२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

नेपालमा भित्रियो कोरोना, सात जना संक्रमित फेला

झापा । पछिल्लो समय भारत र चीन लगायत एशियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा सातजना संक्रमित भएका छन् ।

तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर, थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए । ‘बिरामीहरूलाई निगरानीमै राखेका छौं ।

सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको छ’– उनले भने । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले बताए । ‘तत्काल महामारी नै फैलिने गरी बढ्ने सम्भावना त छैन । तर, मास्क लगाउने, भीडभाडमा नजाने, सावुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी छ’– उनले भने । अहिले भारत लगायतका देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट डब्लुएचओले पठाएको छ । ‘हाम्रोमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०–४० वटा केश आए फ्रिक्वाइन्सी गर्ने भन्ने कुरा थियो । तर, अहिले जनमानसमा त्रास फैलिएकाले थोरै केश भए पनि फ्रिक्वाइन्सी गर्ने विषयमा छलफल भइरहेको छ’– झाले भने । अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit