- कञ्चना ढकाल सिटौला


मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस संसारभरि भव्यरुपमा मनाइरहेका छौं । संसारभरिका महिलाहरुमाथि भइरहेको भेदभाव, कुरीति, कुप्रथा तथा हिंसाका बिरुद्धमा अन्तर्राष्ट्रिय रुपमा महिलाहरु एक भएको दिन आज मार्च ८ लाई हामी पनि भव्यताका साथ मनाइरहेका छौं । सन् १९०८ मा अमेरिकाको एउटा गार्मेन्ट उद्योगमा कार्यरत महिलाहरुको हकअधिकारलाई लिएर गरिएको हड्ताल नै महिला हकअधिकार प्राप्तिका लागि संयुक्त संगठित आवाज थियो र त्यसको २ बर्षपछि अन्तर्राष्ट्रिय महिला सम्मेलन गरियो । उक्त सम्मेलनबाट मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरियो । यसरी सन् १९१० मार्च ८ को दिनलाई ‘अन्तर्राष्ट्रिय नारी दिवसको’ जन्म दिनको रुपमा मनाइन्छ ।
आज हामी १०९औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन गइरहेका छौं । संसारभरि रहेका महिलाहरुमाथि भइरहेको अन्याय, अत्याचार तथा विभेदीकरणका विरुद्धमा संगठित भएर समान हकअधिकार प्राप्तिका लागि लड्न शुरु गरिएको दिन जसलाई महिलामाथिको अन्याय अत्याचार तथा विभेदीकरणबिरुद्ध संगठित भएर लड्ने दिन हो आज । संगठनको जन्म भएको दिन आज नेपालमा पनि महिलाहरुले यसलाई हरेक वर्ष झैं भव्यरुपले विविध कार्यक्रम गरी मनाउँछन् । आजकै दिन हामीले ती महिला एवम् त्यस्ता सामाजिक व्यक्तित्वहरुलाई सम्झनुपर्दछ, सम्मान गर्नुपर्दछ । जसले उत्पीडित महिलाहरुको हकअधिकार प्राप्तिका लागि सशक्त रुपमा लडेका थिए, आवाज उठाएका थिए । जसका कारण आज संसारभरिका महिलाहरुले आफ्नो अधिकारबाट वञ्चित हुनबाट बाचेका छन् ।
नेपालका महिलाले यो दिवसलाई आ–आफ्नो ठाउँबाट सहभागिता जनाइ सभ्य र भव्यरुपमा मनाउँदै आएका छन् । उनीहरुले आफ्ना अधिकार सुनिश्चितताका लागि तल्लोस्तरदेखि उपल्लो तहसम्म आवाज बुलन्द बनाउन सक्षम छन् । राष्ट्रको माथिल्लो ओहोदामा पुगेका महिलाहरुले पनि यो दिवसलाई भव्यरुपमा मनाउन सहयोग पुर्याएका छन् ।
एउटा सुन्दर समाज निर्माणका लागि जबसम्म सृष्टिकर्ता महिलाको सम्मान हुन सक्दैन, त्यहाँ सुन्दर संसार पनि बन्न सक्दैन । त्यसैले हरेक तह र तप्कामा महिला अधिकारका कुरा सुनिश्चित हुन जरुरी छ । किनभने आज संविधानले दिएका अधिकारहरुलाई कार्यान्वयनमा लान सचेत महिलाहरुको महत्वपूर्ण भूमिका रहनु जरुरी छ । नत्र कागजमा नै सीमित भएर फेरि पनि महिलाहरु यही अवस्थामै रहने छन् । आज पनि महिला भएकै कारणले महिलाले विभिन्न हिंसाहरु सहना बाध्य भइरहेको अवस्था छ । सामाजिक, आर्थिक, राजनीतिक रुपमा पुरुषको तुलनामा थोरै मात्र हकअधिकार महिलालाई प्राप्त हुन्छ । शारीरिक, मानसिक, यौनजन्य हिंसाबाट महिलाहरु प्रताडित भइरहेकै अवस्था विद्यमान छ । यसरी विभिन्न किसिमले महिलाहरु थिचिएर, दबिएर प्रताडित हुँदै बस्न बाध्य बनाइएको अवस्था अझै पनि हाम्रो समाजमा छ । यसलाई चिर्नका लागि सम्पूर्ण महिला एकजुट हुन आवश्यक छ ।
महिला पुरुष एक रथका दुई पाङ्ग्रा भएता पनि महिलारुपी पाङ्ग्रालाई कमजोर बनाउन मूलत पुरुष प्रधान समाजको प्रमुख भूमिका रहेको पाइन्छ । महिलालाई भ्रुणबाट नै उसको हत्या गरिन्छ र हजारौं छोरीहरु नजन्मदै मृत्युको मुखमा पु¥याइन्छ । जब छोरी जन्मन्छे ऊ स्वतन्त्र हुन सक्दिन । बुबा–आमा, दाजुभाइको नियन्त्रणमा उनीहरुको इशारामा ऊ चल्नुपर्दछ । उसको व्यक्तिगत उन्नति प्रगतिमा उसको चाहनाभन्दा पनि बुबाआमाको चाहना हावी हुन्छ र उनीहरुकै इच्छा बमोजिम छोरीले चल्नुपर्दछ अनि छोरालाई भन्दा छोरीलाई पढाइ लेखाई तथा उसको प्रगतिमा अर्कोको घरमा जाने जात भन्दै अपहेलना गर्ने चलन अझै पनि छँदैछ ।
जब छोरीको विवाह हुन्छ अनि छोरीको नियन्त्रणको लगाम श्रीमान् अनि सासुससूराको हातमा पुग्छ र जब बुढेसकाल लाग्दछ, तब ऊ श्रीमान् अनि छोराको नियन्त्रणमा रहन बाध्य हुन्छे । आफ्ना हकअधिकार जे भए पनि परपुरुषको अधिनमा आफूलाई चलाउन बाध्य हुनुपर्ने अवस्था हामी महिलाहरुमा विद्यमान छ ।
पुरुष प्रधान समाजमा पुरुष सरह महिलाले पनि समान व्यवहार गर्न पाउनुपर्छ । यो उसको नैसर्गिक अधिकार हो । उसका पनि पुरुष सरहकै समान इच्छा आकांक्षा चाहना, क्षमता सबै कुरा रहेका हुन्छन् र समान अवसरहरु प्रदान गर्नुपर्दछ भन्ने मान्यतालाई पुरुष प्रधान समाजले स्वीकार गरेको पाइन्न । यसर्थ महिलाहरु माथिको हिंसालाई न्यूनीकरण गर्न पुरुष प्रधान समाजको मान्यतालाई भत्काएर समान अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै आज महिलामाथि हुने सबैखाले हिंसाविरुद्धको दिवस मनाइँदै आएको छ ।
आर्थिक कारण पनि महिलालाई दबाबमा लिएको पाउन सकिन्छ । महिलाहरुको पैतृक सम्पत्तिमाथि कानूनी तथा व्यवहारिक हक अधिकार सुरक्षित छैन । आर्थिक रुपले परनिर्भरताको अवस्थामा महिलालाई पु¥याइन्छ । जसले गर्दा उनीहरुलाई पुरुषले एउटा समान वा वस्तु खरिद गरेर ल्याएको आफ्नो व्यक्तिगत सम्पत्ति जस्तो व्यवहार गर्ने चलन अझै कायम नै छ । दाइजो प्रथा जसको कारण आज पनि हजारौं चेलीहरुले यातना पाइरहेका छन् । कतिले मृत्युवरण नै गर्नु पारिरहेको छ । यसर्थ, समान हकअधिकार कानूनतः कायम हुनुपर्दछ र व्यवहारमा समेत ल्याइनुपर्दछ । यसरी विभिन्न दृष्टिकोणबाट महिला हिंसा भइरहेकै छन् । यसका धेरै कारणहरुलाई यस सानो लेखमा अटाउन सकिन्न र मैले माथि दुईवटा प्रमुख कारणहरु मात्र समावेश गरे तर अन्य धेरै कारण र प्रकारहरुले महिलामाथि अन्याय र हिंसा भइरहेको अवस्था विद्यमान छ ।
यसरी महिलाहरुलाई सशक्तिकरण गर्दै महिला हिंसा न्यूनीकरण गर्न संविधान तथा कानूनमा परिवर्तनहरु हुँदै नभएका भने होइनन् । २००४ सालदेखि २०७२ सालको संविधान निर्माणसम्ममा महिला हकअधिकार सम्बन्धी महिला सशक्तिकरण सम्बन्धी संविधान एवम् कानूनमा परिवर्तनहरु आएका छन् । तर, कानूनतः परिवर्तन भएता पनि कार्यान्वयन पक्ष कमजोर रहेको छ । कानूनले महिलाको सम्पत्तिप्रतिको हक, आमाको नामबाट नागरिकता लिन सकिने, यौनजन्य हिंसालाई जघन्य अपराधमानी कारवाही गरिने आदि जस्ता कानूनहरु निर्माण भएता पनि व्यवहारिक रुपले कार्यान्वयन पक्ष फितलो बनाइएको देखिन्छ । आज पनि हजारौं मानिसहरु नागरिकता लिनबाट वञ्चित भइरहेकै छन् । यौनजन्य हिंसाका अपराधीहरु खुलेआम घुमिरहेकै छन् ।
त्यसैले महिलामाथिको हकअधिकारहरु सुरक्षित गर्न आजसम्म जे जति कानूनहरु निर्माण भएका छन्, तिनीहरुको सफल र सबल कार्यान्वयनमा हामी सबैको ध्यान केन्द्रित गराएर कार्यान्वयनमा ल्याउन सफलता प्राप्त गर्न आवश्यक छ । अन्य असमान कानूनहरुलाई खारेजी गर्न प्रयत्न गर्न आवश्यक रहेकोले सम्पूर्ण दिदीबहिनी एवम् महिला सबलीकरण तथा सशक्तिकरणमा सहयोग पु¥याउनु हुने मानवताप्रेमी दाजुभाइ, आमाबुबा, दिदीबहिनी सबै सुखी नेपाल र समृद्ध नेपालको नारालाई सार्थक बनाउन सबैका महत्वपूर्ण भूमिका रहोस् ।

(ढकाल एबीसी नेपाल झापाकी अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया