झापा, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थित समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रदेश नं १ को पर्यटकीय जिल्ला धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभयो ।
मन्त्री राईले धेरैकुराले प्रदेश नं १ पहिलो नम्बरमा ने रहेको उल्लेख गर्दै अलैंची उत्पादन र निर्यात व्यवसायमा पनि प्रदेश नं १ पहिलो नै भएको बताउनुभयो । मन्त्री राईले अलैंचीलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै अलैंची खेती विस्तार, निर्यात व्यापार प्रवद्र्धन, रोग निदानका उपायहरुका बारे प्रदेश सरकारले कार्य गर्ने बताउनुभयो ।
अलैंचीमा लाग्दै आएको करमा पुनरावलोकन गर्ने, नेपाली ब्राण्डमा अलैंची तेस्रो मुलुक निर्यातका लागि खेल्नुपर्ने भूमिका प्रदेश सरकारले खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मन्त्री राईले अहिले सबै नेपाली समृद्धिको यात्रामा अघि बढेको उल्लेख गर्दै यो यात्रामा अलैंची व्यवसायी र अलैंची कृषकको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले समृद्धिको तीव्रगतिको यात्रालाई भने संरचनागत कारणहरुले केही धिमा बनाएको बताउनुभयो ।
मुख्यमन्त्री राईले नेपाल तीन तहको नयाँ संरचनात्मक राज्य प्रणालीमा पहिलोपटक प्रवेश गरेकोले केही अलमल रहेको बताउँदै तर यो अलमल धेरै समय नरहने प्रष्ट पार्नुभयो । ‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो, यसमा दुईमत छैन’, उहाँले भन्नुभयो – ‘आशा गर्ने थुप्रै ठाउँ छन् ।’
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रदेश नं १ को भूमि कृषि र पर्यटनको प्रचुर संभावना भएको बताउनुभयो । सार्कस्तरीय उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले कृषि तथा व्यवसाय क्षेत्रका समस्या पहिचान भइसकेकाले समाधानका उपाय खोज्न सबै क्षेत्र एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।
महासंघका कोषाध्यक्ष सुवास भट्टराईले सञ्चालन र वरिष्ठ उपाध्यक्ष दिपक नेपालले स्वागत गरेको उद्घाटन समारोमा कार्यक्रमका अध्यक्ष एवम् महासंघका समेत अध्यक्ष रहेका निर्मल भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । महासचिव ओमकृष्ण विमलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
समारोहमा अलैंची खेती तथा व्यवसाय प्रर्वद्धनमा योगदान पुर्याउने व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानलाई सम्मान गरिएको थियो । महासंघले अग्रज व्यवसायी, महासंघका संस्थापक अध्यक्ष एवम् संरक्षक राजेन्द्रकुमार घिमिरेलाई विशेष सम्मान गर्यो । महासंघले उत्कृष्ट कृषकका रुपमा लम्जुङका कृषक मानबहादुर तामाङ, उत्कृष्ट व्यावसायिक प्रतिष्ठान विर्तामोडको गायत्री स्पाइसेसलाई सम्मान गरियो । त्यसका सञ्चालक भोजराज जैन हुनुहुन्छ । यसैगरी, उत्कृष्ट शाखाको रुपमा धनकुटा शाखालाई सम्मान गरियो भने महासंघमा कार्यरत कार्यालय प्रमुख अनिल ढुंगाना र कार्यालय सहायक रोशन भट्टराईलाई प्रशंसित गरिएको थियो ।
समारोहमा प्रतिनिधिसभा सदस्य लालबहादुर साँवा, प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य राम राना, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल प्रधान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महासंघका संस्थापक राजेन्द्रकुमार घिमिरे, महासंघका सल्लाहकार मित्र काफ्लेलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

गुनासै–गुनासा

समारोहमा पछिल्लो समय अलैंचीमा आएको लगातारको गिरावटप्रति अलैंची कृषक तथा साधारण व्यवसायीले चिन्ता व्यक्त गरेका थिए ।
अलैंचीको भाउ निरन्तर ओरालो लागिरहँदा पनि सरकारले अलैंचीको मूल्य बृद्धिका लागि ठोस कार्य गर्न नसकेको कृषक तथा व्यवसायीको गुनासो थियो ।
कृषक प्रतिनिधि अलैंची व्यवसायी संघ धनकुटा शाखाका सचिव लाकमान घिसिङले अलैंची कृषक लगानी पनि उठ्न नसक्ने अवस्था आएकोले कृषक खेती छोड्ने मानसिकतामा पुगेको बताउनुभयो । उहाँले अलैंची कृषक तथा व्यवसायीलाई सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, व्यवसायी प्रतिनिधि लम्जुङ शाखा अध्यक्ष अजय तामाङले अलैंचीको व्यवसाय तथा खेतीमा देखिएको समस्या समाधानमा महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

नयाँ नेतृत्व चयन हुँदै

महासंघले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भइसकेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दिपक नेपालले जानकारी दिनुभयो । आइतबार निर्वाचन गर्ने गरी तयारी गरिए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने गरी महासंघको अहिलेको नेतृत्व र महासंघमा आवद्ध सदस्यबीच छलफल भइरहेको महासंघ अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया