२०८३ असार १० बुधबार
Search
Close this search box.

एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ

काठमाडौँ,  मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

उहाँले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिनुभयो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिनुभएको छ ।

उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना भएको तेस्रो दिन आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथि देशैभर कारबाही गरेको स्वीकारेको छ ।

पार्टीले यसअघि एनसेलमाथि ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णय पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवालाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखि नै निरन्तर आक्रमण गर्दै आएको थियो ।

यसैक्रममा फागुन १० गते पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । त्यही क्रममा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र यो दुर्घटनामा पार्टी पङ्क्ति दुःखित भएको नेकपाले जनाएको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit