झापा ,जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र थ्री स्टार फुटबल क्लब आमनेसामने हुँदैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।

दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने झापाका लागि विशाल राई ए र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् । तीन विदेशी खेलाडीसहित मैदान उत्र्ने झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहनेछ । त्यस्तै थ्री स्टार क्लब पनि राष्ट्रिय टोलीका खेलाडीहरुका साथ मैदान उत्र्ने तयारीमा छ ।
ए डिभिजन लिगका खेलाडीहरु समेत रहेका यी दुई टोलीबीचको खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । तीन विभागीय टोलीसहित १० टिमको सहभागीता रहेको जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् । फाइनल खेल आगामी सोमबार हुनेछ ।

















