भद्रपुर । भद्रपुरमा एक व्यक्तिको घाँटी रेटेर हत्या गरिएको छ । हत्या गरिएको ती व्यक्तिको शव शुक्रवार दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हत्या गरिएको व्यक्ति नाम वीरबहादुर राजवंशी भएको खुलेको छ । ६५ बर्षीय राजवंशी भद्रपुर ८ स्थित डाँगीबारी निवासी हुन् । उनी सामान्य मजदुरी अर्थात (फुल बगैंचामा) मालीको काम गर्दै आइरहेका थिए ।
मानसिक सन्तुलनमा समेत समस्या देखापरेकाले राजंवशी चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्दै आइरहेको प्रहरी अनुसंन्धानबाट खुलेको छ । सामान्य मजदुर भएका व्यत्तिको हत्या कसले र किन गर्यो भन्ने घटना रहस्य बनेको छ ।
‘स्थानीयले वनभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि प्रहरी घटनास्थल पुग्दा उनको शव घोप्टो परेको अवस्था देखे ।,
“शवको प्रकृति हेर्दा घाँटीमा चोट थियो, घाँटी कसैले रेटेर हत्या गरेको हुनुपर्छ, उनको हत्या अन्यत्र भएको र मायालु वनमा ल्याएर फालेको हुनुपर्छ”, उनले भने । मृतक राजवंशीको पारिवारीक स्रोतका अनुसार दुई महिनाअघि भद्रपुर ८ स्थित जनता चोक नजिकै सुरेशकुमार मित्तलको घरमा मालीको काम गर्दै आइरहेका थिए । राजवंशी दुईमहिना अघि मित्तलको काम छाडिसकेको जनाइएको छ । त्यसपछि राजवंशी भद्रपुरका अन्य केही उद्योगीको घरमा पनि मालीको काम गरे, स्रोतको दावी छ । यता प्रहरीले राजवंशीको हत्याको घटनालाई मनषा सिमेन्ट उद्योगमा भएको हत्यासंग जोडेर अनुसंन्धान थालेको प्रहरीले स्रोतको दावी छ । मनषा सिमेन्टका म्यानेजर भारतीय नागरिक ६२ बर्षीय कमलसिंह दुगडको डेढ महिना अघि उद्योगको क्वाटरमा हात खुट्टा बाँधिएर हत्या गरिएको थियो ।

















