२०८३ असार १० बुधबार
Search
Close this search box.

झापाका ८९१९ घर उच्च जोखिममा

झापा । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष औसतभन्दा बढी पानी पर्ने आँकलन गरे पनि झापाका पालिकाहरूले पूर्व तयारीमा खासै चासो नदेखाएको पाइएको छ ।


पूर्वानुमान अनुसार झापा जिल्ला बाढीको उच्च जोखिममा पर्छ । बाढीका कारण जिल्लाका ८ हजार ९ सय १९ घरधुरी अति जोखिममा रहेतापनि स्थानीय सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नबनाएकोले तत्काल त्यसतर्फ ध्यान दिन जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको सर्वपक्षीय बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

बिरीङ, कनकाई, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमल लगायतका नदीहरूका कारण जिल्लाका दक्षिणी भेगका चार पालिका उच्च जोखिममा रहेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । उच्च जोखिममा रहेका पालिकाहरू गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी रहेका छन् । अन्य पालिकाहरू मध्य जोखिममा रहेको उनको भनाइ छ । कनकाई नदीमा पानीको लेबल ३.८ भयो भने सचेतना लेबल र ४.३ भयो भने त्यसलाई खतराको लेबल भनिन्छ । ‘४.३ पानीको लेबल हुने बित्तिकै जिल्लाका करिब ९ हजार घरधुरी विस्थापित हुन्छन्’– उनले भने– ‘घरभित्र पानी पसेर डुबानमा पर्ने समस्या त छँदैछ ।’

जिल्लाका विभिन्न क्षेत्र भएर बग्ने कनकाई, विरीङ र निन्दा नदीमा बाढी मापन केन्द्र र जिल्लाका ९ स्थानमा बर्षामापन केन्द्र रहेका छन् । यी सबै मापन केन्द्रहरू यही जेठ १५ गतेदेखि एक्टिभ हुन्छ । जिल्लामा १२५ जना रेडक्रस स्वयम्सेवकहरु रहेको जानकारी गराउँदै उनले भने– ‘बाढी पश्चात् चाहिने आवश्यक सामग्रीहरू भण्डारणका लागि माईवारि र पारि गरी दुई स्थानमा कन्टेनर राखिसकेका छौँ ।’ राखिएको कन्टेनरमा थप विपद्जन्य आवश्यक सामग्री उपलब्ध गराइदिन उनले जिल्लाका सबै पालिकाहरूलाई अनुरोध समेत गरेका छन् ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने र त्यसबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । तर, जिल्लामा त्यस्तो पूर्व तयारी सोचे अनुसार नभएको सभापति ढकालको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ दफा ११ (न) विपद् व्यवस्थापन राखिए पनि पालिकाहरूले यस शीर्षकमा बर्षेनि बजेट नै छुट्याएका हुँदैनन् । ‘जिल्लाका १३१ वडा कार्यालयहरूमा गएर हेर्दा पनि हुन्छ विपदमा चाहिने आवश्यक सामग्री नै छैन’– उनले थपे । बाढी पछिको विपद्जन्य घटनाबाट जनतालाई बचाउन अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै मौसम विज्ञान फिल्ड कार्यालय झापाका सुमनराज भट्टराईका अनुसार जिल्लामा पनि यस वर्ष औसत भन्दा बढी पानी पर्नेछ । उनका अनुसार मार्च महिनामा विगत १० वर्षको औसतमा कम पानी परेको थियो भने अप्रिलमा विगत १० वर्षभन्दा औसतमा बढी पानी परेको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरू समेत गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit