२०८३ असार १० बुधबार
Search
Close this search box.

जलथल वनस् विविधतामा धनी, सकारी निकायको वेवास्ता

झापा, भौगोलिक, पर्यावरणीय र जैविक विविधताका दृष्टिकोणले समेत विशेष महत्व राख्ने ‘जलथल वन’को छुट्टै विशेषता छ ।

‘जलथल चारकोशे वन’का नामले परिचित यो वन नेपालकै होचो भू–भागमा अवस्थित छ । पूर्बी नेपाल झापाको दक्षिण पूर्बी भागमा अवस्थित यो वन भद्रपुर नगरपालिकासहित हल्दिवारी, बाह्रदशी र कचनकवल गाउँपालिकामा फैलिएको छ । घना बस्ती र कृषि भूमिको बीचमा रहेको यो वन करिव ६ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

जैविक विविधताको दृष्टिकोणले धनी मानिएको यो वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रुखहरु पाइन्छन् । जसका कारण यो वनलाई रुखहरुको राजधानी भनेर सम्बोधन गर्ने गरिन्छ । नेपालमा सूचिकृत भएका रुखहरुका प्रजातिहरु ५ सय ९८ मध्ये जलथल वनमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रुखहरु पाइएको एक अध्ययनले देखाएको छ । जसमा ५० प्रजातिका रुखहरु दुर्लभ मानिन्छन् ।

नेपालमा रहेका वनमा नभेटिएका ९अभिलेख नभएका ० २० प्रजातिका रुखहरु यो वनमा पाइएको वन श्रोत अध्ययन तथा कार्य समूह ९फरेष्ट एक्सन० नेपालले हालै सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उष्ण र उपोष्ण दुबै खालका हावापानीमा पाइने वनस्पति यो वनमा भेटिएकाले जलथल वनको विशेषता छुट्टै रहेको वन श्रोत अध्ययन तथा कार्य समूह ९फरेष्ट एक्सन० नेपालका स्रोतकर्ता लीलानाथ शर्माले बताए ।

समुद्र सतहदेखि ७०–११० मिटरको उचाइमा फैलिएको यो वनको लम्बाइ करिब १० दशमलव ५ किलोमिटर र चौडाइ ५ दशमलब ५ किलोमिटर रहेको छ । यो वनमा स–साना खोलाखोल्सी, सिमसार, पोखरी, केही उच्च र सुक्खा भू–भाग, खोला तट, खुल्ला चौर र विभिन्न अवस्थाका बोटविरुवाका कारणले पनि यो वनमा पारिस्थितिक प्रणालीको विविधतायुक्त पाइएको छ –स्रोतकर्ता शर्माले भने ।

यो वनको आधा हिस्सा ९३ हजार हेक्टर० जति क्षेत्रफल सालका रुखले ओगटेको छ । ९ सय हेक्टर जति क्षेत्रफलमा मिश्रित रुखहरु रहेको, करिव ७ सय हेक्टर जति क्षेत्रफलमा बिग्रिएको वन ९नसप्रिएको जंगल० र ४ सय हेक्टर जति क्षेत्रफल बुट्यान तथा झाडीले ओगटेको फरेष्ट एक्सन नेपालका स्रोतकर्ता शर्माको भनाइ छ ।

यो वनमा रहेका रुखहरु मध्ये साल यो वनको मुख्य प्रजाति हो । यो वनको संरचनामा वनस्पतिका चार तह देख्न सकिन्छ । सबैभन्दा माथिल्लो तहमा साल, बोटधँयेरो, लटहर, करम र साज जस्ता ठूला रुखहरु छन् । दोस्रो तहमा छाँयामा हुर्कने सिन्दुरे कुम्भी, कालीकाठ, टाँटरी, बोहोरी जस्ता प्रजाति छन् । त्यस्तै तेस्रो तहमा बुट्यान प्रजातिका विरुवा ९गलेनी, अररी, काँडा, मैदल र तिते ९चुवा० आदि० प्रजातिका रुखहरु पाइन्छ भने चौथो तहमा विभिन्न प्रकारका झरपात र घाँसहरु पाइने गरेको शर्माको भनाइ छ ।

नेपालको मध्य र पश्चिमी भेगमा नपाइने वनस्पति लटहर यहाँ पाइने हुँदा यो वन विशिष्ठ खालको मान्न सकिने शर्मा बताउँछन् । यो वनमा दुई वटा मात्र लटहरका रुख छन् । तर, छरिएको अवस्थामा लटहर रहेकाले यसलाई वन नै भन्न मिल्ने अवस्था छ –शर्माले भने – लटहर दक्षिण पूर्वी एशिया ९भूटान, भारत, वंगलादेश, दक्षिण चीन,लाओस, म्यानमार, कम्वोडिया, भियतनाम, थाइल्याण्ड मलेसिया० सम्म फैलिएको यो प्रजाति नेपालको पश्चिमी भागमा पाइँदैन । अझ कोशी नदी पश्चिम यो प्रजातिको रुख नपाइने हुँदा सम्भवतः नेपालमा जलथल वाहेक अन्यत्र रहेका बनमा यो प्रजातिको रुख छैन । नेपालमा नै सबैभन्दा ठूलो लटहर हुने बन जलथल नै रहेको शर्माको दावी छ ।

जलथल वनको महत्व दर्साउने अर्को वनस्पति हो मधु । स्रोतकर्ता शर्माले भने – मधु थाइल्याण्डदेखि पश्चिम आउँदा जलथलमा आएर रोकिन्छ । इलाममा मात्र भेटिएको यो प्रजातिको रुख जलथलको जंगलमा बाहेक नेपालका अन्य जिल्लामा रहेका वनमा यसको प्रजाति भेटिँदैन ।

त्यस्तै स्थानीयवासीले थाकल भन्ने साइकस प्रजातिको वनस्पति जलथल वन बाहेक अन्य वनमा भेटिँदैन । त्यस्तै सुपारी–नरिवल वर्गमा पर्ने हिमालयन पिनांगा भन्ने वनस्पति पनि जलथल बाहेक अन्यत्र अभिलेखीकरण नगरिएको शर्माको दावी छ । चुरे र मध्य पहाडमा पाइने बनस्पतिका रुपमा चिनिने ढाल्ने कटुस, मौवा, औंले कटुस, लाटीवैरी, गान्टे एवम् पाँचपाते जस्ता वनस्पतिले जलथल वनमा रहेका रुखहरुको प्रजातिलाई समिश्रण गरेको शर्मा बताउँछन् ।

विभिन्न प्रजातिका रुखहरुको समिश्रणका कारण नेपालका अन्य वन भन्दा जलथलको वन भारतको पश्चिम वंगाल आसामसँंग बढी मिल्ने हुँदा यसलाई अन्य वनभन्दा पृथक मान्न सकिने शर्माको दावी छ । जलथलको वन पूर्वी एशियासँंग मिल्दोजुल्दो रहेकाले पनि यो वनको विशेषता पृथक रहेको बताइन्छ ।

जलथल वन वनस्पतिका कारण मात्र नभई चराचुरुङ्गी र वन्यजन्तुका कारण पनि महत्वपूर्ण वनका रुपमा हेरिएको छ । यो वनमा २ सय ३० प्रजातिका चराचुरुङ्गी, २८ प्रजातिका स्तनधारी, ३२ प्रजातिका सरिसृप र १४ प्रजातिका उभयचरको वासस्थान रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो वन क्षेत्रभित्र रहेका झिल, खाडी, खोलाखोल्सीमा गरिएको सर्वेक्षणमा यहाँ ४३ प्रजातिका माछा भेटिएका छन् – फरेष्ट एक्सनको प्रतिवेदनमा भनिएको छ । यो वनमा १ सय ५७ प्रजातिका पुतली भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

यो वनमा विश्व संरक्षण संघ ९आइयूसीएन्० को रातो सूचीमा परेको हात्ती९संकटापन्न० लाम्चे कछ्ुवा , सालक ९अति संकटापन्न० जस्ता वन्यजन्तु पाइएकाले पनि जलथल वनको महत्व अति नै रहेको छ । यहाँ नेपालको कालो गरुड र सुन गोहोरो जस्ता संरक्षित बन्यजन्तु पनि रहेका छन् । अजिङ्गरको वासस्थान, नेपालबाट लोप भएको अनुमान गरिएको मुसे मृग समेत यो वनमा पाइने गरिएको छ ।

जनावार मात्र होइन वनस्पतिमा संकटापन्न र संरक्षित प्रजातिहरु यही वनमा भेटिएको प्रतिवेदनमा उल्लेख छ । विश्व संरक्षण संघको समेत रातो सूचीमा रहेको स्थानीय भाषामा थाक भनिने रुख र सतिसाल यो वनमा पाइने बताइएको छ ।

त्यस्तै अनौं काठ ९भाटे काठ० संकटापन्न सूचिमा रहेको र यो प्रजाति तराईमा पाइने एउटा मात्र संकटापन्न रुख हो । जुन रुख यो वनमा पाइने गरेको फरेष्ट एक्सन नेपालले प्रकाशन गरेको हाम्रो वन सम्पदा जलथल विशेषाङ्कमा उल्लेख छ ।

जलथल वनमा ४७ प्रजातिका जंगली फलफूल ९लटर, वन सुपारी, वन सन्तोला, कुसुम, जमुना, क्यामुना, फडिर, अर्चल खन्यू, अमारो आदि० पाइने गरेको छ । त्यस्तै १७ प्रकारको सागपात ९निगुरो, मरङ्गे, कुकुरदाहिने, जिव्रीसाग, मुजुरखुट्टे, थाकल आदि० पाइने गरेको छ । त्यसैगरी ३५ प्रकारका जडिवुटीहरुमा हर्रो, बर्रो, अमला, कुरिलो, सर्पगन्धा, अर्चल, पिप्ला, मधु पाइने गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो वनमा ५ प्रकारका कन्दमुल, ३५ प्रकारका काठ, ६८ प्रजातिको डालेघाँस, ८० प्रकारका च्याउ, ६ प्रजातिका रेसादार, धर्म संस्कृतिसँंग सम्वन्धित १४ प्रकारका वनस्पति जस्तै पारिजात, बर, पीपल, काप्रो, टोटेलो पाइने गरेको छ ।

जलथल वन क्षेत्रभित्र २२ वटा सामुदायिक वन रहेका छन् । जसले यो वनको समुदायस्तरबाट रेखदेख र संरक्षण गर्दै आएका छन् । यो वनमा झापा र मोरङमा मात्रै देखिएको घोप्टे काँडा र उल्टा काँडा भनिने मिचाह प्रजातिले यो वनलाई प्रभावित पारेको फरेष्ट एक्सन नेपालकी मुना भट्टराईले जानकारी दिइन् ।

सन् २०१० मा अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयूसीइन० ले प्रकाशित गरेको जानकारी अनुसार यो वनमा थाकल पाइन्छ । जुन थाकल नेपाल, भारत, वंगलादेश, कम्वोडिया, दक्षिण मध्य चीन र दक्षिण पूर्वी एशियामा समुद्री सतहबाट ६००–१३०० मिटर भौगोलिक उचाइमा पाइने गरेको छ । त्यस्तै साइथिया स्पिनोसा रुख उन्यूको एक प्रजाति हो जुन जलथल जंगलमा पाइने गरेको दिनेश भाजू र गिरिजाप्रसाद जोशीद्वारा लिखित ‘रेकर्ड अफ साइथिया स्पिनोसा एण्ड साइकस पेक्टिनाटा फ्रम द चुरिया हिल्स अफ इष्टन नेपाल’मा उल्लेख छ ।

परापूर्व कालदेखि चारकोशे झाडीका नामले परिचित यो जंगल कचनकवलदेखि करिव १० किलोमिटर उत्तरसम्म अवस्थित थियो । तर, पञ्चायतको पुनर्वास कार्यक्रम शुरु भएसँंगै २०२१ सालपछि वन फँडानीका कारण जलथल बन खुम्चिएको स्थानीय विन्देश्वर राजवंशीले बताए । २०२१ साल अघि पृथ्वीनगरदेखि वनियानीसम्म यो वन फैलिएको थियो ।
जलथल वन जैविक र भौगोलिक हिसावले मात्र नभई वरिपरिका वासिन्दाका लागि समेत महत्वपूर्ण छ । यो वनले पर्यावरणीय हिसावले पु¥याएको सेवा र योगदान अतुलनीय रहेको छ । मानिसका लागि वन पैदावर र जलस्रोतको उपलव्धताका कारणले पनि यो वन निक्कै महत्वपूर्ण रहेको छ ।

जैविक, भौगोलिक, पारिस्थितिक प्रणालीका हिसावले विशेष, पर्यावरणीय सेवा, स्थानीय जीविकोपार्जनका हिसावले अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि जलथल वनको उचित व्यवस्थापन हुन नसकेको मनकामना सामुदायिक वन समूहका अध्यक्ष तुलसी ढकालले बताए । वनको खण्डीकरणसँगै बढेको हात्ती मानवद्वन्द्व जलथल वनका लागि जटिल चुनौतिका रुपमा देखा परेको ढकालको भनाइ छ ।

झापामा वन क्षेत्र अत्यन्त न्यून छ । भौगोलिक दृष्टिकोणले जिल्लाको कूल क्षेत्रफलको १२ प्रतिशत अर्थात १९ हजार ५ सय हेक्टर क्षेत्रफल बनले ओगटेको छ । कूल वन क्षेत्रमध्ये नेपाल सरकारले व्यवस्थापन गरेको वन क्षेत्र ३ हजार ५ सय १६ दशमलव २१ हेक्टर रहेको छ भने ५९ वन उपभोक्ता समूहले व्यवस्थापन गरेका वनको क्षेत्रफल १५ हजार ८ सय ७० दशमलव ७३ हेक्टर रहेको सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताए । झापामा दुई वटा कवुलियत वनले ११३ दशमलव शून्य ६ प्रतिशत भूभाग ओगटेको अध्यक्ष भण्डारीको भनाइछ ।

चारकोशे वन नेपाल–भारतको दशगजा सीमा नजिकै रहेको हुँदा भारतीय नागरिकको समेत वन चोरी पैठारीमा सम्लग्नता रहने गरेकाले २०५४ सालमा सामुदायिक वन उपभोक्ता महासंघको पहलमा २२ वटा सामुदायिक वन उपभोक्ता समिति गठन गरी वन संरक्षणको सुरुवात भएको सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौडेलले बताए ।

जलथल वन जैविक विविधताले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । यो वनको क्षेत्रभित्र किचकवध, कमलधाप वहुधार्मिक क्षेत्र, दूधकन्यादेवी मन्दिर,स्वर्गद्वारी शिवालय÷किरात माङ्मि, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, लक्ष्मीथान मन्दिर, साकेला जस्ता धार्मिक महत्व बोकेका क्षेत्र रहेको स्थानीय अगुवा देवीका अधिकारीले बताइन् ।
झण्डै एक लाख मानिसले प्रत्यक्ष उपभोग गर्ने यो वनमा हिँउदको समयमा दैनिक २ हजारभन्दा बढी मानिस विभिन्न कामले बन छिर्ने गर्छन् । घाँस, दाउरा, काठ, खाद्य, कन्दमूल लिनका लागि दक्षिण क्षेत्रका स्थानीय यो वनमा छिर्ने गरेका छन् ।

नेपालका मात्र नभई दक्षिण एशियाकै दुर्लभ वनस्पति पाइने जलथल चारकोशे वनमा सरकारले ध्यान नदिँदा यसको संरक्षणमा समस्या देखिएको छ ।
राज्यले संरक्षण गरेर बनको विविधताका वारेमा जानकारी गराउँदै खोज र अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुको सट्टा सरकारी निकायको वेवास्ताका कारण वन विनासको वाटोतर्फ लागेको स्थानीयको भनाइ छ ।

चोरी र तस्करीका कारण वन क्षेत्रमा पाइने दुर्लभ वनस्पति तथा वन्यजन्तु लोप हुने खतरा रहेको वन क्षेत्रमा कार्यरत अनुसन्धानकर्ताहरुको भनाइ छ । वन संरक्षणका लागि स्थानीय तहसँंगै संघीय सरकारले निश्चित वजेट विनियोजन गरेर संरक्षण र प्रचारप्रसार गरेमा वन र वन्यजन्तुको अनुसन्धानसँंगै पर्यटकीय क्षेत्रको प्रर्वद्धन हुने यस क्षेत्रमा कार्यरत श्रोतकर्ताको दावी छ ।

यता हल्दिवारी गाउँपालिकाले यो वनको महत्वका बारेमा स्थानीयमा सचेतना फैलाउन शुरु गरेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले यो वनको महत्व स्थानीयलाई बुझाउँदै वनको संरक्षणसंँगै पर्यापर्यटकीय क्षेत्रका रुपमा विकास गरेर लाने योजना अघि बढाएको बताएका छन् । तर, स्थानीय पालिकाबाट मात्रै यो सम्भव नहुने भएकाले संघीय सरकार र वन तथा वातावरणका क्षेत्रमा क्रियाशील दातृ निकायको समेत ध्यान जान जरुरी रहेको अध्यक्ष लिङ्देनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit