२०८३ असार १० बुधबार
Search
Close this search box.

लेप्चा सङ्ग्रहालय बन्ने

मङ्गलबारे, लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्य रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बनाएर नै सङ्ग्रहालय बनाउने छ । सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा आवश्यक पर्ने भएकाले जग्गा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसैक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले भारतको कालिम्पोङमा रहेको माइलल्याङ लेप्चा डेभलपमेन्ट बोर्डका पदाधिकारीसँग अन्तक्र्रिया गर्नाका साथै लेप्चा सङ्ग्रहालय र लेप्चा घरबासको अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न गरेको छ ।

गाउँपालिकाले पेश गरेको गुरूयोजना कार्यान्वयन गर्दै लैजान सङ्घीय सरकारबाट रु एक करोड ८० लाख बजेट प्राप्त भएको छ । बजेट प्राप्त भएपछि गुरूयोजना कार्यान्वयनका लागि कसरी काम गर्न सकिन्छ भनेर माइलल्याङको अध्ययन भ्रमण गरिएको गाउँपालिका अध्यक्ष शम्शेर राईले बताउनुभयो । “भारतमा लाप्चा (लेप्चे) भाषाकोे पाठ्यपुस्तक तयार भई उच्च शिक्षासम्म अध्ययन भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “त्यहीअनुसार हामीले यहाँ पनि पाठ्यक्रम तयार गर्न सक्ने रहेछौँ ।” भ्रमण टोली र बोर्डका प्रतिनिधिबीच भएको भेटका क्रममा बोर्डले गाउँपालिकालाई प्राज्ञिक र प्राविधिक सहयोग गर्ने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

नेपाल सरकारबाट प्राप्त बजेट गाउँपालिकाले रोङ गाउँपालिका–३ को जिल्बोङमा लेप्चा सङ्ग्रहालय निर्माणसहित अन्य क्षेत्रमा लेप्चा जातिको संरक्षण र प्रवद्र्धनकानिम्ति गुरूयोजनाले तोकेअनुसार खर्चिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दाहालले बताउनुभयो । नेपालमा लोपोन्मुख जातिको सूचीमा रहेको लाप्चा जातिको संरक्षणका लागि गरिएको यो पहिलो र हालसम्मको एक मात्र प्रयास भएको उहाँको जिकिर छ ।
भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष शम्शेर, सामाजिक विकास समितिका संयोजक युवराज खाप्तुवा राई, प्रमुख प्रशासकीय अधिकृत दाहाल, शिक्षा तथा खेलकूद शाखा प्रमुख राधिका घिमिरे, लाप्चा उत्थान मञ्च नेपालका केन्द्रीय अध्यक्ष वीरबहादुर लाप्चा, लाप्चा संस्कारका बारेमा जानकार व्यक्ति मनकुमार लेप्चा तथा लाप्चा भाषालिपि जानकार दावा लेप्चालगायत रहनुभएको थियो ।

गाउँपालिकाको नाम नै लाप्चा भाषाबाट राखिएकाले गाउँपालिकाले लाप्चा संस्कार संस्कृतिको संरक्षणका लागि विशेष काम गर्ने योजना बनाई कार्यान्वयनको चरणमा रहेको छ । सङ्ग्रहालयमा लेप्चा जातिले प्रयोग गर्ने विभिन्न सामग्री रहनेछन् । सङ्ग्रहालयमा लाप्चा जातिको वेशभूषा, उनीहरूले प्रयोग गर्ने गरेको सामग्री आदि रहने गाउँपालिकाले जनाएको छ ।

रोङ गाउँपालिकाका छ वटै वडामा २३४ घरधुरी लाप्चा परिवार बसोवास गर्छन् । तथ्याङ्कानुसार रोङ गाउँपालिकामा ५३७ पुरूष र ५२३ जना महिला गरी एक हजार ६० जनसङ्ख्या छ । नेपालमा रहेको लाप्चाको जनसङ्ख्याको २८.९० प्रतिशत लाप्चा यही गाउँपालिकामा बसोवास गर्ने गरेको तथ्याङ्क छ ।

वडा कार्यालयका लागि जग्गा 

रोङ गाउँपालिका–४ वडा कार्यालय निर्माणका लागि स्थानीय समाजसेवीले करीब रु २० लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गरेका छन् । साविक कोल्बुङका होमबहादुर लिम्बू र लीलाबहादुर लिम्बूले निःशुल्क जग्गा दान दिनुभएको हो । होमबहादुर लिम्बूले दुई र लीलाबहादुर लिम्बूले एक रोपनी जग्गा दान दिनुभएको वडाध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो । जग्गा गाउँपालिकाका नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
प्राप्त जग्गामा प्राविधिक टोली परिचालन गरेर जमीन सम्याउने तथा नापनक्शा तयार गरिने वडाध्यक्ष राईले बताउनुभयो । विसं २०६८ को जनगणनानुसार नेपालमा तीन हजार ४४५ लेप्चा छन् । लेप्चा जातिले बुद्ध धर्म मान्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit