बिर्तामोड,परिवार सुन्दर, सुखी र समृद्ध बनाउन श्रीमान् श्रीमतीको महत्वपूर्ण भूमिका हुन्छ । न त श्रीमतीबिना परिवार सफल हुन्छ ,न त श्रीमानबिना नै । घर परिवार सफल हुन्छ त केवल श्रीमान् श्रीमतीको साथ सहयोगले ।

आर्थिक उपार्जन गरी परिवार सुखी बनाउन परिवारको चाबी श्रीमतीको हातमा सुम्पदै अहिले दैनिक ठूलो संख्यामा नेपली युवा वैदेशिक रोगजारीका लागि विदेश पलायन भइरहेका छन् । कतिपयले विदेश गएर राम्रै धन आर्जन गरिरहेका छन् भने कतिपय युवा दुर्घटनामा परी अंगभङ्ग भएका छन् त कतिपयले विदेशमै अकालमा ज्यान गुमाउँदा परिवारको बिचल्नी हुने गरेको छ ।

स्वदेशमा काम पाइएन,भनेजस्तो कमाई भएन, अनि परिवार पाल्न नै धौ–धौं प¥यो भन्दै विदेशिने युवाका लागि झापा वाह्रदशी गाउँपालिका – २ जनताका कुमार कार्कीको कमाई प्रति नलोब्भिने अहिले सायदै कमै होलान् । धन कमाउनका लागि उनी न त विदेश गए न त कुनै सरकारी जागिरे नै भए । तर,उनको कमाई विदेशिको भन्दा कम छैन । पशुपति मावि राजगढमा कक्षा ८ पढ्दा – पढ्दै अभावकै कारण उनले पढाइ छाडे । घरको गर्जाे टार्नु उनको प्रमुख जिम्वेवारी थियो ।

आर्थिक अवस्था कमजोर भएकै कारण उनले पढाइ छाडेर नजिकैको लुगा सिलाउने पसलमा काम थाले । दानी झाले जनता चौकमा खोलेको कपाडा सिलाउने पसलमा उनले झण्डै एक वर्ष काम गरे । दानी झालै नै उनलाई लुगा सिलाउन सिकाए । उनैले सिकाएको त्यही सिपले अहिले कुमार कालीगढ हुँदै मालिक बनेका छन् । अरुका फाटेका लुगा सिलाउँदा सिलाउँदै यसैमा भविश्य देखेका कार्कीले अरुका फाटेका लुगा मात्र सिलाएनन् आफ्नै फाटेको भाग्य सिलाएर अहिले सबैका माझ उदाहरणीय बने ।

राजगढ बजारमा इन्द्रप्रसाद राजवंशीको पसलमा झण्डै ६ वर्षसम्म कालीगढको काम गरेका कार्कीले अहिले बिर्तामोडको धनराज मिनी मार्केटमा एभरेष्ट सटिङ सुटिङ टेलरिङ सञ्चालनमा ल्याएका छन् । जहाँ उनले १५ जनालाई रोजगारी समेत दिलाएका छन् । ‘हिजो नून भुटुन किन्ने पैसा हुँदैन थियो’ कार्कीले भने– ‘मनमा आँट र हातमा सिप भए पैसा कमाउन बरालिनु नपर्ने रहेछ ।’ १४ वर्षकै उमेरमा मेसिन समाएर फाटेका लुगा सिलाउन शुरु गरेका कार्की अहिले जिल्लाकै नाम चलेका राम्रा कालिगढ हुन् । आफैं मालिक आफैं कालिगढ पनि – यो नै कार्कीको पछिल्लो परिचय हो । उनी आफूलाई सफल कालिगढ भन्न रुचाउँछन् ।

यही पेशाले म यो ठाउँसम्म आइपुगे उनी भन्छन्– ‘फाटेको लुगामा भविश्य नखोजेको भए म आज विदेशको मरुभूमिमा पसिना बगाइरहेको हुन सक्थे।’ उनी पेशा प्रति अहिले सन्तुष्ट छन् । आफ्नो पेशामा श्रीमती मञ्जुको पूर्ण साथ छ उनी भन्छन्– श्रीमतीको प्रेरणाले नै मलाई अघि बढ्ने हौसला मिलेको छ ।’ विगतमा ४० रुपैयाँमा एक जोडी सुट सिलाएर घरको गर्जाे टारेको उनले अझैं भुलेका छैनन् । त्यो दिन सम्झदै उनी भन्छन्–‘ अभावमा ४० रुपैयाँ पनि ठूलो रकम बन्दो रहेछ , मैले शुरुमा कमाएको ४० रुपैयाँले घरमा नून तेल किन्दै आफूलाई खर्चपनि बचाएको थिए ।’

मानवहादुर र जानुका कार्कीका जेठा छोरा हुन् उनी । उनका एक भाई हेमकुमार छन् । उनी अहिले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनको कमाई भाईको भन्दा दोब्बर छ । कुमारकी दिदी गीता हुन् । उनी पनि भाईको कमाई प्रति खुशी छिन् । अभावले पढ्न नपाएको भाइले कसरी परिवार चलाउला भन्ने चिन्ता थियो गीताले भनिन्– ‘अहिले उही सवैका लागि उदाहरणीय बन्यो ।’ लुगा सिलाएकै पैसाले कार्कीले जग्गा जोडे, घर बनाए, दुई छोरी टीका र दीपालाई लिटलस्टार इंलिस स्कूलमा पढाईरहेका छन् भने २ वर्षे छोरो आयुषको पालन पोषणका लागि कुनै कमी छैन उनलाई ।

हिजो गाँस काटेर राजगढमा जोडेको चार कठ्ठा जग्गा उनका लागि अहिले लाखौं रुपैयाँको भएको छ । १५ जना स्टाफलाई तलव दिएर पनि उनले अहिले मनग्य आम्दानी गरेको देखेर उनका आफन्त मात्रै खुशी छैनन् उनको सिप प्रति सवै चकित छन् । एक पटक हेरेको डिजाइन दोस्रो पटक हेर्नु पर्दैन उनलाई । ग्राहकले जुन डिजाइनको अडर दिन्छन् त्यही डिजाइनमा उनी तयारी पोशाक दिन सक्ने भएकाले उनको सिपमा लोब्भिने धेरै छन् । कार्कीलाई सिप सिकाउने झा नै अहिले उनको सटिङ सुटिङमा कालिगढका रुपमा काम गर्छन् ।

हिजो झाले मलाई सिप सिकाउनु भयो, जान्ने बनाउनुभयो अहिले उहाँसंगै रहेर अरु थुप्रैले काम सिकिरहेका छन् अनि संगै रोजगारी पनि पाएका छन् । हात सिप नहुँदा हिजो नून किन्न धौ– धौ पर्ने कार्कीलाई अहिले हातमा सिप भएकाले सुन किन्न पनि कुनै समस्या छैन । उनी भन्छन् – समयमै सिप सिकेकाले आफू पनि स्वरोजगार बने अरुलाई पनि रोजगारी दिलाउन पाउँदा सन्तुष्ट छु ।

तपाईको प्रतिक्रिया