२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

विकास खोज्दै झापाली काठमाडौंमा

झापा, मेची पुल जोड्ने बाटो निकाससहित देखिएका समस्या समाधानका लागि सरकारलाई दबाबसहित ध्यानाकर्षण गराउन झापाली प्रतिनिधि मण्डल काठमाडौं गएको छ ।

नेपाल– भारत जोड्ने मेची पुलको बाटो विस्तारमा देखिएको मुआब्जा विवादलाई निकास दिन भद्रपुरमा गठित प्रतिनिधि मण्डल काठमाडौं पुगेर प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूलाई प्रत्यक्ष भेटेर ध्यानाकर्षण गराउँदै लिखित ज्ञापनपत्र बुझाएको हो ।
भद्रपुरको स्थानीय सरकार, यस क्षेत्रका प्रदेश तथा संघीय सांसद, राजनीतिक दल र सरोकारवालासहितको सर्वपक्षीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटेर मेची पुलको बाटो विस्तारमा देखिएको समस्या विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओली र मन्त्री महासेठलाई बुझाएको ज्ञापनपत्रमा मेची पुलको लिंक रोड जोड्न भारतीय सरकारसमक्ष नेपाल सरकारको तर्फबाट पहल गर्नुपर्ने, पुल जोड्न नेपालतर्फ कालोपत्रे सडकको ठेक्का लागि सकेको अवस्थामा सडक विस्तारले स्थानीय उठिबास हुने भएकोले सरकारले मुआब्जा उपलब्ध गराउनुपर्ने, निर्माणाधीन मेची राजमार्गअन्तर्गत चाराआली केचना सडक खण्डको बीचमा भागमा रहेको खानेपानी पाइप लाइनको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिनुपर्ने, निर्माणाधीन अवस्थामा रहेको बिर्तामोड(भद्रपुर सडकको ४ किलोमिटर मध्ये ९२८०० मि। ४ लेन, १२०० मि २ लेन ० रहेकोलाई भद्रपुरसम्मै पूर्णरूपले ४ लेनको बनाइनु पर्ने लगायतको माग उल्लेख गरिएको छ।

 

यता प्रधानमन्त्रीे ओलीले भद्रपुरमा देखिएको समस्यालाई सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको र चाडै यसको निकास दिने बताउनुभयो । प्रतिनिधि मण्डलमा प्रदेश सांसदहरू वसन्त बानियाँ, ओमप्रकाश सरावगी, पूर्ण्सिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेपाल कम्प्युनिष्ट पार्टीका प्रतिनिधिहरू चिन्तन पाठक, असारु राजवंशी, नेपाली कांग्रेसका प्रतिनिधि गणेश पोखरेल, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, भद्रपुर ५ का वडाध्यक्ष वन्धु कार्की, संघर्ष समितिका संयोजक इन्द्रकान्त झा, सम्वाद समूह झापाका अधिवक्ता खगेन्द्र खरेल, पत्रकार एकराज गिरी लगायतको टोली गएको बताइएको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको मेची पुल पूर्णरूपमा सञ्चालनमा नआउँदा समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ भव्य समारोहका बीच मेची पुल उद्घाटन गर्नुभयो । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरे पनि पुल जोड्ने सडक नहुँदा नेपाल र भारत दुवैतर्फ समस्या छ । भारतीय पक्षले पुल जोड्ने करिब ४०० मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको छ भने नेपालतर्फ मुआब्जा बिबाद छ । भद्रपुर ५ स्थित मेची पुलमाथि अहिले हलुका सवारी साधन र पैदलयात्री आवत– जावत गरिरहेका छन्। पुललाई पूर्णरूपमा सञ्चालनका लागि पुलबाट १५० मिटर पूर्वतर्फ विहार र बंगालको सीमा हुँदै भारतीय पक्षले बाटो बनाउनुपर्ने हुन्छ भने भद्रपुरको झापा चोकदेखि मेची पुलसम्म १३०० मिटर लामो बाटो हुलाकी सडकसँग जोड्नुपर्ने हुन्छ ।

 

पुल जोड्ने उक्त क्षेत्रको बाटोमा आफ्नो निजी सम्पत्ति परेको भन्दै स्थानीयले मुआब्जा मागेकाले नेपालतर्फ सडक विस्तारमा समस्या भएको छ। झापा चोकदेखि मेचीपुलसम्म १३ सय मिटर दूरीमध्ये २१० मिटर क्षेत्रका बासिन्दाले मुआब्जा पाएका छन्। तर, १०९० मिटर सम्मका स्थानीयलाई मुआब्जा नदिएर विभेद गरेको संघर्ष समितिका अध्यक्ष इन्द्रकान्त झा बताउँछन्। ३२ घरसहित ५२ परिवारको निजी सम्पत्ति उक्त क्षेत्रमा पर्ने बताइएको छ।

५६० मिटर लम्बाई र ९.८ मिटर चौडाईको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो। अहिले मेची पुल प्रयोग गर्ने हलुका सवारी वा पैदलयात्रीले पुल पारी पुनः मेची नदीको बालुवा र बगर हुँदै घुमाउँरो बाटोबाट विहारको गलगलिया आवात(जावत गर्दै आएका छन्। बाटो विस्तारले निकास नपाए आउँदो बर्खामा हलुका सवारी साधनमाथि पनि रोक लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit