झापा, बाह्रदशी ६ स्थित सुकुम्वासी बस्तीमा ३० वर्ष अघि देखि देखिएको सिमा विवाद गाउँपालिकाले मिलाएको छ ।
गाउँपालिकाको न्यायिक सतिमिले विवाद मिलाउँदै दुवै पक्षलाई न्यान दिलाएको हो । स्थानीय टंक न्योपानेले आफ्नो ऐलेनी जग्गामा भीम कुमारी तामाङ लगायका व्यक्तिले सिमा मिचेको आरोपमा विगत ३० वर्षदेखि विवाद देखिएको थियो । तर गाउँपालिकाको न्यायिक समितिले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को (२)ले दिएको अधिकार प्रयोग गर्दै विवाद समाधान गरेको न्यायिक समिति सदस्य युवराज ढकालले जानकारी दिनुभयो ।
लामो समयदेखि देखिएको विवाद नमिलेपछि तामाङ सहित १० घरले गाउँपालिकामा निवेदन दिएका थिए । निवेदन उपर गाउँपालिकाले दुवै पक्षलाई राखेर तेस्रो प्रयासमा गाउँपालिकाले विवाद समाधान गरेको हो । गाउँपालिकाले दुवै पक्षलाई मिलाउन स्थलगत रुपमा जमिन नाप जाँच गरी सम्वन्धित दुवै पक्षलाई मिलाएको हो ।
वाह्रदशी ५ स्थित साविक चकचकी गाविस नजिकै नातामा सालो र भिनाजु बीचमा देखिएको विवाद समेत गाउँपालिकाले समाधान गरेको छ । माइतीले दिएको जमिनमा जहुर आलमले घर बनाएर स्थायी बसोवास गर्दै आएको अवस्थामा श्रीमतीको निधन पछि सालो फैजन आलमले घर र जमिन खाली गर्न भन्दै तागेता दिएपछि उनीहर बीचमा विवाद देखिएको थियो । लामो समयदेखि देखिएको विवाद गाउँ समाज हुँदे अन्तत गाउँपालिका आई पुगेको थियो । गाउँपालिकाले दुवै पक्षलाई राखेर दोस्रो छलफलमा मिलापत्र गराएको हो । यो विवाद उनीहरु बीचमा १२ वर्षदेखि देखिएको थियो । तर गाउँपालिकाको न्यायिक समितिले दुई सिटिङमा विवाद समाधान गरेको गाउँपालिकाका न्यायिक समिति सदस्य गंगाराम धितालले जानकारी दिनुभयो । श्रीमतीको निधन पछि जहुरले दोस्रो विवाह गरेका थिए । उनले विवाह गरेसंगै विवाद शुरु भएको थियो ।
गाउँपालिकाको न्यायिक समितिले मिलापत्र गराएका मुद्दा मध्ये यि मुद्दा प्रतिनिधि मात्रै हुन् । यस्ता धेरै मुद्दा गाउँपालिकाको न्यायिक समितिले मिलापत्र गराएको छ । वाह्रदशी गाउँपालिका ५ मा कुखुराको मासु खाएकै निहुँमा लामो समयदेखि परिवार भित्र देखिएको वेमेललाई समेत गाउँपालिकाले समाधान गरेको छ । घर , गाउँ , टोला र वडाले समेत मिलाउन नसककेको विवाद गाउँपालिकाको न्यायिक समितिले मिलाएको हो ।
वैदेशिक रोजगारीमा कोरिया रहेका बेला प्रेममा परेका उनीहरले नेपाल आएर विवाह गरेका थिए । तर, नव दुलही (वुहारी)ले कुखुराको मासु खाएको निहुँदा परिवारमा देखिएको विवाद गाउँपालिकाले सुल्झाएको हो । यो विवाद स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को (२) ले दिएको अधिकार प्रयोग गर्दै विवाद समाधान गरेको थियो ।
वुवा छोरा बीचको अंश मुद्दा पनि पालिकामा
न्यायिक समितिमा पर्ने गरेका मुद्दा मध्ये धेरै मुद्दा जग्गा विवाद, सिमाना किचलो र पारिवारिक वेमेल रहेका छन् । त्यस मध्ये वाह्रदशी ३ राधानगरमा शिवप्रसादले आफ्नो जेठो छोरा हिरालालाई कम अंश दिएको विषमा विवाद शुर भएको थियो । सो विवाद वढ्दै गएपछि गाउँपालिकाको न्यायिक समितिसम्म आई पुगेको हो । दुई श्रीमती मध्ये कान्छी श्रीमतीका सन्तानलाई मात्रै धेरै अंश दिएको विवादलाई गाउँपालिकाले मिलाएको छ ।
छुट्न लागेको सम्बन्धलाई जोड्यो पालिकाले
श्रीमान श्रीमतीका बेमेलका धेरै मुद्दा न्यायिक समितिमा आउने गरेका छन् । त्यस मध्ये सम्वन्ध विच्छेद हुने अवस्थामा पुगेका धेरै विवादलाई सुल्झाएर गाउँपालिकाले उनीहर बीचमा सम्वन्ध थप सुमधुर बनाउने गरेको छ । श्रीमान श्रीमतीबीचमा देखिएको तिक्ततालाई गहिरो अध्ययन गर्दै समस्याको जड पत्ता लगाएर त्यस्ता मुद्दा मिलाउँदै आएको न्यायिक समितिले जनाएको छ ।
चालू आर्थिक वर्षमा २८ वटा मुद्दा किनारा लागे
गाउँपालिकाको न्यायिक समितिमा परेका मुद्दा मध्ये चालू आर्थिक वर्षको १० महिनामा न्यायिक समितिले २८ वटा मुद्दाको विवाद समाधान गरेको छ ।
न्यायिक समितिमा परेका कुल मुद्दा ४८ वटा विभिन्न विषयका मुद्दा दर्ता भएका थिए । त्यस मध्ये मेलमिलाप केन्द्रमा ७ वटा मुद्दा पठाइएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले बताउनुभयो । गाउँपालिकको मेलमिलाप केन्द्रमा परेका उजुरी मध्ये ११ वटा मुद्दाको छलफल हुँन वाँकी रहेको संयोजक खरेलले बताउनुभयो ।
गाउँपालिकमा रहेको न्यायिक समितिमा संयोजक खरेल सहित सदस्यमा गंगाराम धिताल र युवराज ढकाल रहनु भएको छ ।
गाउँपालिकामा परेका मुद्दा मध्ये क्षेत्राधिकार बाहिरका केही मुद्दालाई मात्र अदालत जान सल्लाह दिने दिने गरेको उपाध्यक्ष खरेलले बताउनुभयो । जिल्ला अदालत झापाको टोलीले केही समय अघि गरेको अनुगमनका क्रममा न्यायिक समितले गरेका कामको उच्च प्रशंसा गरेको थियो । मुद्दा मिलाउने तरिक, दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने तरिका र अफिसियल खातापाता राख्ने तोल तरिकाको समेत सो टोलीले तारिफ गरेको थियो । विशेष गरी गाउँपालिकामा विवाद समाधानका लागि गरिने छलफलको प्रशंसा भएको बताइएको छ ।
गाउँपालिकाको न्यायिक समितिले गाउँमा जटिल बन्दै गएका मुद्दालाई समेत सहज रुपका किनारा लगाउन थालेसंगै पालिकामा मुद्दाको चाप वढेको छ । पछिल्लो समय पालिकामा आउने मुद्धाका कारण अन्य काम गर्न भ्याई नभ्याई हुने गरेको न्यायिक समिति संयोजक खरेलले बताउनुभयो ।

















