बिर्तामोड, भालेकप खेल्दा खेल्दै सन २००२ मा राष्ट्रिय टिममा ‘डेब्यू’ गरेकी झापा मेचीनगर–१० धुलावारीकी अस्मिता खवास फुटवलको महिला प्रशिक्षक पनि हुन् ।
१३ वर्षकै उमेरदेखि राष्ट्रिय टिममा सहभागी भएर सन् २०१४सम्म निरन्तर फुटवल खेलेकी उनी अहिले महिला फुटवल प्रशिक्षकका रुपमा काम गरिरहेकी छिन् । ज्यामिरगढी माविमा अध्ययन गर्दागर्दै फुटवल खेल्न शुरु गरेकी अस्मिताले फुटवल खेलकै माध्यमबाट नेपाललाई विश्वसामु चिनाइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई मात्र चिनाइनन् आफ्नो छवि समेत उच्च बनाएकी छन् ।

सन २००२मा नर्वेमा भएको नर्वेकपदेखि सन २००४मा चीनमा भएको एशियन गेम, सन् २०१० मा वंगलादेशमा भएको सागसहित विभिन्न देशमा गएर उनले फुटवल खेलेकी छिन् । अन्तर्राष्ट्रिय स्तरका खेल साग र साफ च्याम्पियनसिपमा भाग लिएकी उनी अहिले अण्डर १९ लागि महिला खेलाडी तयार गर्दैछिन् । भुटानमा भएको अण्डर १८ मा पनि महिला प्रशिक्षकका रुपमा उनले खेलाडी तयार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
खेलको माध्यमबाट भारतलाई पराजित गर्ने उनमा ठूलो धोको थियो । उनको त्यो धोको गत वर्षमात्र पूरा भयो । भारतलाई हराउने सन् २०१०देखि कै सपना थियो– उनी भन्छिन्– गत वर्ष त्यो सपना पूरा भयो, हामीले हिरो कप जितेका छौं ।’
१४ डिसेम्बर सन २०१२ मा उनी राष्ट्रिय महिला फुटवल टिमको गोलकिपर थिइन् । त्यही बेला उनी दुर्घटनामा परिन् । जसका कारण फुटवल खेल्न उनलाई केही अप्ठ्यारो भए पनि उनले फुटवल खेल्न भने छाडिनन् । अन्ततः उनले आफूलाई नेपालको एक सफल महिला फुटवल खेलाडीका रुपमा उभ्याएरै छाडिन् ।
कक्षा ६मा अध्ययन गर्दागर्दै फुटवल खेलसँग मोहनी लागाएकी उनले अध्ययनलाई भने संगै अगाडि लान सकिनन् । हिमालय मावि धुलावारीबाट प्लस टु सकेकी उनले पढाइलाई भन्दा खेललाई नै रोजिन् । जसका कारण खवास एएफसीको ‘लाइसेन्स’ प्राप्त प्रशिक्षक, एन्फा झापाको महिला प्रशिक्षक र एन्फा केन्द्रीय प्रशिक्षक संघको सदस्य समेत भइन् ।
अस्मिताले महिला फुटवल खेलाडी उत्पादन गर्न भन्दै २०७० सालमा आफ्नै ठाउँमा सनसाइन महिला फुटबल क्लब नै स्थापना गरिन् । फुटबलका दक्ष महिला खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले ज्यामिरगढीमा स्थापना गरिएको क्लबको उनी संस्थापक अध्यक्ष रहेकी छिन् ।
तत्कालीन ज्यामिरगढी–७मा गजेन्द्रबहादुर खवास र शोभा खवासकी कान्छी छोरी उनी नेपाली महिला फुटबल टिमकी पूर्वगोलरक्षक हुँदै अहिले प्रशिक्षकका रुपमा आफूलाई स्थापित भएकी छिन् । दाजु र आमाले फुटबल खेल्न सहयोग पु¥याएको बताउने अस्मिता २००२ देखि २०१० सम्म लगातार राष्ट्रिय टिममा परिन् ।
नेपालको खेल क्षेत्र त्यसमा पनि महिला फुटवल सुधार्न आफू लागीपरेको बताउने अस्मिता फुटवलको पर्याय नै भएकी छिन् । त्यसमाथि पनि झापाली महिला फुटवलको उनी चम्किलो तारा भएको खेलकुद क्षेत्रका अगुवाहरु बताउँछन् ।
झापामा चौथो मगमग गोल्डकप प्रतियोगिता भइरहँदा खेल क्षेत्रको विकासका लागि भएको उत्कृष्ट कार्यको उनले खुलेर प्रशंसा गरिन् । उनले डोमालाल राजवंशी खेलमैदान नेपालका कुनै पनि खेल मैदानसँग तुलना गर्न नमिल्ने बताउँदै उत्कृष्ट व्यवस्थापनका साथ तयार पारिएको रंगशाला र झापा गोल्डकप देशकै गहना भएको प्रतिक्रिया दिइन् । झापामा निरन्तर रुपमा गोल्डकप प्रतियोगिताको आयोजना गरिनुले सारा नेपालीलाई जोड्ने पुलको काम गरेको उनको भनाइ छ ।

















