बिर्तामोड, ‘तकई कुकु चियो लिदा मातकम बाहा, तकई कुकु चियो लिदा श्रीसारजम बाहा ?’बोलको गीतमा सन्थाल युवायुवतीहरु झुम्दै नाचिरहेका थिए ।
जसको अर्थ हुन्छ–कसले चिनेको थियो गिठ्ठाको फूल, कसले चिनेको थियो सखुवाको फूल ?सन्थाल समुदायको बाहा पर्वको अबसरमा मार्शल बिर्ता युवा क्लबद्वारा बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा आयोजित सांस्कृतिक कार्यक्रममा झापा र मोरङका सन्थालहरुले आफ्नो संस्कृति मात्र देखाएनन्, नाच्ने र गाउँने रहर समेत पूरा गरे । बसन्त ऋतु लागेर फूल फुल्ने बेलामा सन्थाल समुदायले बाहा पर्व मनाउने गर्छन् ।
बाहाको अर्थ फूल भएको र फूल फुल्ने बेलामा यो पर्व मनाउने गरिएको नेपाल सन्थाल आदिवासी उत्थान संघका जिल्ला अध्यक्ष बडाराम हेमरम बताउँछन् । दुई दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जाहेरथानमा नाइकी(पुजारी)ले पुजाआजा गरी प्रत्येक घरघरमा फूल र पानी पु¥याइदिने र अर्को दिन रमाइलो गर्दै रंग खेल्ने गरिएको उनले बताए ।
फागु पूर्णिमाको पूर्वसन्ध्यामा पर्ने बाहा पर्वमा आफ्ना चेलीबेटीहरुलाई बोलाएर सत्कार गर्ने परम्परा समेत रहेकोे हेमरमले जानकारी दिनुभयो । सन्थालहरुको पलायनसंगै उनीहरुको संस्कार संस्कृति हराउँदै गएको छ । त्यसलाई जोगाउन बिभिन्न कार्यक्रमहरु गर्दै आएको एभेन मार्शल सन्थाल समाज घैलाडुब्बाका सचिव मंगल हास्दाले बताउनुभयो ।
सन्थाल समुदायको बिबाहमा गिठ्ठा र सखुवाको फूल अनिबार्य भएको उहाँले सुनाउनुभयो । झापा र मोरङका १४ वटा नृत्य टोलीले भाग लिएको प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा घैलाडुब्बाका मंगल हास्दाको टोली प्रथम, सैनिकमोडकी सुनिता हेमरमको टोली द्वितीय र पगलीभट्टीका मंगल हास्दाको टोली तृतीय हुनुभयो । बिजेता टोलीहरुले क्रमशः ५ हजार ,४ हजार र ३ हजार नगद पुरस्कार पाउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले पुरस्कार बितरण गर्नुभयो । उहाँले आगामी बर्षदेखि सन्थाल समुदायको लागि फुटबल प्रतियोगिता आयोजना गर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा बयोबृद्घाहरु मेरी बाँस्की, फूलमनि हास्दा, सीता मुर्मु, देवान टुडु , निलमुनि टुडु, साइली मुर्मु र सम्पति राजवंशीलाई सम्मान गरिएको थियो ।श्याम मुर्मुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी,बैजुन मुर्मु लगायतले बोलेका बोल्नुभएको थियो । कार्यक्रमको संचालन सन्तोष दासले गर्नुभएको थियो ।

















