सुरुङ्गा,परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका युवाले नौमति वाजा बजाउन सुरु गरेका छन् ।
नेपाली पोशाक दौरा सुरुवालमा सजिएर पत्रकार सम्मेलन गर्दै उनीहरुले पत्रकार सम्मेलननै नौमति वाजा बजाएका थिए । एक्टिभ नाइन समूह बनाएर आफूहरुले नेपाली मौलिक बाजाको संरक्षणमा जुटेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘हरेक नयाँ काममा हाम्रो हात’ भन्ने नाराका साथ नौ जना युवाहरुले नौमती वाजा बजाउन सुरु गरेको समूहका अध्यक्ष गोविन्द निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
‘परम्परागत बाजा,हामी सबैको साझा’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै नौमती बाजाको संरक्षणमा आफूहरु लागि परेको समूहका सदस्य सुरेश खतिवडाले बताउनुभयो । नौमती वाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा हुने गरेको खतिवडाको भनाई छ ।
‘होस गर है साल्टिनी’ , ‘सालको पात टपरी गाँसेर’ लगायतका गीतमा नौमती बाजा बनाएर पत्रकार सम्मेलनमा उनीहरुले रौनकता थपेका थिए ।
कस्ले के वजाए ?
अध्यक्ष गोविन्द निरौलाले टेम्को, सचिव भानुभक्त खनालले नरसिंहा, सदस्यहरु सुरेश खतिवडाले झ्याम्टा र अर्जुनबहादुर थापाले नगरा बजाएर पत्रकार सम्मेलनमा आफ्नो कला प्रस्तुत गर्नुभएको छ । एक्टिभ नाइनका सदस्यहरु मिलन ढकालले दमाहा, बिनोद दाहाल सहनाई, पुण्यप्रसाद खतिवडाले नरसिंहा, रोहितकुमार भट्टराई सहनाई र झरेन्द्र खतिवडा ढोलक बजाउनुभएको थियो ।
बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरुमा नरसिंगा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । लोप हुने अवस्थामा पुगेको बाध्यबाधनलाई संरक्षण गर्दै यसको मौलिकता बचाउनु हामी सबैको दाहित्यव भएकाले आफूहरु यसको संरक्षणमा जुटेको समूहका सचिव खनालले बताउनुभयो ।
एक्टिभ नाइन समूहले डेढ लाख रुपैयाँ खर्चेर बाजाहरु खरिद गरेको र पहिरन एवम् तालिममा त्यत्ति नै खर्च भएको सचिव खनालले जानकारी दिनुभयो ।


















