सुरुङ्गा,कुखुराको मलद्वारले सर्पको विष चुस्दैन– श्रीनयाँ श्रीनाथ गण चारआलीका जमदार सुरेन्द्र योकपाङ्देन भन्नुहुन्छ–‘अझैंपनि हाम्रो समाजमा सर्पले डसेको ठाउँमा कुखुराको मलद्वार लगाउने चलन छ, यो धारणा गलत हो ।’
सर्पले डसेमा यसको औषधि ‘एन्टी स्नेक भेनम सिरस’ मात्रै हो उहाँ भन्नुहुन्छ–‘ कसैलाई सर्पले डसे जतिसक्दो चाँडो उपचार केन्द्र पु¥याउनु पर्छ ।’ धामी– झाक्री, तन्त्र – मन्त्र र झारमौरोको प्रयोगबाट पनि सर्पले डसे नडसेको छुट्याउन सकिने आम धारणा छ, यो पनि गतल हो – मंगलवार बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनका विद्यार्थीलाई जमदार योकपाङ्देन सर्पदंशको वारेमा प्रशिक्षण दिइरहनु भएको थियो ।
सर्पदंश उपचार केन्द्र चारआलीको व्यवस्थापनमा नेपाली सेनाले २०६० सालबाट चारआलीमा सर्पदंशको उपचार शुरु गरेको छ । अझैपनि चेतना अभावमा सर्पदंशका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर अहिले सर्पदंश सम्वन्धी विद्यार्थीलाई प्रशिक्षण दिइरहेको छ । सो क्रममा बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनका विद्यार्थी र अभिभावकलाई सर्पले डसेमा के गर्ने , के नगर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
सर्पदंश उपचार केन्द्र चारआलीका जमदार योकपाङ्देनसहित नेपाली सेनाका अमलदार (प्राविधिक) टीका खड्का, सिपाइ रमेश श्रेष्ट लगायत ६ जनाको टोलीले नेपालमा पाइने विषालु र अविषालु सर्प विद्यार्थी र अभिभावकलाई देखाउँदै सर्पदंशका विषयमा जानकारी गराएको थियो ।
टोली प्रमुख योकपाङ्देनले नेपालमा ८९ प्रजातिका सर्प पाइने र ती मध्ये २२ प्रजातिका ज्यादै विषालु हुने गरेको बताउनुभयो । ६७ प्रजातिका अविषालु सर्पहरु नेपालमा पाइन्छन् उहाँले भन्नुभयो–‘ १२ प्रजातिका हरेऊ, १० प्रजातिका करेत र गोमनको टोकाइबाट अहिलेसम्म धेरै मानिसले अकालमा ज्यान गुमाएका छन् तसर्थ सर्पदंशबाट बच्न जरुरी छ ।’
सर्पले डसेको ठाउँमा मुखले चुस्ने या यन्त्रले तान्ने गर्नु हुँदैन उहाँले भन्नुभयो– ‘सर्पले डसेको ठाउँमा धारिलो हतियारले चिर्ने, काट्ने, डढाउने,पोटास या कुनै रसायन पनि हाल्ने गर्नु हुँदैन ।’
सर्पले टोके नटोकेको थाहा पाउन समाजमा अझैपनि खुसार्नी खाने चलन छ योकपाङ्देन भन्नुहुन्छ –‘खोसार्नी खाँदा सर्पले टोके नटोकेको थाहा हुँदैन बरु खोसार्नीले उल्टै पेट पोलेर उपचारमा समस्या हुन्छ, यस्तो गलत धारणा त्याग्न म सबैलाई आग्रह गर्छु ।’
श्रीनयाँ श्रीनाथ गण चारआलीमा रहेका नेपाली सेनाले २१ प्रजातिका सर्प विद्यार्थीलाई देखाउँदै कुन सर्प विषालु,कुन सर्प अविसालु, कुन सर्पले डसे कत्तिको छिट्टो विष लाग्छ सो विषयमा जानकारी गराएको थियो ।
विद्यालयमै आएर नेपाली सेनाले विद्यार्थी र अभिभावकलाई सर्पदंशका विषयमा जानकारी गराएपछि सर्पदंश उपचार केन्द्र चारआली र श्रीनयाँ श्रीनाथ गणका प्राविधिक टोलीलाई विद्यालयका प्रिन्सिपल सीताराम ढकालले धन्यवाद दिनुभयो ।
यता विद्यालय व्यवस्थापन समिति सदस्य गौरीशंकर गुप्ता ‘टिङ्कु’ले नेपाली सेनाले विद्यार्थीलाई सर्पदंशको विषयमा सर्प नै ल्याएर देखाउँदै सिकाएको ज्ञान प्रभावकारी हुने र यसले पछिसम्म विद्यार्थीलाई फाइदा पुग्ने बताउनुभयो । सिकाइका क्रममा विद्यार्थीले सुनेको भन्दा प्रत्यक्ष देखेर सिकेको ज्ञान प्रभावकारी हुन्छ गुप्ताले भन्नुभयो– ‘त्यसमाथि पनि विद्यार्थीले विषालु र अविषालु सर्पको विषयमा जान्ने मौका पाए त्यो हाम्रा नानीहरुका लागि ज्यादै महत्वपूर्ण कुरा हो ।’
यता सेनाको प्राविधिक टोलीले सर्प दिउँसो भन्दा राति बढी सक्रिय हुँने भएकाले राति हिँनडुल गर्दा जुत्ता लगाएर मात्र हिँनडुल गर्न, घर वरिपरी झ्यास, झार – जंगल, जमिनमा परेको दुलाहरु भए सफा गर्न , राति सुत्दा झुलको प्रायेग गर्न, सकेसम्म हाँस कुखुरा , परेवालाई घर भित्र नराख्न सुझाव दिएको छ ।
गर्मी महिनामा सर्प वढी सक्रिय रहने भन्दै गर्मीको समयमा बढी सचेत रहन विद्यार्थी र अभिभावकलाई नेपाली सेनाको प्राविधिक टोलीले सुझाएको थियो । झापा सहित पूर्वी पहाडी जिल्लामा हरेउ,करेट र कोव्रा बढी विषालु सर्प पाइने गरेको बताइएको छ ।
विषालु सर्प मध्ये पनि रसेल्स भाइपर सर्पको डसाइका काराण तुरुन्त मानिसको मृत्यु हुने गरेको जमदार योकपाङ्देनले बताउनुभएको छ । २०६० साल चैत ६ गतेबाट सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र चारआलीले हालसम्म १४ हजार ८ सय १० जना सर्पदंशका विरामीलाई सफल उपचार गरिसकेको बताइन्छ । जसमध्ये छिमेकी राष्ट्र भारतबाट समेत सेवा लिन आएको जमदार योकपाङ्देनले जानकारी दिनुभयो । विषेश गरी झापा सहित पूर्वी पहाडी जिल्ला इलामा , ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुमका सर्पशंसका विरामीले बढी सेवा लिएको बताइएको छ ।
सर्पदंश उपचार केन्द्र चारआली र नेपाली सेनाको प्राविधिक टोलीले पछिल्लो समय दुई दर्जन बढी विद्यालयमा पुगेर सर्पदंश सम्वन्धि सचेतना मुलक प्रशिक्षण प्रदान गरेको चारआली गणका मेजर ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक हप्ता विभिन्न विद्यालय विद्यालयमा गएर सर्पदंश सम्वन्धि प्रशिक्षण प्रदान गरिँदै आएको छ ।




















