भद्रपुर, माध्यमिक तहको परीक्षा एसइइ मा झापाबाट चारजना कैदीबन्दी र दुई दृष्टिविहीन सामेल भएका छन् ।
कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्र बरालले जानकारी दिनुभयो । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधार गृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् ।
कारागारभित्र रहेको बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए । परीक्षामा सामेल सबै कैदीबन्दी पुरुष रहेका छन् । उहाँका अनुसार डिल्लीराज माध्यमिक विद्यालय कचनकवल र अनारमनी माविबाट एक–एक दृष्टिविहीन, बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएका छन् । दृष्टिविहीन परीक्षार्थीले कक्षा ९ मा अध्ययनरत सहयोगी राखेर परीक्षामा सामेल भएका हुन् ।
त्यसैगरी, सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएका विद्यार्थीले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

















