२०८३ असार १० बुधबार
Search
Close this search box.

काँचो मःम बेचेर मासिक ३० हजार बचत


झापा, बाइकको पछाडि केटी राखेर घुम्ने बेलामा के को मःमः बोकेर हिँड्छस् यार ! भन्दै साथीले जिस्क्याएको भद्रपुर–६का सन्देश रिजालको सम्झना ताजै छ ।

कनकाई क्याम्पस बिर्तामोडमा बीए पढ्दापढ्दै मःम फर्म खोलेर व्यवसाय शुरु गर्नुभएका रिजाललाई दुई वर्ष अघि नजिस्क्याउने साथी नै थिएनन् । फर्ममा उत्पादन गरेको मःम मोटरसाइकलको पछाडि राखेर बिक्रीका लागि बजार जाँदा उहाँलाई केटाले मात्र जिस्क्याएनन् केटी साथीले समेत जिस्क्याउन भ्याए ।

पढाईसँगै व्यवसाय शुरु गर्नुभएका सन्देश अहिले पनि कनकाई क्याम्पसमा अध्ययनरत् हुनुहुन्छ । उहाँ मास्टर पहिलो सेमीस्टर मेनेजमेन्टका बिद्यार्थी हुनुहुन्छ ।

पढ्दापढ्दै कोरिया जान दुईपटकसम्म इपीएस परीक्षा दिनुभएका उहाँ दुबैपटक अनुत्तीर्ण हुनुभयो । दुईपटक नै एक नम्वर नपुगेर इपीएस पास गर्न नसक्नुभएका रिजालका लागि त्यो परीक्षा नै सफलताको सूत्रधार बन्यो ।

दुईपटकको असफलता पछि उनले बिर्तामोडमा मःमः फर्म खोले । जसले उनलाई अहिले स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगार बन्न मद्दत पु¥याएको छ ।

उहाँको मःम फर्म अहिले बिर्तामोडको मात्र होइन, झापाकै लोकप्रिय फर्मको रुपमा चिनिएको छ । बिर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उहाँले उरी मःम फर्म खोल्नुभएको छ । कोरियन भाषामा फर्मको नाम उरी जुराउनुभयो – उहाँले । ‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि उहाँले कोरियन भाषामै मःम फर्मको नाम राख्नुभयो । जुन फर्मबाट उहाँको अहिलेको कमाई कोरियाको भन्दा कम छैन । २०७२ साल साउन १५ गते फर्म दर्ता गरेर कारोबार शुरु गर्नुभएका उहाँले अहिले १२ जनालाई रोजगार समेत दिनुभएको छ भने उहाँको फर्ममा दैनिक ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ ।

उहाँले बिर्तामोडसहित झापाका विभिन्न बजारमा काँचो मःम बनाएर बिक्री गर्नुहुन्छ । फाष्टफुडका लागि लोकप्रिय बनेको मःम अहिले उहाँको आम्दानीको मुख्य स्रोत हो । १२ जनालाई रोजगारी दिएर पनि उहाँले मासिक ३० हजार भन्दामाथि बचत गर्न सफल हुनुभएको छ । मास्टर पढ्दापढ्दै उहाँले व्यवसाय सञ्चालन गरेर मनग्ये आम्दानी गरेको देखेपछि हिजो उहाँलाई गिज्याउने साथी नै आफूलाई पनि यो व्यवसाय सिकाउन आग्रह गर्दै आउने गरेको उहाँको भनाइ छ ।

‘कतिपय अवस्थामा त साथीहरुको गर्जो नै टार्ने गरेको छु । कति साथीले फर्म भर्न पैसा नहुँदा समेत म सँगै मागेर लान्छन् ।’ हिजो मलाई गिज्याउनेहरु आज मलाई नै काम सिकाइदेऊ भन्दै आउँछन्’– उहाँले भन्नुभयो । फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ । होटल तथा खाजाघरमा बिक्री हुने सबैजसो मःम उहाँकै फर्मबाट जाने गरेको छ । उहाँले आफ्नो फर्ममा उत्पादन गरेको काँचो मःम बढी मात्रामा पर्यटकीय स्थलमा जाने गरेको छ । यसका अलावा बिर्तामोडका विभिन्न स्कूलले काँचो मःम लाने गरेको उहाँको भनाइ छ । ‘कोरिया जान नपाएको रनाहामा काठमाडौं घुम्दै गर्दा काँचो मःम बिक्री गरेको देखेको थिएँ । त्यसैलाई नक्कल गर्दै झापामा यो व्यवसाय शुरु गरेको हुँ । अहिले सोच्दै नसोचेको प्रगति गरेँ’ – उहाँले भन्नुभयो – ‘आफू त स्वरोजगार बनेँ नै अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ ।’

रिजालले सञ्चालन गरेको उरी मःम फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःम सुरुङ्गाका सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालबारी लगायतका पर्यटकीय स्थलमा जाने गरेको छ भने सुरुङ्गाको प्यारागन स्कूल, बिर्तामोडको बुद्ध स्मृतिसहित नाम चलेका स्कूल तथा कलेजमा समेत आउने गरेको छ ।

बिर्तामोडका अधिकांश होटलले उहाँले तयार पारेका काँचो मःम ल्याउने गरेका छन् । उहाँको फर्ममा अहिले दैनिक कम्तीमा एक हजार प्लेट काँचो मःम तयार हुने गरेको छ । प्रति प्लेट उनले २८ रुपैयाँमा मःम बिक्री गर्नुहुन्छ । बिर्तामोड क्षेत्रभित्र उहाँले निःशुल्क होम डेलिभरी गर्ने गर्नुभएको छ भने बिर्तामोडभन्दा बाहिर प्रतिप्लेट दुई रुपैयाँ सर्भिस चार्ज जोड्नुहुन्छ ।

पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा, उत्तरमा शनिश्चरेका अधिकांश होटलले उहाँको फर्ममा तयार पारेको मःम लाने गरेका छन् ।

दैनिक ५० देखि ७५ केजीसम्म पिठोबाट उहाँको फर्ममा मःमः तयार हुन्छ । तीन लाख रुपैयाँबाट यो व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले मनग्ये आम्दानी गरेको देखेपछि यो व्यवसायमा उहाँकै साथीको समेत झुकाव बढेको भनाइ छ । व्यवसाय फष्टाउँदै गएपछि उहाँले पिठो मुछ्ने मेसिनदेखि किमा तयार पार्ने मेसिन समेत राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit