बिर्तामोड, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जिल्लामा हुने सबैखाले अपराध नियन्त्रणका लागि आमालाई परिचालन गर्ने बताउनुभएको छ । 
जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले झापामा अपराधसँगै सामाजिक विकृति रोक्न आमा समूह गठन गरेर परिचालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘झापा संवेदनशील जिल्ला मध्येमा पर्छ, त्यसैले यस जिल्लाको शान्ति सुरक्षामाचुस्त राख्न कुनै सम्झौता गरिदैन् ।’
प्रदेश नम्बर १ कै उत्कृष्ट जिल्ला झापलाई बनाउने भन्दै प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो –‘ झापाको शान्ति सुरक्षा चुस्त राख्न स्मार्ट पुलिसिङ्ग बनाउने अवधारण अन्तरगत विगतमा काम भइरहेको थियो, अब म पनि यसलाई निरन्तरता दिएर अघि वढ्छु ।’
समुदाय–प्रहरी साझेदारी कार्यक्रम, मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानमा झापा प्रहरी लागि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो – घरेलु मदिरा नियन्त्रणमा मात्र प्रहरी लागेको होइन, अभियान चलाउँदा त्यस्तो देखिएको हो । अब सार्वजनिक स्थलमा बिक्रीवितरण हुने मदिरा नियन्त्रण अभियानमा प्रहरी जुट्छ र सफलता हात पारेरै छाड्छ ।’

















