बिर्तामोड, मानिस जन्मिएपछि मृत्यु स्वभाविक प्रक्रिया हो । तर, कसैको मृत्युले समाजमा यति धेरै मानिसको मन रुवाउने गर्दछ । यस्तै भएको छ – नबोल्ने ‘बा’ नामले परिचित झापाको बुद्धशान्ति–५ शान्तिनगरमा लोकनाथ खतिवडाको निधनले ।

जन्मजात बोली नआएका लोकनाथ शान्तिनगरमा नबोल्ने ‘बा’ ले चिनिने हुनुहुन्थ्यो । झापामा पहिलो पटक तीनले खेती गर्ने पूर्वमन्त्री नरेन्द्र बाँस्तोलालाई धेरैले चिन्ने गरेका थिए । उहाँले सुरु गरेको खेतीलाई आत्मसाथ गर्दै शान्तिनगरका कृषक लोकनाथले पनि आफ्नो खेतबारीमा खेती लगाउनुभयो ।

करिब १२ विगाह जग्गामा उहाँले चिया,सुपारी, बेसार र मरिच एकै ठाँउमा फलाएर सफल कृषकको उदाहरण प्रस्तुत गर्नुभयो भने तीन तले कृषिको बारेमा शान्तिनगरमा धेरै किसानलाई जानकारी दिलाउनुभयो ।
बोली नआएपनि इसराको भरमा उहाँले धेरैलाई कृषि सम्बन्धि ज्ञान सवैलाई प्रदान गर्नुहुन्थ्यो । उहाँले लगाएको लिची ढकम्क फुलेको छ भने आँप पनि फुल्दै छ । सुपारी बगानमा हरिया सुपारीका भोट थिए भने चिया बगानले लोकनाथलाई नै खोजी रहेको लोकनाथको वगैचामा पुग्दा भान हुन्छ ।

घरमा रहेको दुई माऊ गाई पनि सुत्केरी अवस्थामा रहेका थिए । तर बिडम्बना बिहानदेखि बेलुकासम्म तिनै घरगोठमा साथमा रहने लोकनाथले यो संसार छाडेर गएपछि छोराछोरी अहिले दशकात्र कर्म गरिरहेका छन् । आफू जन्मजात नबोल्ने भएपनि उहाँले आफ्ना सन्ततिहरुलाई भने उच्च शिक्षा दिलाउनुभयो । उहाँका एकछोरा शिक्षक,अर्का डाक्टर छन् भने कान्छो छोराले इन्जिनियर भएर समाजमा सेवा प्रदान गरिरहेका छन् ।

बुद्धशान्ति–५ शान्तिनगर निवासी खतिवडाको ८३ वर्षको उमेरमा फागुन २४ गते निधन भएको थियो । वि.स. १९९२ वैशाख ४ गते इलामको तल्कालिन इरौँटार गाविसमा जन्मनुभएका खतिवडाले समाजमा मृत्युपछि पनि उदाहरणीय काम गर्नुभयो । उहाँले आफ्नो मृत्युपछि नेत्रदान गर्ने घोषणा गर्नुभएको रहेछ । उहाँले गरेको नेत्रदानलाई मेची नेत्रालय काँकरभिट्टाका चिकित्सकको टोलीेले लगेको थियो ।

खतिवडाले दान दिएको नेत्रलाई डोल्पाका एक १० वर्षीय बालकको आँखामा प्रयोगमा ल्याएर बालकलाई नेत्र प्रदान गरिएको जानकारी परिवारलाई गराइएको जनाइएको छ । आफ्ना बुबाले बोली नआएपनि नेत्रदान गरेर समाजका लागि महत्वपूर्ण काम गरेको ऊँ झापा मेडिकलका सञ्चालक समेत रहेका माहिला छोरा सुरेश खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ समाजमा थोरै मानिस मात्र मरेर पनि बाँच्ने गर्छ, आज बुबाले जुन पुण्य काम गर्नुभएको छ त्यसले उहाँ सदा जिवित रहनुभएको छ ।’

वाक क्षमता नभएका खतिवडा शान्तिनगरकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सक्रिय सदस्य समेत समेत रहनुभएका उहाँलाई जय नेपाल प्रतिष्ठान बिर्तामोडले उत्कृष्ट कृषकको रुपमा सम्मान समेत गरेको थियो ।
खतिवडामा तीन छोरा र दुई छोरी रहेका छन् । श्रीमती रेनुका खतिवडा छोराबुहारी डिल्ली–बुद्धिमता,सुरेश–सरिता र सुरज–दिपा खतिवडा रहनुभएको छ । छोरीज्वाई हेमन्ता–अर्जुन बराल र सुसन–पुष्पराज घिमिरे रहनुभएको छ । खतिवडाका ९ जना नातीनातिना रहेका छन् ।

आफू बोल्न नसक्ने भएपनि समाजमा केहि राम्रो काम गर्नुपर्छ भन्ने विचार राख्ने लोकनाथले शिक्षा क्षेत्रको विकासका लागि ठूलो योगदान दिएको उनका कान्छा भाई साहित्यकार तेराखले बताउनुभयो । झापामा धेरैले नेत्रदान गरेपनि वाक क्षमता नभएका ब्यक्ति मध्ये खतिवडा नेत्रदान गर्ने पहिलो ब्यक्ति हुन सक्ने परिवारको भनाई छ ।

तपाईको प्रतिक्रिया