झापा, पूर्व क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकल सहित ३५ लाख रुपैयाँको सहयोग प्रदना गरिने भएको छ ।
सडक दुर्घटना न्यूनीकरण महाअभियान झापाले ट्राफिक प्रहरीलाई १०– १० थान, मोटरसाइकल, व्रेथ लाइजर र ह्वील लक सहित सातसय चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियान संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । आज दिउँसो बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै समुदाय–प्रहरी साझेदारी अन्र्तगत सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत प्रदेश ट्राफिक प्रहरीलाई सो सामग्री प्रदान गर्न लागिएको संयोजक गिरीले बताउनुभयो । उहाँका अनुसार सो सामग्री बिर्तामोडमा एक समारोहका बीच फागुन ३० गते ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिदैँछ ।
सडक दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने अभियान १ नम्वर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन गरिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश गौतमले जानकारी दिनुभयो । ३० गते झापामा उद्घाटन भएको दुर्घटना न्यूनीकरण महाअभियान १५ दिनसम्म सञ्चालन हुन्छ प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो –‘ अभियानको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापाबाट गर्ने र समापन सुनसरीको धरानबाट हुन्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईको संयोजनमा मंसीर ४ गते दुर्घटना न्यूनीकरण महा अभियान सञ्चालन भएको थियो । अभियानको उद्घाटन १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गर्नुभएको थियो । बिर्तामोडका दुई दर्जन वढी संघ संस्थाको सहकार्यमा भएको अभियानबाट २० लाख रुपैयाँ संकलन भएको अभियानका संयोजक गिरीले बताउनुभयो ।
अभियान उद्घाटन समारोहमा नेपत्थ्य व्याण्डको सांगितीक प्रस्तुति देखाइएको थियो ।
अढाइ करोडको लागतमा ट्राफिक भवन बन्दै
दुई करोड ५५ लाख रुपैंयाको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण हुने भएको छ ।
बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि भवन निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।
भवनको शिलान्यास प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फागुन ३० गते गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भवन भूकम्प प्रतिरोधात्मक तीन तले रहने प्रहरी निरीक्षक राईले बताउनुभयो । उहाँका अनुसार फागुन ३० गते हुने सडक दुर्घटना न्यूनीकरण महाअभियानका लागि सामग्री हस्तान्तरणसंगै डिजिटल प्रविधि (थ्रडी सिष्टम) बाट भवनको शिलन्यास महानिरीक्षक खनालले गर्ने कार्यक्रम रहेको ट्राफिक प्रहरी प्रमुख राईले बताउनुभयो ।

















