झापा , झापाको शिवसताक्षी नगरपालिका– ७ मा रहेको कृषि विकास फर्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धन, मकै र गहुँको मूल बीऊ उत्पादन गरी नयाँ जातको बीऊ कृषकलाई उपलब्ध गराउँदै आएको सो फर्मलाई थप व्यवस्थित गरिने भएको हो । फर्मको आज राष्टपति विद्यादेवी भण्डारीले अवलोकन गर्नु हुने शिवसताक्षी नगरपानलिका प्रमख चन्द्रकुमार शेर्माले बताउनुभयो । शेर्माका अनुसार अब सो फर्मबाट कृषकले जुनसुकै जातका बीऊ विजन तथा माछाका भुरा उपलब्ध गराउन नयाँ कार्यक्रम शुरु गरिने छ । जसका लागि नगरपालिकाले केन्द्र सरकार र प्रदेश सरकारसंग वजेट माग गरिसकेको छ नगरप्रमुख शेर्माले भन्नुभयो ।
८४ विगाह अर्थात ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फर्मको २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका वीऊ उत्पादन गरिने र कृषकलाई बितरण गर्ने गरेको कृषि विकास फर्म चन्द्रडाँगीका प्रमुख धनवहादुर थापा मगरले बताउनुभयो । उहाँका अनुसार कृषि विकास फर्म चन्द्रडाँगी मा अहिले तीन हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छ ।
१२ हेक्टर क्षेत्रफलमा कार्यालय भवन, वाटो, कुलो , आवास गृह निर्माण गरिएको भने ५ हेक्टर क्षेत्रफल सुकुम्वासी वसोवास गर्दै आएका छन् । त्यस्तै ६ हेक्टर क्षेत्रफल सताक्षी खोलाले कटान गरेको कार्यालय प्रमुख मगरले बताउनुभयो ।
अहिले सो फर्मको ७ हेक्टर क्षेत्रफलमा गहुँ, ३ ÷ ३ हेक्टर क्षेत्रफलमा तोरी र मुसुरो दालको बीऊ , ८ हेक्टरमा चैतेधान लगाइएको कार्यालय प्रमख मगरले बताउनुभयो । उहाँका अनुसार २५ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको थियो ।
नेपाल सरकारले २०५२ सालमा स्थानीय कृषकहरुलाई आवश्यक पर्ने बिभिन्न जातका कृषि उपजको बीऊ सहज रुपमा उपलब्ध गराउन र कृषि अनुसन्धान केन्द्र बनाउन यो क्षेत्रको निर्धारण गरेको थियो । सोही अनुसार अहिलेपनि सो फर्मले स्थानीय जाताका वीऊको उत्पादन र संरक्षण गर्दै आएको शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो ।
२०३२ सालमा कन्काई सिंचाइ योजना अन्तरगत स्थापना भएको कृषि विकास फर्म चन्द्रडाँगी २०४८ सालमा सिंचाइ योजना विघटन भएपछि ४ बर्ष कृषि मन्त्रालयले आफ्नो स्वामित्वमा सञ्चालन गरेको थियो ।
२०५२ सालमा मन्त्रालयले चन्द्रडाँगी वीऊविजन तथा दूग्ध विकास समिति बनाएर समुदायमा हस्तान्तरण गरेसँगै सरकारी लगानी बन्द भएको थियो ।
एशियाली विकास वैंकको सहयोगमा कोरियन ठेकेदार कम्पनीले निर्माण फर्मका दुई दर्जन भन्दा बढी भवन निर्माण गरेको थियो । तत्कालीन (नेकपा)माओवादीले जनयुद्धका क्रममा २०६० साल कात्तिक ४ गते सो फर्ममा आगजानी गरेपछि झण्डै ७८ लाख बराबरको भौतिक संरचनामा क्षति भएको थियो । क्षतिको विवरणसहितको स्टीमेट कृषि मन्त्रालयमा पठाए पनि एक दशक बितिसक्दासमेत भवन पुनः निर्माण हुन सकेको छैन ।
अहिलेपनि केन्द्रका २५ वटा मध्ये अधिकांश भवन मर्मत सम्भारको अभावमा कामै नलाग्ने भएका छन् । मल वीऊ, माछाका भूरा उत्पादन गरेर संघ संस्थालाई दिने, पशु नश्ल सुधार गर्ने र प्राविधिक सल्लाह दिने काम गर्दै आएको कार्यालय प्रमुख मगरले बताउनुभयो ।
फर्मले बार्षिक ८० टन धानको वीऊ, १० टन मकै, १० टन गहुँ र ४ टन जै घाँसको वीऊ उत्पादन गर्ने गरेको बताइन्छ । फर्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बास्मती, चैते २, तरहरा १ लगायत जातका धानको वीऊ उत्पादन गर्ने गरेको छ ।


















