२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

झापा । कोशी प्रदेशमा पछिल्लो एक महिनामा १३६ वटा आगलागीका घटना घटेका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १४३ वटा आगलागीका घटना घटेका छन् भने कोशी प्रदेशमा मात्रै १३६ वटा आगलागीका घटना घटेका हुन् ।

नेपाल प्रहरीको पछिल्लो एक महिनाको तथ्याङ्क हेर्ने हो भने देशभरि आगलागीका घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् । आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको उनले बताए । नागरिक सचेत भए घेरै घटना रोक्न सकिने उनले बताए ।

प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपाय समेत मरेका छन् । ती आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आगलागीबाट ११० परिवार विस्थापित भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लुम्विनीपछि कोशी र तेस्रोमा मधेश प्रदेशमा आगलागीका धेरै घटना घटेका हुन् । यो प्रदेशमा पछिल्लो एक महिनामा १०४ वटा आगलागीका घटना भएको प्रवक्ता थापाले बताए ।