२०८२ चैत्र ९ सोमबार
Search
Close this search box.

काँकरभिट्टा–लौकही सडकखण्ड : झापामा सुस्त, मोरङमा कालोपत्रे

झापा ।पूर्वपश्चिम महेन्द्र राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड निर्माणाधीन छ । एशियाली विकास बैँकको सहयोगमा निर्माणाधीन सडकलाई पाँच खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ ।
एडीवीको ८४ दशमलब १ प्रतिशत र नेपाल सरकारको १५ दशमलब ९ प्रतिशत लगानीमा निर्माण शुरु भएको राजमार्ग विभिन्न चरणमा ठेग्गा लागेपनि पहिलो खण्डको निर्माण कार्यमा २ सय दिन ढिलाइ भएको छ । पहिलो खण्ड झापामा पर्छ । काँकरभिट्टा–केर्खा सडक खण्ड ४५ किलोमिटर पहिलो खण्ड हो ।


यही सडक खण्ड निर्माणका क्रममा दुई सय दिन ढिलाइ हुँदा उता दोस्रो खण्डको लक्ष्मीमार्गमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने थप डेढ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । यो सडक खण्ड मोरङमा पर्छ । निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा– लौकही सडक अन्तर्गत पहिलो खण्ड भन्दा दोस्रो खण्डमा बढी भौतिक प्रगति भएको छ । यता तेस्रो खण्डको काम भने १३ प्रतिशत मात्र हुँदैछ ।

 

सडक क्षेत्रका घर टहरा नहटाइदिँदा तेस्रो खण्डको काम अघि बढ्न नसकेको काँकरभिट्टा लौकही सडक योजनाको कार्यालयले जनाएको छ । यता दोस्रो खण्डमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा लगभग १८ किलोमिटर जङ्गल क्षेत्र पर्छ । ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको यो सडकखण्डमा सबैभन्दा बढी काम भएको काँकरभिट्टा–लौकही सडक योजना (पश्चिमखण्ड)का कार्यालय प्रमुख जगत प्रजापतीले बताए । उनका अनुसार कम विवाद र समयमा नै साइट क्लियर भएकोले यो खण्डमा २५ प्रतिशत भौतिक र २१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

 

२०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गते काम शुरु भएको यस योजनाको तेस्रो खण्डको काम १३ प्रतिशत मात्र सम्पन्न भएको छ । घना आवास क्षेत्र र इटहरी उपमहानगरपालिका क्षेत्र रहेको यसखण्डको काम सबैभन्दा सुस्त गतिमा अघि बढेको छ । मोरङको गोठगाउँबाट इटहरी उपमहानगरपालिकाको लविपुरसम्मको १० दशमलव ७६ किलोमिटर यो खण्ड चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लागेको हो । यस क्षेत्रमा इटहरीको मुख्य बजार क्षेत्र पर्छ । बजार क्षेत्रमा माटो भरेर वारपार गर्ने सडक बनाउने वा ओभर पास बनाउने भन्ने विषयमा विवाद शुरु भएपछि काम थप अनिश्चित भएको छ ।

 

तेस्रो खण्डमा चार महिना थप २ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । पश्चिमखण्ड आयोजनाका सूचना अधिकृत पल्लव श्रेष्ठका अनुसार पश्चिम खण्डमा पर्ने तीन सय मिटर लामा तीनवटा पुलहरूको पाँचौं खण्डमा अलग्गै ठेक्का लागेको छ । पूलतर्फ हालसम्म २२ प्रतिशत भौतिक र १४ दशमलव ५ प्रतिशत वित्तीय प्रगति भएको छ । पश्चिम खण्डका तीन वटा खोला रतुवा, बक्राहा र लोहन्द्रामा तीन सय मिटर लामा पुल निर्माण भइरहेका छन् । पुल निर्माणको काम पूर्वी खण्ड कै निर्माण कम्पनीले गरिरहेको सूचना अधिकृत श्रेष्ठले बताए । उनका अनुसार तीन वटा पुल ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँमा ठेक्का लागेको छ । पूर्वी खण्डमा पुल निर्माणको काम कोभेक–सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् भने सडक इभरस्कोन–कालिका जेभीले निर्माण गरिरहेका छन् ।

पश्चिम खण्डको सडकको दुबै प्याकेजको काम सिआरएफजी–तुङ्दी जेभीले गरिरहेका छन् । मुख्य शहरी क्षेत्रमा ५० मिटरको सडक बन्ने भएकोले ति क्षेत्रमा रहेका घर टहराका बरण्डा, रेलिङ लगायत हटाउन (साइट क्लियरेन्स) बाँकी रहेको छ । टहरा हटाउन जेठ २२ गते जिल्ला प्रशासन कार्यालय मोरङले १५ दिने सार्वजनिक सूचना निकाले पनि हालसम्म कसैले टहरा हटाएका छैनन् । १२४ घरधनीका आंशिक रूपमा घरमा क्षति पुग्ने देखिएको छ । तर घरधनी, नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र सडक आयोजनाबीच हालसम्म के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

यता इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले एसियाली विकास बैँकको सहयोगमा निर्माणाधीन देशको गौरवको आयोजनालाई यो वा त्यो बहानामा रोक्न नमिल्ने बताए । उनले केही दिनयता सडक क्षेत्रमा परेका संरचना हटाउने काम शुरु भइसकेको बताए । केही उपभोक्ताले केही समय माग्नुभएको छ । ढिलो हुनसक्ला तर, यही कारणले निर्माणको काम नरोकिने उनको भनाइ छ । उनका अनुसार माटो भरेर सडक बनाउने गरी डीपीआर पास भइसकेकोले त्यसलाई सुधार गर्न प्रयत्न भइरहेको छ । मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइ सकिएको बताउँदै उनले ओभरपास सडक नगरवासीको माग भए पनि डीपीआर परिवर्तन गर्न सकिने नसकिने टुङ्गो नलागेको जानकारी दिए ।
काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गतका सबै प्याकेजको काम २०८३ कात्तिकमा सम्पन्न गर्नुपर्ने छ । काँकरभिट्टा–लौकही सडक आयोजनाले समयमा बिद्युत पोल नहटाइएका कारण पनि सडक निर्माणको काम सन्तोष जनक रुपमा गर्न नसकिएको आयोजना पूर्वी खण्ड प्रमुख सुनिलबाबु पन्तले बताएका छन् ।

पहिलो खण्डमा १० अर्ब ६ करोड रुपैयाँको लागतमा सडक निर्माणाधीन रहेको छ भने ५ अरव ९७ करोडको लागतमा तीन वटा ठूला पुल निर्माणाधीन छन् । निन्दा, बिरीङ र कन्काई पुलका लागि मात्रै ५ अर्व ९७ करोड रुपैयाँ बजेट छुट्टिएको छ । पुल निर्माणको काम १८ दशमलव ११ प्रतिशत सकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit