भद्रपुर , भारतीय सीमावर्ती नाकासंग जोडिएको भद्रपुर नगर क्षेत्रमा फेरि चोरको बिगबिगी बढ्न थालेको छ । वडा प्रहरी कार्यालयले नगर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन प्रयासरत हुदाँहुदै चोरीका घटना नरोकिपछि प्रहरीलाई चुनौति थपिएको छ । भद्रपुरमा बजार क्षेत्रमा आइतबार एकै रातमा विभिन्न स्थानमा साइकल र मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ । चोरी घटना संलग्न समूहले एकैरात दुई वटा मोटरसाइकल र चार वटा साइकल विभिन्न घर, आगनबाट चोरी गरेपछि प्रहरीलाई चुनौती थपिएको हो ।
चोरले भद्रपुर ५ र ६ का विभिन्न घरमा चोरी गरेको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । चोरी भएको दुई वटा मोटरसाइकलको बारेमा प्रहरीमा उजुरी परेसँगै प्रहरीले चौबीसे घण्टा बित्न नपाउँदै दुवै मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित धनिलाई बुझाइसकेको छ । प्रहरीका अनुसार भद्रपुर ५ बसपार्क नजिकैबाट जाकिर हुसेनको मे ५ प १६४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको थियो । त्यस्तै भद्रपुर ५ स्थित बैजुप्रसाद साहको मे १ प ७७९७ नम्बरको मोटरसाइकल पनि घरबाटै चोरी भएको प्रहरीले जनाएको छ । हुसेनको मोटरसाइकल बसपार्क दक्षिण ठन्डाबस्तीको झाँरीमा र साहको मोटरसाइकल भद्रपुर ४ स्थित डाँगीबारी नजिकै वेवारिसे अवस्थामा फेला परेको वडाका प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । त्यसैगरी शनिवार राती भद्रपुर ६ निवासी अमरेश मल्लिकसहित तीन घरबाट चार वटा साइकल समेत चोरी भएको छ । चोरी गरिएको साइकल अझै फेला परेको छैन् । यस बिषयमा अनुसंन्धान भइरहेको वडा प्रहरीले जनाएको छ । त्यसैगरी भद्रपुर ४ स्थित डाँगाीबारी आसपासका घरआगबाट पशुपक्षी पनि चोरी हुन थालेको छ । ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीका अनुसार केहीदिन यता गाउँ घरमा भैसी, कुखुरा, खसी, बाख्रा चोरी हुन थालेकोले कृषक चिन्तित बनेका छन् । पशुपक्षी चोरी हुन थालेपछि प्रहरीले त्यसतर्फ पनि निगरानी बढाएको छ ।
साइकल चोर पक्राउ
साइकल चोरी गरेकोमा आरोपमा वडा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ५ निवासी २१ बर्षीय फुल महोम्मद राजशेख रहेको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार राजशेखलाई साइकलसहित पक्राउ गरिएको हो । राजशेखले एउटा साइकल चोरी गरी बसपार्क छेऊकै एक घरमा लुकाएर राखेको र शनिवार बिहान लिन आएको बेला स्थानीयको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाए । राजशेख यसअघि पनि चोरी घटनाको आरोपमा पटक पटक पक्राउ परिसकेका थिए । उनलाई थप अनुसंन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले दुई वटा साइकल समेत बरामद गरेको छ । प्रहरीमा उजुरी नपर्दा बरामद गरिएको साइकल कसको भन्ने अझै खुलेको छैन ।
सचेत रहने नगरबासीलाई प्रहरीको आग्रह
भद्रपुर नगर क्षेत्रमा चोरीका घटना बढनेसँगै सचेत नरहन वडा प्रहरी कार्यालयले नगरबासी समक्ष आग्रह गरेका छन् । घर खाली छाडेर कतै घुम्न गए छिमेकी वा प्रहरीलाई खबर गरेर जान प्रहरी निरक्षीक श्रेष्ठले आग्रह गरेका छन् । राती सुत्दा साइकल, मोटरसाइकल लगायत अन्य सामग्रीलाई सुरक्षित स्थानमा राख्नुका साथै राती कुनै अपरिचित व्यक्ति छरछिमेकमा देखा परे तत्काल प्रहरीलाई खबर गर्न उनले अनुरोध समेत गरेका छन् । ‘प्रहरी नगरबासीको सुरक्षाका लागि चौबीसै घण्टा सेवामा जुटेको छ, प्रहरी निरीक्षक श्रेष्ठले भने, “त्यत्ती गर्दा गर्दै पनि चोरीका घटना हुन थालेको छ, सबुुत तथा प्रमाण फेला पर्न नसक्दा चोरी गर्ने गिरोह समक्ष पुग्न प्रहरीलाई चुनौती थपिएको छ ।” अब नगरबासीले पनि चोर पत्ता लगाउन प्रहरीलाई सहयोग गर्नु पर्नेे उनको भनाई छ ।

















