विर्तामोड, झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच खाद्य स्वच्छता सम्बन्धी जनप्रतिनिधिलाई जानकारी गराइएको छ ।
विर्तामोड नगरपालिका वडा नं. ४ र ५का जनप्रतिनिधि तथा विर्तामोडका व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरत गिरीले तरकारीजन्य पदार्थमा विषादि प्रयोग र उपभोग्य अवधि, सरसफाई, फोहोर व्यवस्थापन नहुँदा स्वास्थ्यमा आउने समस्या, खाद्य पदार्थ उपयोगमा सावधानी नअपनाउँदा मानव जीवनमा पर्ने असर, विषादिका प्रकार, जीवनाशक विषादिको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए । 
त्यस्तै पशु स्वास्थ्य प्राविधिक सानुमाया श्रेष्ठले बजारमा भइरहेको मासु पसलको अवस्था, त्यहाँ मासु प्रयोजनका लागि ल्याइने पशुपन्छी, उपभोक्ताको सचेतनाको अवस्था लगायतका विषयमा सहजीकरण गर्दै धेरै विषयमा उपभोक्ता जानकार भए पनि व्यवहारमा प्रयोग नगर्ने गरेको बताउनुभयो ।
जानकारीपछि वडास्तरिय खाद्य स्वच्छता सम्बन्धी समूह गठन गरिएको छ ।
वडा नं. ४ मा गठित समितिमा वडाध्यक्ष कुलप्रसाद संग्रौला संयोजक रहेको नौ सदस्यीय समितिमा कविता डाँगी, निर्मला सुनार, गंगाप्रसाद प्रसाई, राहुलकुमार शर्मा, उमेश डालमिया, कुमार भट्टराई, राजकुमार साह र निरज सिटौला रहनुभएको छ ।
त्यस्तै राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा गठित वडा नं. ५को समितिमा भगिरथा आचार्य, लक्ष्मीप्रसाद बास्कोटा, डि.आर. कडरिया, हर्कमाया विक, सुरेन राजवंशी, नारायण चिमरिया, इन्दिरा श्रेष्ठ लगायत रहनुभएको छ । वडास्तरिय समितिको सदस्य सचिवमा वडा सचिव स्वतः सदस्य सचिव रहने प्रावधान रहेको बताइएको छ ।
विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य तथा डिभिजन कार्यालयका प्रमुख भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तुत कार्यक्रममाथि विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्रले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विर्तामोड नगरपालिका वडा नं. ४का अध्यक्ष कुलप्रसाद संग्रौला, वडा नं. ५का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सुवास खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयकी सहजकर्ता सचिव सावित्रा दाहालले गर्नुभएको थियो ।

















