२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक हुने

 

उर्लाबारी, झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन ।

बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान्यास गरेपछि बानियाँ मात्र होइन, दमक नगरपालिका र छिमेकी स्थानीय तहका स्थानीयवासी पनि उत्साहित बनेका थिए ।

प्रथमपटक ओली प्रधानमन्त्री हुँदा शिलान्यास भएको सो स्तम्भको निर्माण प्रक्रिया उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा बल्ल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत दमक नगरपालिका–३ मा दृश्यावलोकनस्तम्भ निर्माणका लागि अहिले सहरी विकास मन्त्रालयले ३५ दिने टेण्डर आह्वान गरेको छ ।

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य पर्ने जग्गा दमक नगरपालिकालाई निःशुल्क दिएका छन् । स्थानीयवासीले विभिन्न मितिमा गरी गत असार १० गतेभित्रमा ५ बिघा जमीन नगरपालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

स्थानीयवासीले १० धुरदेखि एक बिघासम्म जमीन निःशुल्क उपलब्ध गराएका छन् । आफ्नै वडामा दृश्यावलोकनस्तम्भ निर्माणका लागि निःशुल्क जग्गा दिनुभएका शान्तिराम गौतमले भन्नुभयो, “आफ्नो ठाउँ मात्र नभएर समग्र झापा र पूर्वी मोरङकै विकासमा टेवा पुग्ने भएकाले यो योजनाको निर्माणका लागि जग्गा दिएका हौँ ।”

यो स्तम्भ निर्माण भएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने गौतमको भनाइ छ । दृश्यावलोकनस्तम्भ अवलोकनका लागि मात्र नभएर पूर्णरुपमा व्यावसायिक हुने भएकाले दमकको समग्र क्षेत्रको विकासमा यसले टेवा पु¥याउने स्थानीयवासी शान्तिदेवी धिमालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टेण्डर आह्वानसँगै दृश्यावलोकनस्तम्भ निर्माण हुने निश्चित भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।” सो स्तम्भ निर्माणका लागि सहरी विकास मन्त्रालयले कुल रु दुई अर्ब ७२ करोड ५१ हजार ४८४ को लागत अनुमान गरेको छ ।

पाँच बिघा क्षेत्रफलमा निर्माण हुने सो दृश्यावलोकनस्तम्भ अढाई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाउने कार्य भइरहेको हो । १८ तले स्थायी संरचनाको सो स्तम्भ ७२ मिटर अग्लो रहनेछ । जसमा २८ मिटर स्टिलको टावर रहने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

दृश्यावलोकनस्तम्भमा अण्डरग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । दृश्यावलोकनस्तम्भ निर्माण हुने दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले यसको निर्माणपछि नगरमा विकासका अन्य सम्भावना पनि खुल्ने बताउनुभयो ।

“दृश्यावलोकनस्तम्भ गौरवको योजना हो”, उहाँले भन्नुभयो, “यसलाई सफल बनाउनु सबैको साझा दायित्व हो ।” ‘हाम्रो एउटा सपना पूरा हुने भयो’ बरालले भन्नुभयो, “यसले दमकलाई प्रदेश १ कै प्रमुख पर्यटकीय नगरको रुपमा विकास गराउनेछ ।” दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै रौनक बढाउने दाबी गर्नुभयो ।

दमकलाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताउँदै प्रमुख ओलीले भन्नुभयो, “दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै पर्यटन क्षेत्रको विकाशमा सहयोग पु¥याउँछ ।” दमकमा सो स्तम्भ निर्माण भएपछि यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुुनुका साथै पर्यटकीय गन्तव्यको रुपमा पनि विकास हुने नगर प्रमुख ओलीको भनाइ छ ।

उहाँले दृश्यावलोकनस्तम्भ दमकका जनताको मात्र नभई प्रधानमन्त्री ओलीको पनि सपनाको आयोजना भएको सुनाउनुभयो । स्तम्भ निर्माण हुने स्थान पूर्वपश्चिम राजमार्गदेखि तीन किलोमिटर तथा दमकको मुख्य चोकदेखि ६ किलोमिटर उत्तरमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit