२०८३ असार १२ शुक्रबार
Search
Close this search box.

सन्थाल समुदायले मनाए बाहा पर्व

बिर्तामोड, ‘तकई कुकु चियो लिदा मातकम बाहा, तकई कुकु चियो लिदा श्रीसारजम बाहा ?’बोलको गीतमा सन्थाल युवायुवतीहरु झुम्दै नाचिरहेका थिए ।
जसको अर्थ हुन्छ–कसले चिनेको थियो गिठ्ठाको फूल, कसले चिनेको थियो सखुवाको फूल ?सन्थाल समुदायको बाहा पर्वको अबसरमा मार्शल बिर्ता युवा क्लबद्वारा बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा आयोजित सांस्कृतिक कार्यक्रममा झापा र मोरङका सन्थालहरुले आफ्नो संस्कृति मात्र देखाएनन्, नाच्ने र गाउँने रहर समेत पूरा गरे । बसन्त ऋतु लागेर फूल फुल्ने बेलामा सन्थाल समुदायले बाहा पर्व मनाउने गर्छन् ।
बाहाको अर्थ फूल भएको र फूल फुल्ने बेलामा यो पर्व मनाउने गरिएको नेपाल सन्थाल आदिवासी उत्थान संघका जिल्ला अध्यक्ष बडाराम हेमरम बताउँछन् । दुई दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जाहेरथानमा नाइकी(पुजारी)ले पुजाआजा गरी प्रत्येक घरघरमा फूल र पानी पु¥याइदिने र अर्को दिन रमाइलो गर्दै रंग खेल्ने गरिएको उनले बताए ।
फागु पूर्णिमाको पूर्वसन्ध्यामा पर्ने बाहा पर्वमा आफ्ना चेलीबेटीहरुलाई बोलाएर सत्कार गर्ने परम्परा समेत रहेकोे हेमरमले जानकारी दिनुभयो । सन्थालहरुको पलायनसंगै उनीहरुको संस्कार संस्कृति हराउँदै गएको छ । त्यसलाई जोगाउन बिभिन्न कार्यक्रमहरु गर्दै आएको एभेन मार्शल सन्थाल समाज घैलाडुब्बाका सचिव मंगल हास्दाले बताउनुभयो । सन्थाल समुदायको बिबाहमा गिठ्ठा र सखुवाको फूल अनिबार्य भएको उहाँले सुनाउनुभयो । झापा र मोरङका १४ वटा नृत्य टोलीले भाग लिएको प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा घैलाडुब्बाका मंगल हास्दाको टोली प्रथम, सैनिकमोडकी सुनिता हेमरमको टोली द्वितीय र पगलीभट्टीका मंगल हास्दाको टोली तृतीय हुनुभयो । बिजेता टोलीहरुले क्रमशः ५ हजार ,४ हजार र ३ हजार नगद पुरस्कार पाउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले पुरस्कार बितरण गर्नुभयो । उहाँले आगामी बर्षदेखि सन्थाल समुदायको लागि फुटबल प्रतियोगिता आयोजना गर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा बयोबृद्घाहरु मेरी बाँस्की, फूलमनि हास्दा, सीता मुर्मु, देवान टुडु , निलमुनि टुडु, साइली मुर्मु र सम्पति राजवंशीलाई सम्मान गरिएको थियो ।श्याम मुर्मुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी,बैजुन मुर्मु लगायतले बोलेका बोल्नुभएको थियो । कार्यक्रमको संचालन सन्तोष दासले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit