरी व्यथाले ज्यान गुमाएकी थिइन् । सुत्केरी व्यथा लाग्नसाथ सुमित्रालाई दमकस्थित एक अस्पतालमा पु¥याएपनि आर्थिक अभावका कारण उनले ज्यान गुमाएको बताइएको छ । छर छिमेकीले चन्दा संकलन गरेर सुमित्रालाई अस्पताल पु¥याएपनि समयमा उपचार नपाउदउँदा छोरीलाई बचाउन सकिएन धामोले हिक्क हिक्क गर्दै भनिन्– ‘भगवानले पनि मलाई किन यसरी तड्पाएका होलान् ।’
तीन धुर जमिनमा सानो झुप्रो । न खा
ने अन्न छ , न त ओढ्ने ओच्छ्उने लत्ता कपडा नै । शरीरमा लगाएको एक सरो लुगा धामोको सारा सृष्टि नै त्यत्ति हो । फुसको झुप्रो, छानो छाएको प्लाईका खपडा पोच्चिएर आकास देखिन थालेपछि छिमेकीले नै त्रिपाल टाँगी दिएका छन् । टाटीले वारेको धामोको घर एक सरो हावाले नै भत्किने जोखिम पनि उत्तिक छ । धामोको जीवन रक्षाका लागि त्यत्तिकै चिन्तित छन् छिमेकी पनि । धामोको रेखदेखमा रहेकी ढकाल भन्छिन्–‘ रात विरात जानिदैन, कुन वेला के हुन्छ । हार गुहार गर्दै भरिसक्के घर टालटुल गरेका छौं तर पनि डर लागिरहन्छ ।’
सहाराकी कर्मचारी लीला सिवाकोटी उनको घर पुग्दा धामो एक्लै पिढीमा परालको पिरा ओच्छ्याएर बसिरहेकी थिइन् । छेउमै थिए दुई सुकिला र दुई थोत्रा मुढा । हामी पुगेको थाहा पाउनासाथ उनले भनिन् नानी मुढा तानेर बस्नुहोु है, म वुढी आँखा पनि देख्तिन । साच्चै कारुणीक दृष्य थियो त्यो । घरको अवस्था त्यस्तै, उस्तै रहेछ उनको दैनिकी पनि ।
दुवै आँखाका नानी गुमाएर पनि एक्लै बस्नुपर्ने वाध्यात्मक परिस्थितिमा उनी कोही मनकारी दाताले ल्याइदिएको अन्नले प्राण धान्नुपर्ने धामोको वाध्यता । प्राण धान्नकै लागि घिस्रिएर खाना बनाउँछु धामोले भनिन् –‘छिमेकीले चामल, तेल, आलू ल्याएदिन्छन् त्यसैलाई पकाएर खान्छु वावु ।’
साविक चकचकी ५ सुवास गाउँ निवासी धर्मलाल र मेमवती राजवंशीकी जेठी छोरी हुन् उनी । उनका दुई वहिनी छन् । तर , कहाँ छन् कस्तो अवस्थामा छन् उनलाई अत्तोपत्तो छैन । अन्तरजातीय विवाह गरेपछि वहिनीपनि टाढिएका छौं धामोले भनिन्– ‘सुनेकी माइली वहिनी काठमाडौंमा छ र कान्छी चाँही जनकपुरमा छ रे ।’
राजगढ ८ कोनावारी निवासी खगेन्द्र राजवंशीसंग २० वर्षको उमेरमा मागी विवाह भएको उनले सुनाइन् । राजगढमै दुई सन्तान गुमाएपछि त्यो ठाउँ छाडेको उनको भनाई छ । केही समय माइत बसे आमा वुवा गुमाएपछि बिर्तामोड आएर वसेका हौं । यहाँ आएपनि छोरीलाई गुमाउनु नै प¥यो धामोले भनिन् –‘बर्मा गयो कर्मसंगै, नेपाल गयो कपालसंगै भन्ने सुनेकी थिए हो रहेछ वावु । म वुढीलाई त्यस्तै भएको छ ।’
छोरीले साइडमा काम गरेर १५ हजारमा किनेको ३ धुर जग्गा, त्यो पनि श्रेष्ता छैन म वुढीलाई के काम वावु अव त्यो जग्गाको ओत लाग्ने घर भए हुन्थ्यो धामोले आफ्नो अन्तिम इच्छा सुनाउँदै भनिन्–‘ कतै भनसुन लाग्छ भने म वुढीलाई विहान वेलुकाको हात मुख जोड्न सहयोग गरिदिन भन्दिनुहोस है धर्म हुन्छ ।’
यता सहारा नेपालकी सुरक्षित आवास कार्यक्रमको कार्यक्रम संयोजक शिवाकोटीले भनिन् –‘हाम्रो अफिसको कार्यक्रम व्यवस्थापक पुष्पाञ्जलि सिन्हाको पहलमा धामोको घर निर्माणको तयारी गरेका छौं । हामीसंग पनि अहिले पैसा छैन कोही मनकारी दताभए हामीलाई सम्पर्क गर्नसक्नु हुन्छ ।

















