संसारमा सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाका रुपमा लिइन्छ कि त रेडक्रसलाई कि त लायन्सलाई । जहाँ अफ्ठ्यारो छ त्यहाँ लायन्स क्लव पुगेकै हुन्छ । लायन्स क्लब अफ इन्टरनेशनल विश्वका २०५ भन्दा बढी मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो ।
सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । यसले विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँ जातीय, धार्मिक, लैंगिक जस्ता विषयमा कुरा हुँदैनन् । यहाँ त केवल सामाजिक सेवाको मात्र कुरा हुने गर्छ । विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका सदस्यहरु १४ लाख बढी छन ।
नेपालमा मात्र २५ हजार भन्दा बढी सदस्यहरु लायन्समा आवद्ध छन् । जसमध्ये लायन्स क्लव अफ बिर्तामोड पनि एक हो । जहाँ आवद्ध भएर धेरैले मानवीय सहयोगका काम गरेका छन् । खासगरी लायन्सलाई स्वास्थ्य क्षेत्रमा पनि आँखामा लाग्ने रोग मोतीविन्दुको उपचार गर्ने संस्था भनेर पनि चिनिन्छ । नेपामा पनि लायन्सले हजारौं व्यक्तिको मोतीविन्दूको शल्यक्रिया गर्न सफल भइसकेको छ ।
लायन्समा आवद्ध हुँदै सेवामा सर्मपित हुने मानिसको भीडमा गौरीशंकर गुप्ताको पनि नाम जोडिन्छ । झापा बिर्तामोडका गौरीशंकर पेशाले औषधि व्यवसायी हुन् । तर, उनले मानवीय सेवाको क्षेत्रमा पु¥याएको योगदान उच्च छ । लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष समेत रहनुभएका गुप्ता नेपाल औषधि व्यवसायी संघ मेचीको कार्यसमिति सदस्य समेत हुनुहुन्छ । विभिन्न सामाजिक संघ संस्थामा रहेरपनि उहाँले लायन्सको नेतृत्व गरिरहनुभएको छ । आफू अध्यक्ष रहँदै अत्याधुनिक उपकरण जोडिएको एम्वुलेन्स खरिद गर्ने उहाँमा लक्ष्य छ । त्यस्तै शववहान खरिद गर्दै समुदायलाई हस्तान्तरण गर्ने अठोटका साथ उहाँ अहिले लायन्समा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहनुभएको छ ।
निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत अध्ययनमा सहज होस भन्दै उहाँ लगायत उहाँको सिङ्गो टिम अहिले शैक्षिक सामग्री जुटाउन र वाढ्न लागि परेको छ । उनीहरुका लागि विद्यालय पोशाक, व्याग र स्टेशनरी सामग्री समेत जुटाएर बितरण गरिरहेको छ । उहाँ भन्नुहुन्छ – ‘म मात्रै होइन सामाजिक सेवा भावमा लायन्स क्लव डिस्ट्रिक ३२५का सवै मेम्वर सक्रिय छौं ।’
शारीरिक अशक्तता भएकाहरुलाई पनि ह्वीलचेयर वितरण,मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य क्याम्प,अस्पतालमा रहेका विरामी र अशक्तलाई फलफूल र औषधि वितरण लगायतका काममा पनि लायन्सले काम गर्दै आएको गुप्ता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘पर्यावरण जोगाउन अहिले हामी लागेका छौं,लायन्स क्लवको सहकार्यमा हामीले वृक्षारोपण कार्यक्रमलाई पनि अघि बढाएका छौं ।’
झापामा समय समयमा हुने रगत अभावलाई टार्न लायन्सले पनि विभिन्न सयमयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । विभिन्न ठाउँमा आयोजना हुने स्वास्थ्य शिविरमा पनि रक्तदानका कार्यक्रम सञ्चालन गर्दै नेपाल रेडक्रस सोसाइटीलाई सहयोग पु¥याउँदै आएको गुप्ताले बताउनुभयो । नेपाल रेडक्रश सोसाइटीको व्लड वैंकमा रगत अभाव भए वाटसअपकोे माध्ययमबाटै रगत जुटाउने कार्यमा गुप्ताको भूमिका सह्रानीय छ । उहाँले रगतदान गर्ने दातालाई वाटसअपमा जोड्दै आवश्यक परेको समयमा रगत दानका लागि आवाहान गर्दै रगतको जोहो गर्नुहुन्छ । यदि कसैले रगत दान गर्न चाहे सामाजिक संजाल वाटसअपमा जोड्दै आवश्यक परेको खण्डमा सहयोगका लागि आग्रह गर्ने बानीले गुप्ताको लोकप्रियता बिर्तामोडमा दिनानुदिन बढिरहेको छ । विशेषगरी महिलाको पाठेघरको क्यानसर र क्यान्सरका कारण महिलाले अकालमा ज्यान गुमाउनु नपरोस भन्दै अहिले गुप्ताकै पहलमा बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर जाँच्न शिविर नै सञ्चालन गरिएको छ । नेपाल परिवार नियोजन संघ संग सहकार्य गर्दै गुप्ताले अहिले क्यान्सर जाँच्न शिविरसञ्चालन गरिरहनुभएको छ । लामो समय लियो क्लवमा रहेर २०६४ सालदेखि लायन्समा आवद्ध हुनुहुन्छ । मारवाडी समुदायको हक हितका लागि विभिन्न काममा सरिक गुप्तालाई प्राय सवैले ‘टिङ्कु’ भन्न रुचाउँछन् । 
गुप्ताले सन २०१३ ÷ २०१४ मा डिस्ट्रिक गर्भनर भीम घिमिरेबाट ‘उत्कृष्ट सचिव अवार्ड’ समेत हात पार्नुभएको छ । बिर्तामोडमा हुने अधिकांश कार्यक्रम उहाँ स्वास्थ्य संयोजकका रुपमा देखा पर्नु हुन्छ । मारवाडी युवा मञ्च,मारवाडी सेवा समिति, अग्रसेन भवन, बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, एमिटी एजुकेशन फाउण्डेशनको शिक्षक अभिभावक संघ सदस्य , अनारमनी स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समिति सदस्य लगायतका संस्थामा पनि उहाँको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ ।
सानै उमेरदेखि स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले आफ्नै वुवावाट औषधि व्यवसायको अनुभव बटुल्नुभयो । २०५६ सालबाट आफैंले व्यवसाय सम्हाल्नुभएका गुप्ताको नाम र सामाजिक काम सहरमा मात्र होइन ग्रामीण परिवेसमा पनि उत्तिकै छाएको छ ।

















