२०८३ असार १० बुधबार
Search
Close this search box.

झापाली दर्शक भन्छन् – फुटवल हेर्दा विश्वकपको झल्को आयो

बिर्तामोड, साढे चार वर्ष संयुक्त अरव इमिरेट्र्स (युएइ) बसेर स्वदेश फर्किएका बिर्तामोड–१का केशव खरेल अहिले दिनहुँ फुटवल हेर्न व्यस्त छन् ।
विदेशमा हुँदा इन्टरनेटमार्फत झापा गोल्डकप हेरेका खरेल अहिले भने दर्शक दीर्घामै बसेर गोल्डकप हेरिरहेका छन् । विदेशमा हुँदा डोमालाल राजवंशी रंगशाला यति उत्कृष्ट होला भन्ने कल्पना समेत नगरेको उनी बताउँछन् । विदेशमा प्लाष्टिकको दुवो ओछ्याएर खेल मैदान देखेका उनले झापा गोल्डकप भइरहेको मैदानमा प्रकृतिक दुवो देख्दा दंग मात्र परेनन् मेहनतको तारिफ समेत गरे । विदेशमा सरकारी लगानीमा ठूला–ठूला खेल मैदान बनाइरहँदा नेपालमा भने स्वतःस्फूर्त रुपमा झापालीले उत्कृष्ट मैदान बनाएको भन्दै यसमा सरकारले पनि लगानी गर्ने सके यो खेलमैदान देशकै उत्कृष्ट बन्ने उनको भनाइ छ ।
झापामा जारी मगमग झापा गोल्डकपले विश्वकपको झल्को दिएको भन्दै उनले खेललाई अझ परिस्कृत गर्न सके विदेशका धेरै टिम सहभागी बन्ने सक्ने र झापाको नाम अझ उच्च हुने उनको भनाइ छ । विदेशमा रहँदा इन्टरनेट मार्फत खेल हेर्नुभन्दा प्रत्यक्षदर्शक दीर्घामा बसेर खेल हेर्नुको रौनक नै छुट्टै रहेको खरेलको भनाइ छ । उनी भन्छन्– ‘बिगतका वर्षमा विदेशी भूमिमा रहेर पनि झापा गोल्डकपलाई इन्टरनेटमार्फत हेरेर मनोरञ्जन लिएको थिएँ, यसपटक त स्वदेशमै छु, बिगत तीन दिनदेखि झापा गोल्डकप निरन्तर हेरिरहेको छु ।’
सोमवार भएको झापा ११ र हङ्कङ नेप्लिज टिमबीचको खेल हेर्न जोशिएर दर्शक दिर्घामा बसेका बिर्तामोड–३का ७१ वर्षीय भीम आचार्य भन्छन्– ‘झापा गोल्डकपले खेलको मात्र विकास गरेको छैन, झापालाई देशविदेशमा चिनाएको पनि छ ।’
वृद्ध अवस्थामा पनि फुटवलप्रति युवा उमेर जस्तै जोस् जाँगर देखाएका आचार्य भन्छन्– ‘चार वर्षदेखि झापा गोल्डकप हेरिरहेको छु । यत्तिको अनुशासित र व्यवस्थित खेल अन्त देखेको छैन ।’
आयोजकको उत्कृष्ट संयोजनका कारण प्रतियोगिता अनुशासित र व्यवस्थित मात्र छैन यसले विश्वकपको जस्तै उत्कृष्टता प्रदान गरेको छ । उनले अध्ययनका क्रममा भारतको कालेङ्पोङमा रहँदा हिरो टिममा सहभागी भएर विभिन्न प्रतियोगितामा सहभागिता जनाएको अनुभव सुनाउँदै भने– यो उमेरमा पनि फुटवल भनेपछि उत्साह बढ्छ । उनी भन्छन्– ‘खेललाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारी संयन्त्र दर्विलो हुन जरुरी छ ।’ उनले बिद्यालय स्तरमा नै खेल सम्वन्धी विद्यार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट खेलाडी उत्पादन गर्न सरकारलाई सुझाव दिए । नेपालमा नै पर्याप्त र उत्कृष्ट खेलाडी रहेको भन्दै उनीहरुलाई नै अझ प्रशिक्षण प्रदान गर्न सके नेपाली क्लवहरुले विदेशी टिमका खेलाडी भित्र्याउनु नपर्ने उनले बताए । नेपाली क्लवका सबै खेलाडी नेपाली नै भए विदेशी टिमका क्लवहरुले नै धेरै सहभागिता जनाउन सक्ने भएकाले खेलको उचाई अझ बढ्ने उनको तर्क छ । खेलाडी उत्पादनमा झापा उर्वरभूमि रहेको बताउँदै झापा गोल्डकपले खेलाडी उत्पादनमा थप टेवा पु¥याएको आचार्यको भनाइ छ ।
युवादेखि प्रौड अवस्थाका पुरुष दर्शक मात्र हैन खेलकुदमा महिला दर्शकको पनि आकर्षण उस्तै छ । फुटवल हेर्नकै लागि शान्तिनगरबाट डोमालाल रंगशाला आएकी सम्झना खड्का भन्छिन्– ‘तीन वर्षदेखि निरन्तर फुटबल हेरिरहेकी छु ।’
यस वर्ष भएको झापा गोल्डकपमा खेल मैदानलाई अझ व्यवस्थित बनाइएको उनको भनाइ छ । उनी भन्छिन्– ‘खेल मैदानको चारैतिर अस्थायी प्यारापिट निर्माण गरेर खेल देखाइए पनि स्थायी प्यारापिट निर्माण गरिए वर्षेनि प्यारापिट निर्माणका लागि गरिने खर्च स्वतः कम हुने थियो ।’
उनले समग्र खेल व्यवस्थापन उत्कृष्ट भए पनि शौचालय निर्माणमा आयोजकले खासै ध्यान नपु¥याएको गुनासो गरिन् । उनी भन्छिन्– ‘९० मिनेटको खेल हेर्न आएका हामी महिला दर्शकलाई शौच गर्न कठिनाइ हुन्छ, त्यसमाथि पनि झापा जिल्ला खुल्ला दिसामुक्त जिल्ला हो ।’
झापाली मात्र होइन, झापा गोल्डकप हेर्न अन्य जिल्लाबाट पनि दर्शकहरु आउने गरेको पाइएको छ । इलाम नगरपालिका–११ सोयाकका बुद्ध लिम्बू हरेक वर्ष फुटवल हेर्नकै लागि झापा आउँछन् । रंगशालामा भेटिएका उनी तीन वर्षदेखि झापा गोल्डकप हेरिरहेको बताउँछन् । उनी भन्छन्– ‘ग्राउण्ड उत्कृष्ट भए पनि प्यारापिट निर्माणमा भने आयोजकले वर्षैपिच्छे अनावश्यक खर्च गरिरहेको देखियो ।’
स्थायी प्यारापिट निर्माण भएमा दर्शकलाई खेल हेर्न सुविधा हुने थियो भने आयोजकको वर्षेनिको खर्चपनि कम हुने उनी बताउँछन् । उनी भन्छन्–‘ प्यारापिट निर्माण लगायत अनावश्यक रुपमा गरिने खर्च घटाउँदै टिकटलाई एकरुपता दिए खेल हेर्ने दर्शकको भीड अझ बढ्ने थियो ।’
बिर्तामोड–१०का रामदर्शन गुरुङ फुटवलका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनमा एशियन गेम खेलेको अनुभव छ । पुरानो खेलको अनुभव सुनाउँदै उनी भन्छन्– ‘यस्तो खेल झापामा हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ, एशियन गेम खेल्दा आफ्नै देशमा यत्तिको खेल मैदान भइदिएहुन्थ्यो झैं लाग्थ्यो तर आफ्नै ठाउँमा खेल मैदान बन्यो, खेलाडी उत्पादन भए, अन्तर्राष्ट्रिय खेलकुद सञ्चालन हुनु आफैंमा गर्वको विषय हो ।
उनले खेलकुद क्षेत्रलाई राजनीतिबाट टाढा राख्नु पर्ने सुझाव दिँदै भने– ‘प्रतिभावान खेलाडी नेपालमा प्रशस्त छन् तर, ट्याग लागेर खेल क्षेत्रमा छिरेकाहरुका कारण नेपाली फुटबलले सोचे जस्तो सफलता पाउन सकेको छैन ।’ उनले झापा गोल्डकपलाई पनि राजनीति रंगको भेदबाट टाढा राख्न सुझाव दिँदै यस खाले प्रतियोगिताले निरन्तरता पाउनुपर्ने बताए ।

राजधानी बाहिर पहिलोपटक ई–टिकट

प्रविधिको विकाससँगै खेल क्षेत्रलाई थप ब्यवस्थित र मर्यादित बनाउन राजधानी बाहिर पहिलोपटक झापा गोल्डकपमा ई–सेवाको ब्यवस्था गरिएको छ । अब, दर्शकहरुले घरमै बसीबसी ई–सेवाको एप्स वा बेवसाइटमार्फत कुन दिनको खेल हेर्ने हो अग्रिम टिकट बुकिङ गर्न सकिने मूल आयोजक समितिका सदस्य सञ्जीव घिमिरेले बताए । उनले भने– मोबाइलमा ई–सेवा एक्टिभ गरेर बैंक एकाउण्टमार्फत शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ, यसले लाइन लागेर टिकट काट्नुपर्ने झञ्झटबाट आम दर्शकलाई मुक्ति मिलेको छ ।
ई–सेवामार्फत टिकट काटेका दर्शकहरुलाई बारकोट रिडरमार्फत टिकज जाँच गर्दै खेल मैदानमा प्रवेश गराउने व्यवस्था गरिएको घिमिरेले बताए । बारकोट रिडर चारवटा राखिएको र दुई स्थानबाट दर्शकलाई खेल मैदान प्रवेश गराइएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit