झापा , जाती, भाषा र सँस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदयमा भाषा र संँस्कृति लोपउन्मुख अवस्थामा छ ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भएपनि उपत्यका बाहिर रहेका नेवार समुदायमा आफ्नै भाषा र संस्कृति लोपउन्मुख अवस्थामा रहेको नेवा देय दवुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो । काठमाडौं उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ – अध्यक्ष ताम्राकारले भन्नुभयो –‘तर उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।’
देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएपछि झापामा बसोवास गर्ने नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृति संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि जिल्लाका विभिन्न स्थानमा नेवार समुदाय यतिवेला धिमे बाजा संरक्षणमा जुटेको छ । योसंगै नेवार समुदाय भित्रै रहेका युवालाई वाँसुरी वादन सम्वन्धि प्रशिक्षण समेत दिँइदैछ ।
‘धिमे बाजा’ नेवार समुदायमा शोक बाहेक अन्य सवै शुभकार्यमा बजाइने वाजा हो । तर, यही वाजाको संरक्षण नहुँदा यो वाजा लोपउन्मुख अवस्थामा पुगेपछि नेवा देय दवु झापाले वाजाको संरक्षण थालेको हो । तीन सय ६५ दिनमा ३६६ वटा पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै भाषा र संस्कृतिको संरक्षणमा गर्न शुरु नगरे आफ्नै भाषा र संस्कृति लोप हुने खतरा देखिएको नेवा देय दवुका बर्तामोड नगरसमित अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ बताउनुभयो । जातीय पहिचान जोगाउन नेवारहरु प्रयत्नरत रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
देशभर कूल १३ लाखको हाराहारीमा नेवारको जनसंख्या रहेको छ । त्यसमध्ये ६ लाख काठमाण्डौ उपत्यकामा र बाँकी उपत्यका बाहिर बसोबास गर्दछन् । भाषा, सस्कार, संस्कृतिले उपत्यका भित्रका नेवारहरु सक्षम रहेपनि उपत्यका बाहिर उनीहरुको पहिचान हराउदै गएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।
नेवार समुदायको सँस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको नेवा देय दवुका केन्द्रीय अध्यक्ष ताम्राकारको भनाई छ । युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो अहिले धेरै राम्रो काम भएको छ, उहाँले भन्नुभयो – ‘युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभाव पर्दा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह अनुकरणीय छ ।’
‘धिमे बाजा’ नेवारको विभिन्न चाडपर्वमा बजाउने चलन छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दिपावली, गाईजात्रालगायत पर्वमा धिमे बाजा बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पक्ष हस्तान्तरण हुन नसक्दा संस्कृति लोप हुने अवस्थामा पुगेकाले धिमेबाजा संरक्षणमा झापाका नेवार समुदाय लागि परेको नेवाः देय दवूका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।
खासगरी धिमे र बाँसुरी पहिले ज्यापु समुदायका पुरुषले मात्र बजाउने वाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो वाजा बजाउन अग्रसर हुन थालेको धिमे र बाँसुरी वाजाका प्रशिक्षक कृष मर्हजनले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले झापाको बिर्तामोड, मेचीनगर लगायतका स्थानमा यो वाजा सम्वन्धी प्रशिक्षण भइरहेको छ ,जहाँ युवतीको पनि उत्साहजनक सहभागीता छ ।’
नेवारी समुदायमा बौयागु ख्वाःस्वयगु, मांयागु ख्वाः स्वयगु, देगु पूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथा, मोहनी, स्वन्ति, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा नेवारहरूले मौलिक बाजा बजाउने गरेको मर्हजनले बताउनुभयो ।
लोकप्रिय रहेको धिमय् (धिमे) बाजा, रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौं उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमय् राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ ।
सिपालु सेविका
बिर्तामोड– ५ निवासी सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देख्नुभएको थयो । तर, अहिले स्वयम् उहाँलाई धिमे बाजा बजाउन आउँछ ।
बिर्तामोड–९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त हुनुहुन्छ । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउदा दुःख लाग्ने गरेको उहाँको बिगतको अनुभव छ । तर अहिले योजनालाई निक्कै खुशी लागेको छ ।
नेवाः देय दवु बिर्तामोड नगर समितिले नेवा कला, संस्कृति र सिप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालिममा सहभागी भएर सेविका र योजनाले यो वाजा बजाउन सिक्नुभएको हो ।
खासगरी नेवार समुदायमा यो वाजा पुरुषले मात्र बजाउनु पर्छ भन्ने मान्यता छ । तर, सेविकाले आफैं आग्रसर हुँदै यो वाजा बजाउन सिकको बताउनुभयो । अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले धिमे वाजा बजाउने गर्नुभको छ ।
नेवार समुदायमा कला र संस्कृति लोप हुँदै गएको भन्दै कला र संस्कृति संरक्षणका लागि सेविका र योजना सहित झण्डै ३९ जनाले यो वाजा बजाउन सिकेका छन् । सुरु सुरुमा धिमे वाजा बजाउन असहज भएपनि अहिले यो वाजा बजाउदाँ आनन्द आउने गरेको अर्का प्रशिक्षार्थी प्रणेश श्रेष्ठले बताउनुभयो ।
आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि झापामा रहेका नेवार समुदायले देखाएको अग्रसरता सवैका लागि अनुकरणीय छ । एक पुस्तावाट अर्काे पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने हो भने नेवार समुदाय मात्रै होइन सवै समुदायको संस्कार र संस्कृतिको जोर्गेणा हुनेमा दुईमत छैन ।


















