२०८३ असार १० बुधबार
Search
Close this search box.

४६ औँ सुखानी शहीद स्मृति दिवस मनाउन नेकपाका दुवै अध्यक्ष झापा आउँदै

सुरुङ्गा, छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो । 

घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा हुनुहुन्थ्यो । तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो ।

मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागार लगिएका पाँच योद्धालाई झापाको चन्द्रगढीबाट इलामको कारागार सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो ।
सोही सम्झनामा प्रत्येक वर्ष फागुन २१ गते तत्कालीन नेकपा(एमाले) र नेकपा(माले) ले छुटृाछुटृै श्रद्धाञ्जलिसभा आयोजना गर्दै आएका थिए ।

यस वर्ष भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुखानी शहीद स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले बताउनुभयो ।

पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट सुखानी शहीद स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताउनुभयो ।
सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यहाँ सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।

पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच वटा रुखहरु सँगै जोडिएर हुृर्केका छन् भने घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको नेकपाका नेता नरेश खरेल बताउनुहुन्छ ।

आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा हत्या गरिएका पाँच शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिनुभएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शनिबार राति निधन हुनुभएका भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा श्रद्धाञ्जलिसभा गरिने नेकपाका नेता मणिकुमार राई साम्पाङले बताउनुभयो । यसअघिका वर्षमा तत्कालीन एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन सो दिवस मनाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit