सुरुङ्गा ,झापाका पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

कनकाई नगरपालिकामा रहेको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र सहित जिल्लाका पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगरपालिकामा रहेको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, कचनकवल गाउँपालिकामा रहेको वनियानी प्राथमिक स्वास्थ्य केन्द्र र गौरीगञ्ज गाउँपालिकामा रहेको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा झापाका पाँच प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपाल सरकार र स्थानीय तहको संयुक्त लागानीमा अस्पतालको स्तरोन्नति गरिने बताइएको छ ।
यो संगै देशभरका दुई सय १३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटाले बताउनुभयो ।
डा देवकोटाका अनुसार १५ शैयाको २ सय १३ अस्पताल निर्माण सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न ७५ करोड बजेट विनियोजन समेत भएको छ ।
देशभरमा अहिलेसम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको डा देवकोटाले बताउनुभयो ।























