
जीवनमा भेटिएका कतिपय मानिसहरुमध्ये केहीको सम्झना पछिसम्म मनमा रहिरन्छ । उसका आनिबानी, बोलिचाली या बिशेषताको याद आउँछ । सन् १९८४÷८५ तिर यस पंक्तीकार काठमाडौमा एक सरकारी निकायमा जागिर सुरु गर्दै थियो । त्यस निकायको कार्यक्रमलाई सघाउन संयुक्त राष्ट्रसंघीय एक सानो परियोजना संचालित थियो र सो को कार्यालय पनि पंक्तीकारले जागिर गर्ने कार्यालय परिसरमै थियो । जसका प्रमुख एक जर्मन नागरिक थिए ।
ति जर्मन आप्mनो कार्यालयमा सबेरै र बेलुकी मात्र होइन अबेर रातीसम्म पनि काम गर्थे । अपवाद नै भनौ, तिनी टाईप गर्न चाहीँ जान्दैनथे । तिनका स्टाफहरु कार्यालय समयसम्ममात्र काम गर्दथे । त्यसले गर्दा ति जर्मनलाई परियोजनाका कार्यक्रम, बजेट, प्रस्ताव, रिपोर्ट र चिठीपत्रहरु समयमा तयार पार्न निकै असजिलो भैरहेको थियो । तिनले मेरो टाइपिङ्ग कला देखेकाले म तिनका लागि काम लाग्दो ठानिएँ हुँला । तिनले मलाई कार्यालय समय बाहेकको समयमा काम गराउने बारे हाम्रो कार्यालय प्रमुखलाई भनेछन् । हाम्रो कार्यालय प्रमुखले मलाई बोलाएर ति जर्मनलाई बिहान बेलुका र बिदाको दिन सघाउन सक्छौ भने सघाऊ, तिमीलाई पढ्नओर्न थोरै सहयोग गर्लान् भनेर सल्लाह दिए । आखिर म करिअरका लागि घर छाडेको मान्छे । मौका आउँदा किन नाइ भन्थेँ र ।
ति जर्मनी मलाई अचम्मका मानिस लाग्दथे । काममा यति तल्लिन हुन्थे कि पश्चिमा र नेपालीबीच फरक यही होला भन्ने सोच्दथेँ । पश्चिमाहरुको विकास यस्तै विशेषताले गर्दा भएको होला भन्ने सोच्दथेँ । तिनी कामको प्रसंसा गर्न र धन्यवाद ज्ञापन गर्न सिपालु थिए । उनको जर्मनी जिब्रोले थ्यांक्यू को सट्टा स्यांक्यू भन्थ्यो । स्यांक्स अ लट, स्यांक्यू, स्यांक्यू भन्न भुल्दैन थे । नेपाली समकक्षी या नेपाली कर्मचारीहरुलाई देख्नासाथ मुसुक्क हाँसेर दुईहात जोडेर नमस्ते भनिहाल्थे । तिनी नेपाली हाकिमहरु, मन्त्रीहरुको आनिबानी बुझेको दाबी गर्दथे र भन्थे, ‘नेपालीहरुलाई भत्ता (पैसा), उपहार अनि विदेशी रक्सी चाहिन्छ ।’ तिनले मलाई निकैपटक तिनको कोटको भित्री खल्तीमा लुकाएको आयातित किमती रक्सीका सुन्दर बोतल देखाएका थिए । नेपाली हाकिम, निर्देशक, सचिव, मन्त्रीहरुबाट कसरी काम लिन सकिन्छ भन्ने आशय उनको थियो । तिनी नेपालीहरुले जस्तो सानो मान्छे, ठूलो मान्छे भनेर भेदभाव गर्दैनथे । म जस्तो सामान्य स्टाफलाई पनि धेरै कुरा शेयर गर्दछे । भेट्दा तिनैले पहिले नमस्कार गर्न भ्याइसक्थे ।
तिनको कार्यालयको विशेषता के थियो भने, तिनीहरु हप्ताभरिको कामको समीक्षा गर्न बसिहाल्थे । एउटा हलमा स्टाफहरुलाई हप्ताभरीको कामबारे प्रेजेन्टेशन गर्न लगाउँथे । प्रगति, कमजोरी र अब उप्रान्त के सहयोग र रणनीति आवश्यक पर्छ पत्ता लगाइहाल्थे । पश्चिमा र नेपालीहरुको काम गर्ने शैलीमा यही फरक भएको होला भन्ने सोच्दथेँ ।
तिनलाई मैले चारवर्ष जति मात्र सघाउन पाएँ । प्रायशः राती अबेरसम्म काम सघाउँथे । तिनले मलाई आपैm गाडिमा डेरामा छाड्थे उज्यालो हुनासाथ अफिस आइहाल भन्थे । बिदाका दिनमा पनि काम सघाएँ । त्यो बापत तिनले मलाई काठमाडौमा भर्खरै भित्रिँदै गरेका कम्प्यूटरका एक तालिम केन्द्रमा भर्ना गरेर फी तिरिदिए । कैयन पटक दरवारमार्गमा लगेर आईसक्रिम चटाए । तारे होटलमा लगेर सपेटा दार्न लगाए । कलेजको फी तिर्न भनेर पनि बेलाबेला पैसा दिन्थे । सायद तिनले मलाई धेरै माया गर्थे । स्वभाविकै हो नेपालीहरुले विदेश जाने आशा राख्नु । तिनले मलाई जर्मनी लाने कुरा नगरेका पनि होइनन् । स्वदेशमै रमाउने खालको परेँ म । त्यसैले तिनको जिज्ञासाको उत्तर हाँसेर टारिदिन्थेँ । परियोजना सकिएपछि तिनी जानेबेलामा तिनले हात्तीको नक्सा भएका केही नेपाली नोट मेरो हातमा थमाएका थिए । तिनले मलाई भनेका थिए, ‘तिमीले, दाल भात खान पुग्ने सीप जानेका छौ, अल द बेस्ट, स्यांक्स अ लट फर योर कोअपरेशन, सि यू ।’
तिनीबाट मैले केही सीप र जीवन दर्शन पाएँ भन्ने लाग्थ्यो । अरुलाई जस्तै मलाई पनि लाग्थ्यो कि पश्चिमासँग काम गर्न पाउनु अवसर हो । त्यै विश्वासको प्रतिफलले होला मैले चौधवर्षसम्म नेपालमै एक आई.एन.जि.ओ.मा काम गर्ने अवसर पाएँ । चौध वर्षसम्म काम गरेको संस्थाका विदेशीहरुको भन्दा मलाई ति जर्मन नागरिककै धेरै याद आउँछ । खासमा तिनको कामप्रतिको लगाव र मेहनत । सायद तिनमा विश्वयुद्धको बिभिषिकाको असर मनोवैज्ञानिक रुपमा गहिरोगरी परेको थियो । विश्वयुद्धका कारण गुमेको समय, साख र सायद धन तिव्ररुपमा आर्जन गर्नु तिनीहरुको लक्ष्य थिए होलान् । जर्मनहरु भनेका कस्ता हुन् भनेर चिनाउन पनि होकी ? आजको जर्मनीको विकास ति जर्मन जस्तैका कामप्रतिको लगाव र महेनतको फल हो भन्न सकिन्छ ।
मलाई त्यसरी माया गर्ने र मलाई अचम्म लाग्ने ति जर्मनको सम्झना बेलाबेला आइरहने हुनाले तिनको देशकै बारेमा केही जान्ने इच्छा जाग्यो । तिनको देशको चलन परम्पराहरु पनि रोचक नै होलान् भन्ने मलाई लाग्यो र रहेछन् पनि त्यस्तै रोचक ।
जर्मनहरुको विवाह ः प्रायशः जर्मनीहरु तीसवर्ष लाग्ने उमेरमा या तीस कटेपछि विवाह गर्दछन् । संयुक्त परिवार रहने चलन भएपनि विहेपश्चात दम्पत्तीहरु छुट्टै बस्न रुचाउँछन् । आर्थिक आम्दानी अर्थात कामको ग्यारेन्टी भएपछि मात्र विहे गर्ने चलन छ । एक या दुईमात्र सन्तान जन्माउने चलन छ । जर्मनमा केहीहदसम्म यौन स्वतन्त्रता छ र लिभिङ्ग टुगेदरलाई अन्यथा ठान्दैनन् । यी सबै आवश्यकता हुन् भन्ने ठान्दछन् । ‘कसैले झोलुङ्गोमा बच्चा बोकेर मोज गर्ने उमेर बर्बाद गर्दैन’ भन्ने उनीहरुको भनाई पाइन्छ ।
खानेकुरा ः जर्मनहरु चामलको परिकार निकै नै कम खान्छन् । जाडो ठाउँ भएकाले पुर्खाहरुले गहुँको परिकार खाने चलन गरेका विश्वास उनीहरुमा रहेको पाइन्छ । उनीहरुको पराम्परागत परिकार मासु र आलुको हो । नुडल्स जस्तै अनेक प्रकारका क्नुडल्स पनि खान्छन् जाडो मौसममा । गहुँको क्नुडल्स नेपालीले खाने आलुम जस्तै हो । क्नुडल्सलाई ग्रामीण जर्मनीहरु दुःखको खाना पनि भन्दछन् । विश्व युद्धले पीडित उनीहरु कथा नै हाल्छन् । बारी खन्दा बमका टुक्राहरुमात्र भेटिन्थे । टाठाबाठाहरुले तिनै बमका टुक्रा (किमती धातुको व्यापार, संघ्रालयमा राख्न) बेचेर धनी भए । सोझाहरु भने बम बारुदले बिग्रिएको खेतमा ज्यादै दुःख गरेर गहुँ फलाएर त्यही दुःखको क्नुडल्स खाएर बाँच्यौँ भन्छन् । जर्मनहरु अल्कोहल जन्य पदार्थ निकै खान्छन् पिउँछन् । उनीहरु प्रायशः बियर पिउँछन् । त्यहाँ प्रसस्तै बियर प्mयाक्ट्री र बारहरु पाइन्छन् ।
भेटघाटमा सम्वोधन ः जर्मनहरु एकापसमा भेटघाट हुँदा ज्यादै अनौपचारिक हुन्छन् तर औपचारिक अवसरमा नाम, थर र टाईटल (पेशागत पद, उपाधी)ले सम्वोधन गर्र्ने गर्दछन् । एकदमै हार्दिकताका साथ एकापसको हालखबर सोध्ने, प्रशंसा गर्ने र धन्यवाद दिने गर्दछन् । कुनै कार्यमा अरुलाई निम्तो गर्दा हामीकहाँ जस्तो आउनुहोस् है भनेर आदेशात्मक भाषा प्रयोग गर्दैनन् । मसँग कफी पिउने तपाईसँग सयम छ कि ? समय छ भने फलना समयमा फलना ठाउँमा भेटेर सँगै कफी पिउन सकिएला ? भनेर निम्तो गर्ने चलन छ । अन्य कामका सम्बन्धमा पनि यस्तै भाषा प्रयुक्त गर्ने गरिन्छ ।
डुलघुम ः जर्मनहरु एकापसमा सल्लाह गरेर डुल्नघुम्न जान मनपराउँछन् । उनीहरु हिउँमा खेल्न, पैदलै हिँड्न, दौडन, साइकल यात्रा गर्न, पौडी खेल्न, टेनिस खेल्न निस्कने गर्दछन् । जर्मनहरु पर्यावरणप्रति निकै सचेत पाइन्छन् । शहरकाहरु गाउँमा ससाना जमिन किनेर त्यहाँ गएर बस्न मन पराउँछन्, रमाउँछन् ।
खेलकुद ः जर्मनहरु विशेष गरेर सकर (फुटबल) खेल खेल्न मन पराउँछन् । जर्मनहरु फुटबललाई ‘फुसबल’ उच्चारण गर्दछन् । ब्राजिल जस्तो फुटलब खेलको हस्ती टिमलाई विश्वकपमा सातगोलसम्म ठोक्ने खेलकौशल जर्मनीहरुमा छ । यो बाहेक उनीहरु दौड लगाउन पनि मन पराउँछन् । दौड त पर्वकै रुपमा आयोजना गर्ने गर्दछन् । दश किलोमिटर दुरीको दौड त उनीहरुका लागि सामान्य लाग्दछन् । टेनिस खेल पनि उनीहरुको प्रिय खेल हो । खेलकुल जर्मनहरुका लागि अति प्यारो क्षेत्र हो । सत्ताईस मिलियन जनता त खेलकुद क्लबहरुका सदस्य नै छन् । उनीहरु स्वस्थ रहनुको रहस्य यो पनि हो ।
कला तथा संगीत ः ग्रीष्म ऋतुमा जर्मनभरी नै कला र संगीतका पर्वहरु मनाइन्छ । ससाना नगरहरुमा पनि आप्mनै नाट्यशाला र संगीत समूह हुन्छन् र तिनलाई सरकारले राम्रो सहयोग गर्दछ । नयाँ वर्षमा कार्निभल आयोजना गरिन्छ । चित्रकला, वास्तुकलामा पनि जर्मनहरु निपुण र धनी छन् ।
विज्ञान ः विज्ञान र आविष्कारको क्षेत्रमा जर्मनी विश्वमै अग्रणी देश हो । अल्बर्ट आईन्स्टाइन जस्ता वैज्ञानिक जर्मन नै हुन् । विज्ञान र प्रविधिको क्षेत्रमा जर्मनी विश्व नेता हो । जर्मनीमा विश्वकै उत्कृष्ट प्रतिभाहरु रहेका छन् । त्यहाँका १ सय ८ जनाले त नोवेल पुरस्कार नै पाइसकेका छन् ।
कमन विशेषताहरु ः जर्मनीमा भ्रष्टाचार हुदैन । भैहाले पनि एकदमै कम मात्र भ्रष्टाचार हुन्छ । त्यहाँ उच्च विशिष्ठ दक्ष जनशक्ति हुन्छन् । जर्मनीमा उत्कृष्ट किसिमको रचनात्मक तथा सिर्जनात्मक काम हुन्छन् । निर्यातको क्षेत्रमा विश्वकै चौथो देश हो जर्मनी । त्यसैले त्यहाँ प्रर्याप्त धन संचित छ । मोटर उत्पादन तथा सोको व्यापारमा विश्वमै तेस्रो मानिन्छ । जर्मन पर्यटकीय देश हो । अन्तर्राष्ट्रिय पर्यटकहरु अत्यधिकमात्रामा जर्मन आउने गर्दछन् । अन्य देशबाट विश्वविद्यालय तह अध्ययन गर्न आउनेहरुको छनौटमा जर्मन तेस्रो स्थान पर्दछ । जर्मनीहरुले आप्mनो देशमा निःशुल्क रुपमा शिक्षा हासिल गर्दछन् । संगीतको क्षेत्रमा युरोपभरीका लागि जर्मन दोस्रो ठूलो बजार हो र विश्वमा चौथो । जर्मन समाचारपत्रहरु युरोपकै वेस्टसेलरको स्थान ओगट्न सक्षम छन् । भिडियो गेम बनाउनेमा जर्मन विश्वकै ठूलो देश हो ।
रुढीवादी विशेषता ः जर्मनीको ख्रिस्तान समाजमा सिल्भेस्टर साँझ रात्रिभोजका साथ डिसेम्वर ३१ को मध्यरातमा आकाशमा आतसबाजी उडाएर धुमधामले पर्व मनाउँदछन् । सो सिल्भेस्टर साँझमा सुँगुरलाई छुनु परम्परावादी जर्मनहरु लच्छिन ठान्दछन् । कतिपय परम्परावादीका घरमा बदाम, चिनी र अण्डा मिसाएर बनाएको एक किसिमको खेलौना सुँगुर झुण्ड्याइएको हुन्छ । जर्मनहरु त्यसैलाई लच्छिनको रुपमा मध्यरातमा छुन्छन् । यस्ता थुप्रै रोचक तथा मौलिक विशेषताले भरिएको छ जर्मनी । जसको अध्ययनले ज्ञान र प्रेरणा मिल्दछ ।

















