विर्तामोड, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि विर्तामोडमा सुझाव संकलन गरिएको छ ।
प्रदेश नम्बर–१ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी गठित कार्यदलको आयोजनामा झापाका साहित्य, कला, संस्कृति लगायतका क्षेत्रमा क्रियाशिल अग्रज तथा युवाहरुको सहभागितामा सुझाव संकलन गरिएको हो । 
कार्यदलका संयोजक प्राध्यापक डाक्टर टंकमणि न्यौपानेको अध्यक्षता तथा भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सुझाव संकलन कार्यक्रममा विभिन्न ४ वटा समुह बनाई छलफल गरिएको थियो ।
सहभागिहरुले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि अब बन्ने कानूनमा समेट्नु पर्ने विषय वस्तु, प्रदेशका भाषा, कला र साहित्य सम्बन्धीको उन्नयनका लागि अपनाउनु पर्ने नीति, ऐनमा समेट्नुपर्ने विषयबस्तु, संस्थाको नाम, सदस्य संख्या चयनको प्रक्रिया, संस्कृति तथा सांस्कृतिक सम्पदाको सर्भेक्षण र प्राथमिकता, मानक भाषाको पहिचान, स्रष्टा सम्मानको मापदण्ड, लोपोन्मुख भाषा तथा संस्कृति संवद्र्धनका लागि खेल्नुपर्ने भूमिका लगायतका विषयमा सुझाव पेश गरेका थिए ।
पेश गरिएका सुझाव प्रतिवेदनका रुपमा समेटेर प्रदेश सरकारलाई बुझाउने कार्यदल संयोजक न्यौपानेले प्रतिवद्धता जनाउनु भयो ।
यसअघि प्रमुख अतिथि रेग्मीले क्षेत्रवादले मुलुकलाई सखाप पारेको उल्लेख गर्दै प्रज्ञा प्रतिष्ठानमा पनि क्षेत्रवाद लागू नगर्न सुझाव दिनुभयो ।
पूण्यप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्र भण्डारीले गर्नुभएको थियो ।

















