२०८३ असार १० बुधबार
Search
Close this search box.

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

झापा,‘देव्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ,सुने र जाने जति सवै अस्पताल पुगिसके रोग निको भएन’ वाह्रदशी गाउँपालिका– ५ कि ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अंग देखाउँदै भन्नुभयो – ‘डाक्टरसाव मलाई जसरी पनि निको पारिदिनुहोस् ।’ उहाँले थप्नुभयो–‘चिसोमा त झन् विहान वेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्छ ।’

सोही गाउँपालिका –५ निवासी गुदु राजवंशीको पनि समस्या उस्तै छ । उहाँपनि घुँडाको जोर्नी दुखेर हिनडुल गर्नै समस्या भएपछि चकचकी आयुर्वेद औषधालयमा पुग्नुभयो । आयुर्वेद औषधालयका कविराज निरीक्षक अनिल ठाकुरले उहाँहरु दुवैको स्वाथ्य जाँच गर्दै औषधालयमा रहेको स्वेदन यन्त्रद्वारा स्नेहन स्वेदन गराउन सल्लाह दिनुभएको छ । स्वास्थ्य जाँचपछि थापा र राजवंशीलाई औषधि दिँदै नियमित रुपमा स्नेहन स्वेदनका लागि औषधालय आउन अस्पतालकी वैद्य हिमादेवि श्रेष्ठले आग्रह गर्नुभयो ।

 चकचकी आयुर्वेद औषधालय आउने थापा र राजवंशी प्रतिनिधि पात्र मात्रै हुन् । ग्रामीण क्षेत्रमा पनि आयुर्वेद औषधालय खुलेपछि उनीहरु जस्ता धेरैले अहिले ग्रामीण क्षेत्रमै निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा लिइरहेका छन् । यस अघि यो सेवा लिन चकचकीबाट झण्डै ३० किलोमिटर टाढा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी पुग्नु पर्ने यहाँका स्थानीयवासीलाई बाध्यता थियो ।

आयुर्वेद औषधालयमा उपचारका लागि आउनुभएकी ३५ वर्षीया डुम्री हेमरम विहीवार निक्कै खुशी देखिनुभयो । उहाँले हामीसंग भन्नुहुन्छ–‘ म नसाको समस्या भएपछि यहाँ आउन थालेकी हुँ, ५÷७ दिन भयो उपचार गराउन थालेको निक्कै आराम भएको छ ।’

‘झापासहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि पेट पोल्ने र घुँडा दुख्ने समस्या निको नभएपछि यहाँ आएकी हुँ’ साविक चकचकी गाविस निवासी ६१ वर्षीया उर्मिला भट्टराईले भन्नुभयो –‘यहाँ आएर सेक्न थालेपछि दुखाई कम हुँदै गएको छ । बिर्तामोडमा रहेको सेराजिममा धेरै धाए, त्यहाँ पनि सेकेरै उपचार गरिन्थ्यो तर त्यो भन्दा यहाँको उपचार गर्ने तरिका धेरै राम्रो रहेछ’ भट्टराईले भन्नुभयो– ‘घर छेउमै अस्पताल छ अबत सेकैरै भएपनि रोग निको पार्छु ।’

दुई वर्ष अघि स्थापना भएको चकचकी आयुर्वेद औषधालय अहिले त्यस क्षेत्रका धेरै सर्वसाधारणका लागि भरोसाको केन्द्रविन्दू बनेको छ । यहाँ अहिले उपचारका लागि आउने विरामीको संख्या बढेर गएको वाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयुर्वेद उपचार पद्दतिबाट उपचार गराउनेको संख्या बढेर गएको छ, वर्ष आठ लाख रुपैयाँ वजेटको व्यवस्था समेत गरेको छु । ’

आयुर्वेद चिकित्सा पद्दतिमा बढ्दो विस्वास

पछिल्लो समय झापामा आयुर्वेद चिकित्सा पद्दतिबाट उपचार गराउनेको संख्या बढेर गएको छ ।

भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित जिल्लाका अन्य सात स्थानमा रहेका आयुर्वेद औषधालयमा पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धतिबाट विरामीको निःशुल्क उपचार शुरु भएपछि आयुर्वेद चिकित्सा पद्दतिबाट उपचार गराउने विरामीको संख्या बढेर गएको हो ।

बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या भएका बिरामीका लागि पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति उपयोगी साबित भएसंगै आयुर्वेद औषधालयमा उपचार गराउने विरामीको संख्या दिन प्रतिदिन बढेर गएको चकचकी आयुर्वेद औषधालयका कविराज निरीक्षक ठाकुरले बताउनुभयो । पञ्चकर्म चिकित्सा अनुसार स्नेहन अन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पीडाबाट मुक्ति दिलाएर शरीरलाई स्फुर्ति गराउने कार्य यहाँ गरिदै आएको छ उहाँले भन्नुभयो –‘रोगको अवस्थाका आधारमा तेलको छनोट गरी यो पद्धतिबाट विरामीलाई उपचार गर्न थालेपछि उपचार गराउनेको संख्या बढेर गएको हो ।’

स्नेहनपछि रोगीलाई नाडी स्वेदनअन्र्तगत रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पु¥याउने गरिन्छ उहाँले भन्नुभयो – औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निस्कने वाष्प स्वेदन यन्त्र (वाष्प वाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई विरामीको उपचार गरिन्छ ।’

चालू आर्थिक वर्षसंगै औषधालयले स्नेहन स्वेदन उपचार पद्दतिबाट विरामीको उपचार सुरु गरेपछि अहिले चकचकी आयुर्वेद औषधिलयमा मात्रै दैनिक न्यूनतम २० देखि ३० जनाले नियमित सेवा लिँदै आएको उहाँको भनाई छ । ‘यस अघि आयुर्वेद उपचार पद्दतिबाट उपचार गराउने विरामीको संख्या ज्यादै न्यून थियो’ कविराज निरीक्षक ठाकुरले भन्नुभयो ।

स्वेदन यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षाघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान हटेर जाने उहाँको भनाई छ । आयुर्वेद औषधालयमा योसंगै शिरोवस्ती, ग्रीवावस्ती, कटीवस्ती, जानवस्ती, चक्षुवस्तीलगायत उपचार पद्धतिबाट समेत विरामीको उपचार गरिदै आएको कविराज निरीक्षक ठाकुरले बताउनुभयो ।

यता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीमा स्नेहन स्वेदनसहित स्तनपाई आमालाई दुग्ध वर्दक कार्यक्रम, योग, पञ्चकर्म,ज्येष्ठ नागरिकलाई जीर्ण रोगसम्वन्धी औषधि वितरण, निःशुल्क औषधि वितरण, श्वासप्रश्वास, ज्वरो, चर्मरोग, ग्यास्ट्रिक र पेटसम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क उपचार हुँदै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा. केनिन राईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४÷ २०७५ मा ४१ हजार ४५ जनाले सेवा लिएका थिए ।

आयुर्वेद औषधालयमा सेवा लिने महिलाबढी

आयुर्वेद चिकित्सा पद्दतिबाट उपचार गर्ने महिलाको संख्या वढी रहेको पाइएको छ । चकचकी आयुर्वेद औषधालयका कविराज निरीक्षक ठाकुरका अनुसार ८० प्रतिशत महिला र २० प्रतिशत पुरुषले आयुर्वेद चिकित्सा पद्दतिबाट उपचार गराउँदै आएका छन् । औषधिालयमा दैनिक आउने विरामीहरुमा १५ देखि २० जना महिला नै हुन्छन् उहाँले भन्नुभयो – महिलामा पेट सम्वन्धी र नसा सम्वन्धी समस्या बढी देखिने भएकाले पनि उपचार गराउन आउने महिलाको संख्या बढेको हुनसक्छ ।’

समयमै स्वास्थ्य जाँच गराउन चिकित्सकको सल्लाह

आयुर्वेद चिकित्सक पद्दतिबाट रोग निको हुन्छ र उपचार गर्ने डाक्टर नै हुन्छन् भन्ने अझैंपनि धेरैलाई थाहा नभएकै कारण आयुर्वेद उपचार पद्दतिबाट धेरै सर्वसाधारण बञ्चित हुन परेको चिकित्सकको भनाई छ । आयुर्वेद उपचारका नाममा नाङ्ग्लामा जडिवुटी राखेर बेच्नेदेखि, जादु र चटक देखाउँदै आयुर्वेद औषधिका नाममा विभिन्न सामग्र बेच्नेहरुसंग त्यस्तो सामग्री किन्दै औषधिका नाममा प्रयोग गर्दा रोग निको नभएकै कारण आयुर्वेद चिकित्सा पद्दति ओझेलमा परेको डा देवीकुमार गौतमले बताउनुभयो । उहाँले भन्नुभयो – आयुर्वेद चिकित्सा पद्दति मातृ विज्ञान हो । यही विज्ञानका आधारमा आधुनिक चिकित्सा पद्दतिको विकास भएको हो ।’ आयुर्वेद उपचार पद्दतिमा असम्भव छदै–छैन तर विरामी अन्तिम अवस्थामा मात्रै आयुर्वेद उपचार पद्दति मार्फत उपचारका लागि आउँछन् यस्तो अवस्थामा उपचार गर्न केही जटिल हुन्छ डा गौतमले भन्नुभयो–‘समयमै स्वास्थ्य जाँच गराएर उपचार गर्न पाउने हो भने जस्तो सुकै रोगको पनि निदान गर्न समस्या हुँदैन ।’

पछिल्लो समय खानपान र रहनसहनका कारण अधिकांश मानिस कुनै न कुनै रोगवाट ग्रसित छन् उहाँले भन्नुभयो – आफूमा कुनै रोग छ कि छैन भनेर समय समयमा स्वास्थ्य जाँच गराउन म सवैलाई आग्रह गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit