झापा, फागुन २६ । धरानको सिंहदेवी चोक उत्तर विजयपुर सडक नजिकै जंगलमा बम जस्तै शंकास्पद बस्तु फेला परेको छ ।
जंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको छ । धरान वडा नं १ र १४ को सिमाना पर्ने सो जंगल रहेको छ । 
याङशिलास्थित कालीशक्ति गणबाट आएको टोलीले बम जस्तै शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो । डिस्पोज टोलीका एक सुरक्षा अधिकारीले अलि अलि विष्फोटक पदार्थ जस्तो भेटिएकोले फरेन्सिक जाँचमा पठाइने बताउनुभयो । उहाँले भन्नुभयो – ‘शंकास्पद बस्तु थियो, त्यसमा अलिअलि विष्फोटक पदार्थ फेला पार्यौ, फरेन्सिक जाँचमा पठाउछौ ।’
स्थानीय परशुराम तामाङले जंगलमा भँुइमा लडिरहेको अवस्थामा उक्त शंकास्पद बस्तु भेट्नुभएके थियो । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । गएको निर्वाचनको बेला चुनाव बहिष्कार गरेको नेत्रबिक्रम चन्द नेतृत्वको पार्टीले धरानको विभिन्न ठाउँमा बम राखेको थियो । अहिले भेटिएको शंकास्पद बस्तु पनि त्यसै बेला राखिएको हुनसक्ने अनुमान गरिएको छ । सशस्त्र प्रहरीका डिएसपी देवराज विष्टका अनुसार पार्सल पठाउदा बेरिने टेपले बेरिएको अवस्थामा ब्याट्री साइजको बस्तु थियो । ‘भुँइमा लडेको अवस्थामा थियो, नेपाली सेनाको टोलीले डिस्पोज गरिसक्यो,’डिएसपी विष्टले भन्नुभयो ।

















