झापा , फागुन २६ । झापा गोल्डकप आयोजक समितिले झापा ११ एफसीका पूर्व खेलाडी नरेन्द्रमणि लिम्बूलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।
मग मग झापा गोल्डकपको चौथो संस्करणको फाइनलका दिन सोमबार अवार्डस्वरुप एक थान मोटरसाइकल प्रदान गर्न लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो । लामो समयसम्म झापाली फुटबलको विकास र उन्नयन्का लागि महत्वपूर्ण योगदान पु¥याएकाले लिम्बूलाई अवार्ड प्रदान गर्न लागिएको अध्यक्ष गिरीको भनाइ छ ।

स्कुल पढ्दै गर्दा फुटबल खेलमा प्रवेश गरेका नरेन्द्रमणि बिर्तामोड ४ का स्थायी बासिन्दा हुनुहुन्छ । सन् १९७९ मा बुवा रुपनन्द जबेगु र आमा धनकुमारी लिम्बूको कोखबाट हङकङमा जन्मेका नगेनले जिल्लास्तर हुँदै पूर्वाञ्चल र काठमाडौँको ए डिभिजन क्लबबाट समेत फुटबल खेलेर झापाको गौरवमा उचाइ थप्नुभयो ।

स्कुले जीवनबाटै फुटबल खेले पनि फुटबल बुझेरै खेलेको भने २४ वर्ष भएछ । उहाँले भन्नुभयो–, ‘मैले व्यावसायिकरुपमा फुटबल भने सन् १९९५ बाट खेलेको हुँ ।’
२०७१ सालमा झापा ११ एफसी खडा हुँदा उनी मुख्य खेलाडीका रुपमा थिए । झापा ११ को मिडफिल्डको जिम्मेवारी सम्हालेका नरेन्द्रमणि नियमित कप्तान प्रवेश कटुवालको अनुपस्थितिमा उहाँले पनि कप्तानी सम्हाल्नुहुन्थ्यो । दोस्रो गोल्डकपमा कटुवाललाई यो अवार्ड प्रदान गरिएको थियो ।

लिम्बूकै कप्तानीमा विराट गोल्डकप झापा ११ ले उचालेको थियो । त्यस्तै, माइभ्याली गोल्डकप, एन्फा कप, सुरुङ्गा गोल्डकप, कटारी गोल्डकप, काँकरभिट्टा गोल्डकपको उपाधि झापा ११ ले रक्षा गर्दा उनको भूमिका महत्वपूर्ण थियो ।
त्यस्तै, ०७२ सालतिर स्थानीय क्लब बिर्तामोड युनाइटेडको कप्तानी सम्हाल्दा फिदिम, पाँचथर, स्व. भीमनारायण स्मृति कपलगायत नगेनको भूमिका उल्लेखनीय रहेको थियो ।

नेपालको ए डिभिजन क्लब थ्री स्टार क्लबबाट समेत खेलेका उनको फुटबल करियर सुरुमा ब्वाइज युनियनबाट भएको थियो । हङकङमा रहँदा पनि डबल प्mलावर र फु किङ क्लबबाट समेत फुटबल खेल्नुहुन्थ्यो उहाँले ।
२०७४ सालबाट झापा ११ को टिममा नरहेका उनले डि लेभल लाइन्सेन्सको कोर्ष पूरा गरी रिजल्टको पर्खाइमा छन् । फुटबल जीवनको श्रेय भने उनले बुवा रुपनन्द जवेगुलाई दिनुभयो ।

झापा गोल्डकपले आप्mना पुराना खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न थालेकोमा एन्फाका लिग डाइरेक्टर सञ्जीव मिश्रले खुसी व्यक्त गर्दै अवकास लिइसकेका खेलाडीलाई सम्मान गर्न पाउनु ठूलो कुरा भएको बताउनुभयो ।
‘आयोजकको कर्तव्य पनि हो’, उहाँले भन्नुभयो, ‘यो आयोजकले सामाजिक उत्तरदायित्व बहन गरेको पनि ठहर्छ ।’ गोल्डकप आयोजना गरेर फुटबल देखाइरहँदा खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दा आयोजकले उनीहरुलाई संरक्षण गरेको समेत देखिने उहाँको विश्लेषण छ ।
पैसाभन्दा सम्मानले ठुलो अर्थ राख्ने बताउँदै उनले पूर्व फुटबल खेलाडीलाई सम्मानसँगै पुरस्कार दिँदा उनीहरुको आर्थिकसँगै मानसिक आत्मबल बढ्ने बताउनुभयो । ‘यो कदम खेलाडीको योगदानको कदर पनि हो’, उहाँले भन्नुभयो ।

झापाले खेलाडीको दुर्घटना बिमा गरेर उदाहरणीय काम गरेको भन्दै उनले प्रत्येक गोल्डकप आयोजकले झापाबाट अनुशरण गर्नुपर्ने सुझाए । झापाको यस कार्यको प्रशंसा गर्दै उहाँले एन्फाले पनि खेलाडीको दुर्घटना बिमासम्बन्धी पहल गर्न जरुरी रहेको बताउनुभयो ।
झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले फुटबल खेलको विकासमा लागिपरेका सबैलाई सम्झिरहेको बताउँदै महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई नछुटाइने बताउनुभयो । उहाँले भन्नुभयो – ‘विभेदकारी नीति छैन, राम्रो काम गर्नेलाई सम्झेका छौँ ।’

तपाईको प्रतिक्रिया