शान्तिनगर, राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत औषधि खुवाउने कार्यक्रमको तयारी पूरा भएको छ ।
यही फागुन १५ गतेदेखि सातौँ चरणको हात्तीपाइले रोगबिरुद्धको औषधि र जुकाको औषधि एकसाथ खुवाइँदैछ । बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी, स्वयम्सेविका र सातवटै वडामा स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेसँगै बुद्धशान्ति गाउँपालिकामा तयारी पूरा भएको बुद्धशान्ति स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताउनुभयो ।
सातौँ चरणको यो अभियानमा बुद्धशान्तिका जम्मा जनसंख्या ४५ हजार सात सय ८२मध्ये ३८ हजार आठ सय ५८ जनालाई हात्तीपाइले विरुद्धको औषधि र जुकाको औषधि खुवाईनेछ । दुई बर्षमुनीका एक हजार नौ सय आठ, सत्तरी बर्षमाथिका तीन हजार सात सय आठ र गर्भवती एक हजार दुई सय ३६ गरी जम्मा ६ हजार हजार आठ सय ५२ जना उक्त औषधि खानबाट बञ्चित भएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन गाउँपालिकाको २५ स्थानमा केन्द्र तोकेको छ भने २५ जना स्वास्थ्य स्वयम्सेविका खटाउने जनाएको छ । गाउँपालिकाको पछिल्लो तीन बर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०÷०७१ मा ७० प्रतिशत, ०७१÷०७२मा ७७ प्रतिशत र ०७३÷०७४ मा ८६ प्रतिशतले हात्तीपाइले र जुकाको औषधि खाएका छन् । यसवर्ष अघिल्लो तथ्याङ्कभन्दा बढीले औषधि खाने स्वास्थ्य शाखाको विश्वास छ ।
फागुन १५ गते पहिलो दिन केन्द्रमा खुवाउने, १६ गते छुटेका, १७ गते घरदैलो कार्यक्रम गरी खुवाउने, बाँकी रहेकाले प्रत्येक वडामा रहेको स्वाथ्य इकाईमा गएर खान सकिने स्वास्थ्य शाखाका प्रमुख भोलानाथ अधिकारीले बताउनुभयो । उहाँले हात्तीपाइले रोगबिरुद्धको औषधि खाई भविष्यमा हुने सम्भावित जोखिमबाट टाणा रहन अनुरोध गरे । उनले औषधि सेवनपछि हुने शारीरिक असर र कुनै समस्या आए तुरुन्त स्वास्थ्य इकाई तथा स्वास्थ्य शाखाको सम्पर्कमा आउन सल्लाह दिनुभयो । बुद्धशान्तिमा तीन जना हात्तीपाइलेका बिरामी भेटिएका छन् ।
गतबर्ष अर्जुनधारा र दमक नगरपालिकामा हात्तीपाइले रोग सर्वेक्षणमा केही बिरामी भेटिएकाले बुद्धशान्ति पनि हात्तीपाइले रोगको सम्भावित क्षेत्र रहेको छ । फाइलेरिया नामक परजिवी क्यूलेक्स पोथि लामखुट्टेले टोकेर सर्ने भएकाले अहिले सरेको किटाणुले २० बर्ष पछि असर देखाउने हुँदा समयमै सचेत रहन आग्रह गरे । यो रोग लागे निको नहुने तर समयमै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरे शतप्रतिशत यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् ।
देशका उच्च पहाडी १५ जिल्लामा हात्तीपाइले रोगका विरामी छैनन् भने ३७ वटा जिल्लामा रोग निवारण भएको र २४ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । सन् २०२०सम्म सरकारले देशवाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ । प्रति १० हजार मानिसमध्ये एक जनामा हात्तीपाइले रोग भेटिने गरेको भन्दै अनिवार्य औषधि सेवन गर्नुपर्ने बताइएको छ ।

















