सुरुङ्गा , पहिलो चरणमा चिया वगानमा काम गर्ने मजदुरको निःशुल्क स्वास्थ्य विमा गरेको हल्दिवारी गाउँपालिकाले पुनः दोस्रो चरणमा विपन्न समुदायको पनि निःशुल्क स्वास्थ्य विमा शुरु गरेको छ ।
पहिलो चरणमा २ सय ९६ परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको गाउँपालिकाले दोस्रो चरणमा वडा नम्वर २ का वडा वासीको निःशुल्क स्वास्थ्य विमा शुरु गरेको गाउँपालिका उपाध्यक्ष डम्वर गिरीले जानकारी दिनुभयो । उपाध्यक्ष गिरीका अनुसार दोस्रो चरणमा द्वन्द्व पीडित, राजनीतिक बन्दीलगायत विपन्न समुदायको पहिचान गरी निःशुल्क स्वास्थ्य विमा गरिने छ ।
गाउँपालिकाले विभिन्न कारणले जेल जीवन बिताउन बाध्य कैदी वन्दीका परिवार , अपाङ्ग, राजनीतिक बन्दी र उनीहरुको परिवार, जनमुक्ति सेनाका पूर्व लडाकु, जनयुद्धका विस्थापित परिवार, द्वन्द्वपीडित, विद्यालयका बाल शिक्षक, विद्यालयका कार्यालय सहयोगी र उनीहरुका परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सुरु गरेको बताइएको छ ।
५ जनाको परिवार भए ५० हजार त्यो भन्दा माथि परिवार संख्या भए सोही अनुरुप विमा गरिने जनाइएको छ ।
मजदुरलाई बीमासंगै एम्बुलेन्स सुविधा
पहिलो चरणमा चिया मजदुर र उनका परिवारको बीमा गरेर शुरु गरिएको कार्यक्रम निक्कै प्रभावकारी भएपछि विमा गरिएका मजदुरलाई एम्बुलेन्स सुविधा पनि निःशुल्क गरिएको छ । चिया मजदुरका परिवार विरामी पर्दा हस्पिटल जान आउन वर्षमा ४ पटकसम्म एम्बुलेन्स निःशुल्क प्रयोगको सुविधा दिन शुरु गरेको गाउँपालिका उपाध्यक्ष गिरीले बताउनुभयो । –––

तपाईको प्रतिक्रिया