इलाम, इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव २०७५’ आयोजना हुने भएको छ ।
देउमाई नगरपालिकाको नागिडाँडामा चैत्र २३ र २४ देउमाई साहित्य तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, लेखक, समालोचक तथा युवा नेताहरु साहित्यिक मन्थनको लागि इलामको मंगलबारे बजारमा रहेको नागिडाँडामा हुने महोत्सवमा सहभागि हुने आयोजकले जनाएको छ । महोत्सवमा प्रदिप गिरी, अभि सुवेदी, योगेश भट्टराई, प्रदीप पौडेल, नारायण वाग्ले, दयाहाङ राई, बिष्णु निष्ठुरी, वसन्त बस्नेत, टिकाराम यात्री, मनु मञ्जील, सिमा आभास, मुनाराज शेर्मा, लगायत प्रदेश १ का सहित्यकारहरु सहभागि हुने आयोजक संस्था ‘समाजका लागि युवा’ का अध्यक्ष मोतिराम गौतमले बताउनुभयो । २३ गते हुने उदघाटन सत्रमा त्यस क्षेत्रका सांसद तथा पूर्व सभामुख सुबासचन्द्र नेम्वाङका साथै स्थानीय सभासदहरु समेतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य सहयोगीमा देउमाई नगरपालिका, प्रदेश १ सरकार तथा प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको छ । साथै नेपाल प्रज्ञा प्रतिष्ठानसमेत सहयोगी संस्थाको रुपमा रहने बताइएको छ ।
साहित्यको उर्बरभूमिको रुपमा रहेको इलाममा पर्यटकको मन लोभ्याउने धेरै स्थान छन । विगतमा पनि थुप्रै साहित्यकारहरुले इलाम भ्रमण गर्दा इलामको प्राकृतिक सौन्दर्यताको बयान गर्दै साहित्य सिर्जना गरेको उदाहरण पाइन्छ । इलाम जिल्लाको देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा रहेको नागिडाँडामा हुने महोत्सवमा सहभागि हुने अतिथिहरुले इलामको पश्चिमी भेगको सौन्दर्यलाई नयाँ ढंगले अवलोकन गर्न सक्ने आयोजकको दावी छ ।
इलामको पश्चिमी भेग ( देउमाई क्षेत्र ) का ओझेलमा परेका क्षेत्र नागिडाँडा, गुफाथुक्की, पानीटारको सुन्दर चियावगान, गजुरमुखी, सिद्धिथुम्का, जटेश्वर महादेव, नागेश्वरी, कुहिभिर लगायत क्षेत्रको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी पर्यटकहरुलाई थप ज्ञान हासिल हुने आयोजनाको मुख्य उदेश्य रहेको बताइएको छ । स्थानीयको उल्लेख सहभागितामा यी मुख्य क्षेत्रबाट मार्चपास गर्ने कार्यक्रमसमेत रहेको छ ।
दुई दिन सम्म चल्ने महोत्सवमा साहित्य समीक्षा, सफल व्यक्तिका सर्घषका कथा, दश बर्ष पछिको देउमाई क्षेत्र, कविता वाचन, नेपाली भाषामा स्थानीय भाषाको प्रभाव, युवा र अवको नेतृत्व लगायत विषयमा छलफल आयोजकले बताएको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा विभिन्न जातजातिका झाँकीहरु समेतको प्रस्तुति रहने बताइएको छ । महोत्सवस्थलमा स्थानीय खानाको स्टल समेत राखिने आयोजकको योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया