बिर्तामोड, दिनदुखीहरु भन्ने गर्छन्–हे दैव दुखीको घरमा बास हुने भए मलाई नै दुख देऊ । बिर्तामोड ४ रामाउत टोल बस्ने अति बिपन्न अबस्थाका कर्म राजवंशी यसरी नै आफ्नो कर्मलाई धिक्कार्दैछन् ।

५१ वर्षीय कर्म र उहाँकी ४० वर्षीया श्रीमती बैतासी राजवंशी दुवैजना प्राणघातक मृगौला रोगको शिकार बन्न लागेका हुन् । दुईवटै मिर्गौला खराब भएर राजवंशी दम्पति अहिले थलिनुभएको छ । आफ्नो उपचार आफैले गर्नसक्ने अबस्था छैन,गरिदिने पनि कोही छैन । उपचारको अभावमा दुवैजना छट्पटाइ रहनुभएको छ ।
‘पहिला श्रीमतीको दुइवटै मिर्गौला खराब भएको डाक्टरले बताए, मागेर उपचार गर्ने सोच बनाएको थिएँ’–कर्मले भन्नुभयो –‘चेकअप गराउँदा मेरो पनि दुईवटै मिर्गौला बिग्रिएको रहेछ ।’कर्म चिन्ता गर्छन्–‘खोई, अब कसको उपचार कसरी गर्नु ? मेरो कर्मै फुटेको ।’ घरब्यबहार थाम्दै आएकी आफूभन्दा ११ बर्षकी कान्छी, श्रीमती बैतासीलाई बचाइदिन उनले आग्रह गनुभयो ।‘पहिला श्रीमतीलाई बचाइदिनुस् ’–उहाँ बिन्ती गनुहुन्छ –‘त्यसपछि आफ्नो उपचार गरौंला ।’श्रीमती बैतासीले पनि पहिला आफू ठीक हुन चाहन्छिन् ।
कर्मका एकमात्र छोरा बैदेशिक रोजगारीमा छन् । बुहारी घर छोडेर बाहिर वस्छिन उहाँले भन्नुभयो – बुढी आमा कर्मकै भरोसामा बाँचेकी छे ।’
अर्काको भिटामा बर्षौदेखि झुप्रो बनाएर बसेका कर्मले बनिबुतो गरेर परिवार जेहेनतेहेन पाल्दै आएको बताइएको छ । कमाइ गर्ने दुवैजना थला परेपछि घरमा खाने अन्न छैन । छिमेकीले दिने सहयोगबाट छाक टार्दै आएका छन् ।
बैतासी एक बर्षदेखि बिरामी पर्नुभएको छ । उहाँलाई शुरुमा मनमोहन, त्यसपछि मेची , बिर्तासिटी र त्यहाँ ठीक नभएपछि नोबेल हस्पिटल बिराटनगर लगियो । त्यहाँका चिकित्सकले पनि धरान वा काठमाण्डौं लैजानु भनेर रेफर गरिदिए ।छिमेकी सुनिल राजवंशीका अनुसार बैतासीमा मिर्गौलासंगै उच्च रक्तचाप, हेपाटाइटिस जस्ता रोगको समेत संक्रमण भेटिएको चिकित्सकले बताएका छन् । त्यसैगरी नोबेल हस्पिटलका चिकित्सकले कर्मको दुइवटै मिर्गौला खराब भएको रिपोर्ट दिएका थिए । तर, उहाँले अहिलेसम्म कुनै पनि औषधी खाएका छैनन् ।
कर्म र बैतासीको महाबिजोग देखेर छिमेकीहरुले आर्थिक संकलन शुरु गरेका छन् । त्यसका लागि साम्भा राजवंशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिले अहिलेसम्म करीब ३५ हजार रुपैयाँ संकलन गरेको जनाइएको छ । संकलित रकमबाट बैतासीलाई धरान लगिएकोमा त्यहाँ पनि उपचार संभव नभएको समितिकी अध्यक्ष साम्भाले बताउनुभयो । बैतासी र कर्मको ज्यान जोगाउन आफूहरु प्रयासरत रहेको बताउँदै उहाँ भन्नुहुन्छ –कृपया सहयोग गर्नहोस्, तपाईहरुको ठूलो धर्म हुन्छ ।

















