झापा, झापाको भद्रपुर–१० चन्द्रगढीका गम्भीर राई भन्ने बित्तिकै धेरैको दिमागमा फुटबल खेलको झल्को आउनु स्वभाविकै हो । सानै उमेरदेखि फुटबलप्रति निकै चासो दिएका गम्भीरले खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा मात्रै चिनाएनन् उनले पनि खेल क्षेत्रमा आफ्नो नामलाई पनि अग्रस्थानमा राख्न सफल भए ।
चन्द्रगढीस्थित वीरेन्द्र माविबाट २०४४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका गम्भीरले उच्च शिक्षा अध्ययनलाई भने थाती राख्नुप¥यो । सानै उमेरदेखि फुटबल प्रति रुची राखेका गम्भीरलाई परिवारको साथ र सहयोगले झनै टेवा पु¥याएको उनको अनुभव छ ।
घर–गाउँमा खेल खेल्दै आएका गम्भीरले २०४२ सालबाट अन्तरमाध्यमिक विद्यालय स्तरीय खेलमा सहभागिता जनाएका थिए । त्यस्तै २०४५ सालबाट मेची अञ्चल अन्तर्गत नर ट्रफी कपको १९औं खेलमा हेटौंडामा, २०४६ सालमा पोखरा, २०४८ सालमा वीरगञ्जमा सहभागिता जनाएका गम्भीर २०४९ सालमा १६ वर्षमुनिको (अण्डर सिक्सटिन) मा सहभागिता जनाउँदै बंगलादेश गएका थिए । उनले उक्त समयमा भारत र पाकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा आकर्षक गोल गर्दै नेपाललाई विजयी गराउन सफल भएका थिए । अण्डर सिक्सटिनमा सहभागिता जनाए लगत्तै गम्भीर न्यूरोड टिम (एनआरटी) मा आवद्ध भए । एनआरटीमा सहभागिता जनाएका गम्भीर लिग चरणको खेलमा २६ वर्षपछि एनआरटी क्लब च्याम्पियन बन्दा एटेकिङ डिफेन्सको रुपमा खेलिरहेका थिए ।
गम्भीरले २०५३ सालमा थाइलेण्डमा भएको १९ वर्षमुनिको उमेर समूह (अण्डर नाइन्टिन) मा सहभागिता जनाउँदै मकाउबिरुद्धको खेलमा पनि पेनाल्टी सुटआउट मार्फत गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा तीन गोल गरेका थिए । १६ वर्षसम्म फुटबल खेलेका गम्भीर अहिले प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । गम्भीरले एनआरटी क्लबमा आवद्ध भएपछि २०५२ सालमा मालदिभ्समा भएको अन्तर्राष्ट्रिय खेलमा पनि सहभागिता जनाएका थिए । उनी २०५३ सालमा जनकपुर चुरोट कारखानाको क्लबमा समेत आवद्ध भएका थिए । त्यस लगत्तै २०५४ सालबाट दुई वर्षसम्म उनी मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध भएका थिए ।
२०५६ सालबाट मुनाल क्लब चन्द्रगढीको प्रशिक्षकको रुपमा आवद्ध उनले झापाका चर्चित खेलाडी कर्ण लिम्बूलाई समेत ट्रेनिङ दिएको बताए । दैनिक तीन सय रुपैंया पारिश्रमिक लिएका गम्भीरले खेल जित्दा १५ हजार रुपैयाँसम्म प्रप्त गरेको बताए । हालै मात्र हिरो कप उडिसा भारत २०१९को टिम व्यवस्थापकको जिम्मेवारी सम्हालेका गम्भीर खेल क्षेत्रमा धेरैको भविष्य उज्ज्वल रहेको बताउँछन् । उनी भन्छन्– पहिला–पहिला काम नहुनेले खेल्ने भन्नेहरु, खेल क्षेत्रबाट पनि नाम र दाम कमाउन सकिन्छ भन्नेमा पुगेका छन् ।
श्रीमती सम्झना, दुई छोरी जजिना र जियाका बुबा गम्भीर अहिले खेल क्षेत्रमा लागेकाले आफूलाई धेरैले चिनेको भन्दै देशको नाम राख्न आफूले खेलको माध्यमबाट पनि सफल भएको भन्दै खुशी व्यक्त गरे ।
उनले झापाको बिर्तामोडमा जारी झापा गोल्डकपको प्रशंसा गर्दै डोमालाल रंगशाला देशकै उत्कृष्ट मैदान रहेको बताए । झापा गोल्डकपलाई अझ ब्यवस्थित गर्नका लागि स्थायी प्यारापिट निर्माण गर्न सुझाव दिएका उनले झापालीमा फुटबल प्रतिको मोह बढ्दै गएको बताए ।

















