भद्रपुर,समृद्ध हल्दिवारी सवल गाउँबासी अभियान सञ्चालन गरिरहेको हल्दिवारी गाउँपालिकाले पुर्वाधार विकास अन्र्तगत सिमान्तकृत बस्ती जोड्न पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
३७ लाख लागतमा हल्दिवारी ३ तथा ४ नम्बर वडा जोड्ने काजली खोला पुलको निर्माण सम्पन्न गरी वर्षौंदेखिको स्थानीयको बाँसे पुलको धराप यात्रा अन्त्य गरी पक्की पुल सञ्चालनमा ल्याइएको हो । विकट बस्तीका रूपमा रहेको डाँडागाउँ क्षेत्रमा रहेका स्थानीयको वर्षादको यात्रा सहज बनाउन पुल निर्माणको माग वर्षौंदेखि भए पनि यस पटक पूरा भएकोमा स्थानीयमा हर्ष छाएको देखिन्थ्यो ।
आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा कृषि पेशामा आश्रित कृषकहरूको बस्ती रहेको सो क्षेत्रमा बाँसे पुलको भरमा खोला तर्नु पर्ने बाध्यताले हजारौंको जीवनयात्रा जोखिममा रहेको थियो । स्थानीय सरकारको गठनपछि बल्ल नागरिकको आवाज सुनुवाइ भएको भन्दै स्थानीयले पुल निर्माणमा सकारात्म पहल र महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि महेशलाल मेचेमाथि आभार प्रकट गरे । वडा नम्बर ४ का वडा सदस्य रहेका मेचेले सो बस्तीका बासिन्दाको वर्षौंदेखिको माग पूरा गराउन स्थानीय सरकारसित निरन्तर पहल तथा खवरदारी गरेका थिए ।
डाँडा गाउँ टोल विकास संस्थाको मातहतमा निर्माण समिति बनाई १२ लाख जनश्रमदान सहित गाउँ पालिकाको २५ लाख अनुदान गरी ३७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुलको गाउँ पालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गिरीले समृद्ध हल्दिवारी सवल गाउँ बासी अभियान सफल बनाउन गाउँ पालिका क्षेत्रमा ४० वटा पुल निर्माण सुरू भइसकेको जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रको पहिचान पाएको हल्दिवारीको उन्नतिका लागि सडक र पुल निर्माण पहिलो चरणमा तीब्र बनाइएको प्रष्ट पार्नूभयो ।
कृषि उत्पादन बजारसम्म लैजान हरेक टोलमा सडक र पुल सवल बनाउने भन्दै गिरीले गाउँ पालिकाका बासिन्दा आत्मनिर्भर बन्न कृषि र पशुपालन पहिलो आधार रहेको स्पष्ट पार्नुभयो ।
डाँडा गाउँ टोल विकास विकास संस्थाकी अध्यक्ष निरा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्बर वडाध्यक्ष रोशनी शिवाकोटी, ४ नम्बर वडाध्यक्ष होम चुडालको विशिष्ठ आतिथ्ता रहेको थियो भने वडा नम्बर ४ का वडा सदस्य महेशलाल मेचे स्वागत गरेको कार्यक्रमको सञ्चालन वविता भट्टराईले गर्नुभएको थियो ।











