टंक खनाल
साहित्यकारहरुले इलामको बारेमा धेरै व्याख्या गरेका छन् । साहित्यकार भूपी शेरचनले आफ्ना कविताहरुमा इलामको बर्णण गर्दै ‘नेपालका सबै क्षेत्रमा अलि अलि भए पनि इलाम छर्न पाए हुन्थ्यो’ भनेका छन् । कसैले इलामलाई पूर्वको हीरा भनेका छन् भने कसैले प्रकृतिको अनुपम उपहार । हुन पनि इलामको वातावरणीय अवस्थितिलाई देखेर नलोभिने मानिस कमै हुन्छन् । यही प्रकृतिको उपहारलाई ग्रहण गर्दै इलामले आफूलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै गइरहेको छ ।
हरियो चिया बगानको पर्यायका रुपमा चिनिने इलाम सात अ (अलैंची, अदुवा, अम्मिसो, अकबरे, आलु, ओलन र अग्यानिक चिया)ले दोस्रो इलामको परिचय दिने गरेको छ । यही सात ‘अ’लाई व्यवस्थित गर्दै इलाममा एग्रो टुरिजमको विकास भइरहेको छ ।
के हेर्न जाने इलाम

इलाम नेपालको पहिलो चिया बगान भएको ठाउँ हो । इलाम सदरमुकाममा तत्कालिन बडा हाकिम गजराजसिंह थापाले रोपेको चिया बगान छ । थापाले विसं १९२० मा चियाँ रोपेका थिए । तत्कालिन अवस्थानमा एक सय १८ एकडमा रोपिएको चिया बगान अहिले ग्रामिण भेगसम्म फैलिएको छ । सोही क्षेत्रमा विसं १९३५ मा चिया प्रशोधन कारखाना खोलिएको थियो । यो कारखाना अहिले भने प्रयोग बिहीन भएको छ ।
चियाबगानसँगै पहिलो घामको झुल्को हेर्न श्रीअन्तु, रामसार संरक्षित क्षेत्रमा सूचीकृत नौ कुने माइपोखरी, मनोरम दृश्य देखिने इलामको अग्लो डाँडा सन्दकपुर, छिन्टापु, सिद्धिथुम्का गुफा, चारखोला (मार्इ, जोगमार्इ, पुवामाई, देउमार्इ र महमाई),टोड्के झरना आदीको मनेरम दृश्य अवलोकनमा लागि इलाम एक गन्तव्य स्थल हुन सक्छ ।
इलाममा बसोबास गर्ने राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी समुदायका व्यक्तिहरुले पाहुनालाई देवताको रुपमा स्वागत गर्छन् ।
पछिल्लो समय इलाम घुम्न आउने पर्यटकलाई नै लक्षित गर्दै अहिले होटल खुल्नेक्रम बढेको छ । सुबिधासम्पन्न होटल स्थापनाका कारण बाहिरबाट आउनेहरुले अहिले इलाममा कुनै समस्या पर्दैन् । त्यस्तै ग्रामिण क्षेत्रमा पनि होम स्टेको व्यवस्था गरिएको छ ।
कसरी जाने इलाम
काठमाडौंबाट इलाम सदरमुकाम पुग्न डिलक्स नाइट बसका लागि दिवा सेवाका सुमो र हाइसको सेवा उपलब्ध छ । दिवा सेवाका लागि काठमाडौं कोटेश्वरबाट बिहान पाँच बजे सुमो तथा हाइस छुट्ने गरेका छन् । बाटोमा कुनै अवरोध नभए दिवा सेवाका सवारीले साँझ साढे पाँच बजेसम्ममा इलाममा पुर्याउने गरेका छन् ।
त्यस्तै रात्रि सेवाका डिलक्स बसहरु पनि छुट्छन् । डिलक्स बसहरु प्रत्येक दिन एक बजे कोटेश्वरबाट छुट्ने गरेका छन् । दिउँसो एक बजे हिँडेका रात्रिबसले भोलिपल्ट बिहान साढे आठ बजेदेखि १० बजेभित्रमा इलाम सदरमुकाम भित्र्याउने गरेका छन् ।
झापाको विर्तामोडस्थित बसपार्कबाट बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म नै गाडि लाग्ने गरेका छन् । बिर्तामोडबाट साढे दुर्इदेखि तीन घण्टाको यात्राबाट इलाम पुग्न सकिन्छ ।
इलाम पुगेपछि आफूले खोजेको पर्यटकीय गन्तव्य पुग्नका लागि रुटका सवारी तथा रिर्जभमा सञ्चालन हुने लेन्डरोभर जीप सञ्चालनमा रहेका छन् ।
इलामलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अहिले हरियाली इलाम अभियान जारी छ । इलाममा प्रत्येक घरमा फूलबारी र एउटा रुख रोप्नुपर्ने नियम छ भने प्रत्येक घरमा हरियो रोगन गरिएको छ ।
साहित्यकारहरुले के भनेका छन् इलामलाई ?
इलामै स्थायी बसोबास भएका, इलाम घुम्न जाने पाहुना तथा साहित्यकारहरुले इलामको वर्णन गरेर इलामको महिमा गाएका छन् ।
इलाम गएका केही पाहुना तथा साहित्यकारहरुले इलामका बारेमा लेखेका कुरा यस्ता छन्ः
इलाम गएका केही पाहुना तथा साहित्यकारहरुले इलामका बारेमा लेखेका कुरा यस्ता छन्ः
- ‘इलाम रमाइलो र स्वस्थकर ठाउँ हो’-राणाप्रधान मन्त्री चन्द्र शमसेर ।
- ‘पूर्वको यात्रामा सुनौलो खण्ड इलाम यात्रा हो’- योगी नरहरिनाथ ।
- ‘हरियो भरियो इलामलाई देख्ता मलाई नेपाल भरि अलिअलि इलाम छर्न मन लाग्यो’-कवि भुपि शेरचन ।
- ‘प्राकृतिक सौन्दर्य र साधनमा इलाम दार्जिलिङ भन्दा के कम छ र ?’-बडाहाकिम सन्तबीर लामा ।
- ‘पृथ्वीको स्वर्ग जस्तै छ इलाम’-पत्रकार तोया गौतम ।
- ‘इलाम नकुँदिएको हिरा जस्तो छ’-सह प्राध्यापक युद्धप्रसाद बैद्य ।
- ‘इलामको भ्रमण सरल र सरस छ’-लेखक रनबहादुर कार्की ।
इलाम पुग्दा नछुटाइ हेर्नुपर्ने दृश्य
- इलामको वास्तुकला झल्कने बजार क्षेत्रका गोबिन्दे निकालिएका घर ।
- इलाम बजार नजिकैको अरनिको सांस्कृतिक संग्रहालय ।
- इलाम बजार परिसरको प्यागोडा शैलीको माइस्थान मन्दिर र भीमसेनस्थान मन्दिर ।
- इलाम बजारबाट १० मिनेट पैदल हिडेर पुगिने इलाम भ्युटावर ।
- इलाम बजारबाट १५ मिनेटको पैदल दूरीमा अवस्थित सिंहबाहिनी मन्दिर ।
- इलाम बजारबाट १५ मिनेटको पैदल दूरीमा रहेको शहीद रत्नकुमार वान्तवाको समाधिस्थल ।
- इलाम बजारबाट १० मिनेटको पैदल दूरीमा रहेको नारायणस्थान मन्दिर ।
- इलाम बजार परिसरबाटै सुरु हुने नेपालको सबैभन्दा पुरानो चियाबगान ।
- इलाम बजारबाट २० मिनेटको पैदल दूरीमा रहेको थर्बोलिङ बौद्ध गुम्बा ।
- इलाम बजारबाट पौने घण्टा हिँडेर पुगिने सेती देवी मन्दिर, प्राकृतिक गुफा र झरना ।
- इलाम बजारबाट पौने घण्टा हिँडेर पुगिने भालुढुंगा प्राकृतिक गुफा, सामुदायिक बनबाटिका/पुवाखोलाको नागबेली दृश्य ।
- इलाम बजारबाट चार घण्टा हिड्दा पुगिने सिद्धिथुम्का (सूर्यास्तको सुनौलो दृश्यावलोकन र हिमशिखरहरुको दृश्यावलोकन) ।
- इलाम बजारबाट तीन घण्टा हिड्दा पुगिने माइपोखरी (धार्मिक तिर्थस्थल, नौकुने प्राकृतिक पोखरी, चाँप र गुराँसको जंगल, दुलर्भ मानिने जीव पानीगोहोरो पाइने ठाउ, प्रत्येक बर्ष कार्तिक ठूलो एकादशीमा मेला लाग्ने स्थल) ।
- इलाम बजारबाट तीन घण्टा हिड्दा पुगिने साततले झरना (सोयाङ्गमा पर्ने ८० फिटको झरना र वरिपरि बिभिन्न प्रजातिको बनजंगल) ।
- इलाम सदरमुकामबाट केही टाढा रहेका तर आकर्षक गन्तव्य:

सन्दकपुर
इलाम सदरमुकामबाट पूर्वोत्तर क्षेत्रमा समुन्द्रसतहदेखि तीन हजार छ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।
सन्दकपुरबाट कन्चनजंघादेखि सगरमाथासम्मको हिमश्रृङखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै चराचुरुङ्गी डाँफे, मुनाल, चिलिमे, कालिज, लामपुच्छेलाई हेर्न सकिन्छ ।
सन्दकपुर क्षेत्रबाट कस्तुरी, थार, पाण्डा, बदेल, ब्वासो, बाघलगायतका जंगली जनावर हेर्न सकिन्छ । त्यस्तै यो क्षेत्रमा लालीगुराँस, रानीचाँप, सुनपाती, भैरुपातीलगायतका बनस्पती छन् ।
छिन्टापु
सन्दकपुरकै उचाईमा रहेका छिन्तापुबाट पनि सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ । छिन्तापु समुन्द्रसतहबाट तीन हजार तीन सय ५३ मिटरको उचाईमा छ ।
छिन्तापुबाट पनि सन्दकपुरबाट झै हिमश्रृङखला र चराचुरुङ्गी, जीवजन्तु तथा वनस्पती देख्न सकिन्छ ।
अन्तुडाँडा
अन्तुडाँडा पनि सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ । समुन्द्रसतहबाट एक हजार आठ सय २८ मिटरको उचाईमा रहेको अन्तुडाँडा जाँदा भिङगुमा, नेहुला, हङराथो, कोइली, हुकुस, कोकले, कालिजलगायतका चराचुरुङ्गी । हरिण, घोरललगायतका जनावर तथा चितुमार्गे, मखमली, गुलाफ, चमेली, अरकिडलगायतका बनस्पति देख्न सकिन्छ ।
गजुरमुखी
धार्मिक पहिचान बोकेको गजुरमुखीमा धार्मिक पर्यटकहरु पुग्ने गरेका छन् । देउमाई किनारमा अवस्थित गजुरमुखिमा कार्तिक पूर्णिमाका दिन मेला लाग्ने गर्छ ।
माङ्गमालुङ्ग
माङ्गमालुङ्ग पनि इलामको एक धार्मिक पर्यटकीयस्थल हो । इभाङ्गको थाप्लोमा अवस्थित माङ्गमालुङ्गमा मातृका किरातेश्वरको गुफा छ । यस क्षेत्रलाई किरात धर्मको जन्मस्थल पनि भनिन्छ ।
पाथिभरा
कुटीडाडा र हाँसपोखरीको थुम्कोमा अवस्थित रहेको पाथिभरा धार्मिक स्थल हो । एक हजार सात सय ६३ मिटर उचाईमा रहेको पाथिभराबाट कंचनजंघा, महाभारत पर्वत श्रृंखला र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।
इलामका परिचय बोकेका कोशेली
- अर्ग्यानिक चिया
- अलैंची
- घिउ
- बम्बैसन
- ललिपप
- छुर्पी
- चिज
- बाँसका सजावटका सामान
- इलाम झल्कने फोटो तथा पोष्टकार्ड
प्लास्टिकका झोला निषेधित क्षेत्र
इलामलाई प्लास्टिकका झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । अहिले पनि इलाम नगरपालिकाले यसको नियमित अनुगमन गरिरहेको छ । यो नियम थाहा नपाएको व्यक्तिले प्लास्टिकको झोला बोकेको पाइएमा जानकारी गराएर छोडिने गरिएको छ भने थाहाँ पाएको व्यक्तिले झोला बोकेमा दुई सय रुपैयाँ जरिवाना र प्लास्टिकको झोला बेच्नेलाई पाँच सय रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

















