२०८३ असार १० बुधबार
Search
Close this search box.

प्रदेश स्तरीय खेलकुद शुरु

मेचीनगर , एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्ध जनाएका छन् ।
एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘खेल सम्बन्धि ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ कार्यक्रमका प्रमुख अतिथि कार्कीले भन्नुभयो–‘खेलकुदको हितमा प्रस्तुत विधेयक पारित गर्छौं ।’
काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटनका अवसरमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले स्वागतसहित कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेश साँसद् श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतको आतिथ्यता थियो ।
इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माविका विद्यार्थीहरुबाट खेलकुद सम्बन्धि गीतमा मनोरञ्जनात्मक नृत्य प्रस्तुत भएको सो कार्यक्रममा काँकरभिट्टा माविस्थित राष्ट्रिय सेवा दल, नेपाल स्काउट ट्रुप, जुनियर तथा युवा रेडक्रश सर्कल र १४ जिल्लाका खेलाडीले मार्च पास गरेका थिए ।
त्यसक्रममा बक्सिङ र आइ.टि.एफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका झापाका खेलाडीहरुलाई नगदराशीसहित पुरस्कृत गरिएको थियो ।
गत फागुन ७ देखि ११ गतेसम्म सञ्चालित बक्सिङको प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाका खेलाडीले ७ वटा स्वर्ण पदक जितेका थिए ।
सो प्रतियोगितामा पुरुषतर्फ ५६ केजी तौल समूहमा सुरेन्द्र राई, ६४ केजीमा अभिनय राई, ९१ केजीमा इसाक जनक शाही र ९१ केजीमाथि दिनेश अधिकारीले स्वर्ण पदक जितेका हुन् ।
विराटनगरको शहीद रङ्गशालामा भएको उक्त प्रतियोगितामा महिलातर्फ ६० केजी तौल समूहमा सोममाया लिम्बू, ६४ केजीमा त्रिसा जवेगु र ५१ केजीमा अरुणा योङ्हाङले स्वर्ण पदक हात पारेकी थिइन् ।
त्यस्तै, गत फागुन ९ देखि ११ गतेसम्म मोरङको लेटाङमा सञ्चालित आइ.टि.एफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगितामा झापाका ४ जना महिला खेलाडीले स्वर्ण पदक जितेका थिए ।
स्वर्ण पदक जित्ने झापाका महिला खेलाडीहरुमा निक्की गुरुङ, सोफिया केरुङ, रेखा लिम्बू र नेलिखा मगर छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रदेशस्तरीय खेलाडी छनोट गर्न सुरु प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका छन् ।
काँकरभिट्टा माविको खेल मैदानमा सोमबारदेखि सुरु भई फागुन १६ गते समापन हुने कबड्डीको प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १२ पुरुष र १० जना महिला खेलाडीले भाग लिएका निर्णायक संयोजक रतिया राजवंशीले बताउनुभयो ।
त्यस्तै, भद्रपुरस्थित मेची रङ्गशालामा सोमबारबाट सुरु भई फागुन १८ गते समापन हुने पुरुष फुटबलको प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १६ जना खेलाडी सहभागी भएका निर्णायक संयोजक युगलकिशोर राईले जानकारी दिनुभयो ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा पुरुष फुटबल तथा पुरुष र महिला कबड्डीको प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो ।
आयोजक समितिका अध्यक्ष रविन नगरकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रमको सञ्चालन समिति झापाका कार्यालय प्रमुख टहलदास मैनाली र कराते प्रशिक्षक दुर्गाराज निरौलाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit